रमेश पोखरेल, काठमाडौं
साहित्य सन्ध्याको नियमित मासिक ३५९ औँ शृङ्खला वैशाख ४ गते शनिवार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनी मार्गमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो । ‘विक्रम सम्वत्को प्रचलन र प्रयोग’ विषयक परिचर्चा जन गायक प्राज्ञ रामकृष्ण दुवालले गर्नु भएको उक्त विशेष समारोहको सञ्चालन सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले गर्नु भएको थियो । प्रमुख अतिथि जन गायक प्राज्ञ रामकृष्ण दुवाल भएको उक्त गोष्ठीमा अतिथिका रूपमा चिन्तक गोपिरमण उपाध्याय, प्राज्ञ सानु पहाडी, डा.षडानन्द पौडेल, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका उपाध्यक्ष डा.फणीन्द्र निरौला, वरिष्ठ कवि एवम् प्राज्ञ पूर्ण विराम, जन साहित्यिक मञ्च, नेपालका सल्लाहकार कणाद महर्षि, वरिष्ठ साहित्यकार रामप्रसाद प्रदीप, समालोचक हेमनाथ पौडेल, स्रष्टा समाजका अध्यक्ष अतृप्त पाण्डेय, वरिष्ठ कविद्वय उमेश उपाध्याय र मित्रलाल पंज्ञानी, प्रगतिशील लेखक सङ्घका वरिष्ठ सचिव पुण्य गौतम ‘विश्वास’ उपस्थित हुनु हुन्थ्यो ।
प्रमुख अतिथि जन गायक प्राज्ञ रामकृष्ण दुवालले ‘विक्रम सम्वत्को प्रचलन र प्रयोग’का सम्बन्धमा चर्चा गर्नु हुँदै विक्रम सम्वत्को प्राचीन रूप हर्षवद्र्धन सम्वत् रहेको, भारतको उज्जैनमा राजा भर्तृहरिले शासन गरेका र पछि उनका भाइ विक्रमादित्य राजा भएपछि आजभन्दा ८८४ वर्ष अगाडि विक्रम सम्वत्को प्रयोग भएको र सोही समयदेखि नेपालमा पनि विक्रम सम्वत्को प्रयोग हुन थालेको तर राणा प्रधान मन्त्री चन्द्र शमशेरले वि.सं.१९६१ वैशाख १ गतेदेखि आधिकारिक रूपमा विक्रम सम्वत्को प्रचलन गराएका भन्ने अभिलेख पाइन्छ । भक्तपुरको बिस्केट जात्रा (बि=सर्प र स्केट=मारेको), संक्रान्ति र मच्छिन्द्रनाथको रथयात्रा जस्ता सांस्कृतिक पर्वहरू समेत यो विक्रम सम्वत्सँगै जोडिएर प्रयोग भइ रहेका पाइन्छन् । चन्द्रमासको गणना गरी प्रयोग गर्ने शक सम्वत्मा १३ महिना हुने तर विक्रम सम्वत्मा १२ महिना मात्र हुने हुँदा प्रशासनिक खर्चका हिसावले पनि सस्तो पर्ने भएकाले विक्रम सम्वत्को प्रयोग गरिएको भन्ने पनि भनाइ पाइने गरेको; प्रयोगका आधारमा हेर्दा भने नेपाल सम्वत् अझै पुरानो देखिएको; वि.सं.४२१ मा विक्रमादित्यले शासन चलाएका र त्यसको चार सय वर्ष अघिदेखि विक्रम सम्वत्को प्रचलन रहेको भन्ने समेतका अभिलेख पाइएको; चन्द्र र सूर्यको सन्तुलन मिलाउन चन्द्रमास र सूर्यमासको गणना गरिने गरिएको समेत देखिँदा विक्रम सम्वत्को प्रयोगको प्राचीन अभिलेख पाइनुका साथै हाम्रा सांस्कृतिक पर्वहरूसँग समेत जोडिएको पाइने हुँदा यसको महत्त्व प्रमाणित भएको पाइन्छ भन्नु भयो ।
