रमेश पोखरेल, उपाध्यक्ष, साहित्य सन्ध्या
मितिः २०६९।१२।३, काठमाडौँ
साहित्य सन्ध्याको ३२५ औँ विशेष गोष्ठी आज शनिवार १ बजे नेपाल मानविकी क्याम्पस, प्रदर्शनी मार्गमा ‘विशेष कविगोष्ठी’को आयोजना गरी सम्पन्न भयो । अग्रज साहित्यकार एवम् राष्ट्रिय जन साँस्कृतिक महासङ्घका केन्द्रीय उपाध्यक्ष डा.जीवेन्द्र देव गिरीको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष गोष्ठीको सञ्चालन साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले गर्नु भएको थियो ।
प्रगतिशलि लेखक सङ्घ, नेपालका का.वा.अध्यक्ष रामप्रसाद प्रदीप, प्रज्ञा प्रतिष्ठानका प्राज्ञ बूँद राना, साझा प्रकाशनका सञ्चालक अनिल पौडेल र वरिष्ठ कवि कणाद महर्षि अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।
उक्त विशेष गोष्ठीमा २०४६ सालको पञ्चायती निरङ्कुशता विरोधी आन्दोलनमा आजैका दिन अर्थात् चैत्र ३० गते नेपाली साहित्यकारले मुखमा कालो पट्टी बाँधेर आन्दोलनको थालनी गरेका र ८० बर्से कविवर युद्धप्रसाद मिश्रले पनि कवितामा हुङ्कार गर्दै आन्दोलनको अगुवाइ गरेको ऐतिहासिक दिन पनि आजै भएकाले सोकोे स्मरण गर्दै कविवर युद्धप्रसाद मिश्रको कविताबाट कार्यक्रम सञ्चालक रमेश पोखरेलले गोष्ठीको प्रारम्भ गरेको उक्त विशेष गोष्ठीमा चार जना बालकविहरू प्रलिसा अधिकारी, प्रजिसा सत्याल, जोनी नेपाल र रोमी नेपाल, कविहरू केशव भट्टराई, तेजविक्रम कार्की, अतीन्द्र दाहाल, रमेश पोखरेल, प्रशान्त खरेल, यशोदा अधिकारी, मोहन पोखरेल, केशवराज निश्चल, विजय विश्वास, थरेन्द्र बराल, शंकर घिमिरे, रसुवाली कवि, विवेक विषालु, मीन कौशिक, गोपाल नेपाल, कणाद महर्षि, शीतल गिरी, बूँद राना, रामप्रसाद प्रदीप, जयन्ती स्पन्दन, मुक्तिनाथ शर्मा न्यौपाने, निर्भीक राई, जी.बी.आचार्य, जीकेएन खडेरी, विष्णु लामा, मीना ज्ञवाली, खेमराज शर्मा, पारस ढकाल, ऋषिराम अर्याल, प्रेम सिलवाल, पुण्य गौतम विश्वास, परशुराम पराजुली पराशर, प्रदीप रत्न शाक्य, जय गौडेल, रूपक अलङ्कार, सङ्गीता सापकोटा, नवीना सापकोटा, खिलेन्द्र सुवेदी, रत्ननिधि रेग्मी, देवी नेपाल, प्रमोद स्नेही, नारायण निराशी, इन्दु अंशु जटारे, यदुनन्दन वसन्तपुरे, किरण दर्पण र गोपाल मैनालीले आआफ्ना कविता, गीत, गजल वाचन गर्नु भएको थियो ।
वाचित कवितामाथि सभाध्यक्ष एवम् भाषाविद् सह प्राध्यापक डा.जीवेन्द्र देव गिरीले टिप्पणी गर्नु हुँदै कविताहरू समसामयिक धारामा लेखिएका, गद्यमा बढी र पद्यमा कम लेखिएका, केही शास्त्रीय छन्दमा लेखिएका निकै उत्कृष्ट समेत रहेका, विषयको विविधता रहेको र राष्ट्रियदेखि अन्तर्राष्ट्रिय विषय समेटिएका, देशको पीडा, मर्म र व्यथालाई उजागर गरिएका, सुन्दर बिम्ब तथा प्रतीकको प्रयोग गरिएका, प्रस्तुतिको शैलीमा नवीनता देखा परेको, बालकदेखि वृद्धसम्मले कविता वाचन गरेका, तिन तिन पुस्ता एकै ठाउँमा कविता वाचन गर्न उपस्थित गराएको साहित्य सन्ध्याको सकारात्मक पक्ष रहेको, कतिपय कविका कवितामा स्वर एवम् लय प्रखर रहेको तर वैचारिकता अल्मलिएको पाइएकाले त्यसमा पनि ध्यान दिनु पर्ने, निराशा र हतासा जस्ता पक्षलाई हटाउँनु पर्ने देखिएको, सामाजिक, साँस्कृतिक एवम् राजनीतिक विकृतिका प्रति स्रष्टाले अझ सशक्त रूपमा प्रहार गर्नु पर्ने अवस्था अहिले झन् टडकारो रहेको र त्यस पक्षमा धेरै कविताहरू सचेत समेत रहेका पाइएकाले गोष्ठी उपलब्धिमूलक रहेको, सिकारु कविले भने कविता माझ्ने तथा वाचन कला अग्रजबाट सिक्नु पर्नेतर्फ विचार गर्नु पर्ने धारणा राख्नु भयो र गोष्ठीको समापन गर्नु भयो ।