गोष्ठीको थालनी बालकविहरू प्रलिसा अधिकारी र प्रजिसा सत्यालका कविताबाट गरिएको थियो भने अन्य कविहरू डा.देवी नेपाल, पूर्ण विराम, मित्रलाल पंज्ञानी, ओमप्रसाद कोइराला, अतृप्त पाण्डेय, मुकुन्दप्रसाद न्यौपाने, डम्बर पहाडी, अमृता स्मृति, प्रमोद स्नेही, बैरागी जेठा, डिल्लीराज अर्याल, प्रभाती किरण, कणाद महर्षि, पुण्य गौतम ‘विश्वास’, अभ्यस्त यात्री, जयन्ती स्पन्दन, रत्ननिधि रेग्मी, रमेश गौतम ‘पाल्पाली’, डम्बरध्वज लिम्बू, गोविन्द नेपाल, प्रदीपरत्न शाक्य, सुधीर ख्वबी आँसु, रश्मि रिमाल, भावना न्यौपाने, निर्मला रेग्मी, रामप्रसाद प्रदीप, इन्द्रजित शर्मा चौलागाईँ, अशोक कुँवर ‘नेत्र’, डा.षडानन्द पौडेल, गोपाल नेपाल, नारायण निरासी, उर्मिला पन्त पाण्डेय, सुदेश सत्याल, प्रशान्त खरेल, देवकी के.सी., रामकुमार पण्डित, उमेश उपाध्याय र राम विनयले आआफ्ना समसामयिक कविता, गीत, गजल वाचन गर्नु भएको थियो ।
वाचित रचनामाथि प्रखर माक्र्सवादी चिन्तक गोपिरमण उपाध्यायले टिप्पणी गर्नु हुँदै बुटवलमा नियमित मासिक साहित्य गोष्ठी भइ रहने र त्यहाँ प्रस्तुत हुने विषय र स्तर अनि यहाँ प्रस्तुत भएका विषय तथा स्तर उस्तै उस्तै लागेको, कविता सिर्जना भनेको स्रष्टाले अनुभूत गरेका बेदनाको अनुभूति हो त्यसैले कवि र अकविमा फरक हुन्छ, समसामयिक व्यथाले कविलाई पीडा दिन्छ र कविता सिर्जना गर्छ र नै कविको संसार विचित्रको हुन्छ भनिएको हो । कविताले कुनै न कुनै विचार बोकेन र केही न केही सन्देश सम्प्रेषण गरेन भने त्यो शब्दको थुप्रो मात्र हुन्छ । मानिसको विशेष सक्रियता हुन्छ र त्यो भनेको विचार हो । अर्कालाई प्रभावित पार्ने गरी सक्रियता देखाउन सक्ने चाहिँ कवि हुन्छ । कविताको समालोचना गर्दा प्रभाववादीभन्दा वस्तुपरक समालोचना गरिनु पर्छ । यस हिसाबले आज वाचित ४० ओटा कविता तिन प्रकारमा विभक्त गर्न सकिने छन् – सामान्य, मध्यम र उच्च स्तरका । स्रष्टाले निरन्तरको साधनाबाट मात्र कवितालाई उचाइमा पुर्याउन सक्छ । यी सबै कविताका बारेमा म लिखित समालोचना गर्छु । समग्रमा आजको गोष्ठी उपलब्धिमूलक छ भन्नु भयो ।
गोष्ठीका सभाध्यक्ष राम विनयले साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला हो । यसले हरेक महिना कुनै न कुनै विशेष समसामयिक विषयमा परिचर्चा गर्ने गर्दछ । हामीले प्रयोग गरि रहेको विक्रम सम्वत्का बारेमा जानकारी राखि राख्नु पर्छ, यसको महत्ता थाहा पाइ राख्नु पर्छ भन्ने हामीलाई लाग्यो र प्राज्ञ रामकृष्ण दुवाललाई अनुराध गर्यौँ, उहाँ आइ दिनु भयो र जानकारीमूलक चर्चा गरि दिनु भयो । विज्ञहरू, साहित्यकारहरू समय निकालेर यहाँ आइ दिनु भयो सबै सबैमा हार्दिक धन्यवाद छ भन्नु हुँदै अर्काे महिना पनि कुनै विशेष विषय सहित उपस्थित हुने प्रतिवद्धता सहित गोष्ठीको समापन गर्नु भयो ।