साहित्य सन्ध्यामा ‘व्रतैव्रत र महिला हिंसा’ परिचर्चा तथा ‘कविगोष्ठी’ सम्पन्न

रमेश पोखरेल

image

साहित्य सन्ध्याको नियमित मासिक ३६० औँ शृङ्खला जेठ १ गते शनिवार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनी मार्गमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो । लेखक एवम् राजिनीतिक अभियन्ता पूर्वमन्त्री त्रिलोचन ढकालद्वारा लिखित ‘व्रतैव्रत र महिला हिंसा’ कृतिमाथि टिप्पणी डा.विन्दु शर्माले गर्नु भएको र चालिस कविले कविता वाचन गरेको विशेष कविगोष्ठीको रूपमा सम्पन्न उक्त विशेष समारोहको सञ्चालन सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले गर्नु भएको थियो । अतिथिका रूपमा प्राज्ञ विष्णु प्रभात, प्रगतिशील लखक सङ्घकी उपाध्यक्ष डा.विन्दु शर्मा, राष्ट्रिय जन सांस्कृतिक महासङ्घ सदस्य डा.षडानन्द ढकाल, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका उपाध्यक्ष डा.फणीन्द्र निरौला, विवेच्य कृतिका लेखक त्रिलोचन ढकाल, वरिष्ठ कवि एवम् प्राज्ञ पूर्ण विराम, स्रष्टा समाजका अध्यक्ष अतृप्त पाण्डेय, प्रगतिशील लेखक सङ्घका वरिष्ठ सचिव पुण्य गौतम ‘विश्वास’, डा.अतीन्द्र दाहाल, ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंह, अभिनव साहित्य प्रतिष्ठानका अध्यक्ष वेदमणि घिमिरे, वरिष्ठ साहित्यकार राममणि पोखरेल, वरिष्ठ कवि रेशम विरही, जन साहित्यिक मञ्च, नेपालकी कोषाध्यक्ष यशोदा अधिकारी उपस्थित हुनु हुन्थ्यो ।

image

image

image

image

समालोचक डा.विन्दु शर्माले ‘व्रतैव्रत र महिला हिंसा’ कृतिका बारेमा टिप्पणी गर्नु हुँदै लेखकले कृतिमा अध्यात्मवादका सन्दर्भहरू, स्वस्थानी व्रतकथाका हावादारी सन्दर्भहरू, इन्द्रले पानी पार्ने भन्ने भ्रम, पुष्पक विमानको भ्रम, महिलालाई पुरुषका दासी बनाउने वा ठान्ने एवम् छोरीलाई छोरा सरह सम्मान नगरिएका यथार्थहरूलाई उजागर गर्ने, बलात्कार र नारी अस्मितामाथि आक्रमणको निन्दा, बाँच्दा सत्कर्म गरे मरेपछि कैलाश वास हुन्छ भन्ने भ्रम र अवैज्ञानिकतालाई सूक्ष्म ढङ्गले उजागर गर्ने कार्य गर्नु भएको छ। त्यसै गरी तीजलाई यसको सांस्कृतिक पक्ष र महत्त्वका आधारमा मनाउनु पर्ने, चेली–माइतीको भेट हुने अर्थमा, नयाँ कपडा गहना लगाउन पाउने अवसरका रूपमा, ग्रामीण समाजमा वर्षभरि घरबाट निस्कनै नपाउँने तर तीजमा भने निस्कन पाउने भएकाले यो अवसरका रूपमा मनाउनु पर्ने तर निराहार व्रत बसे पतिको आयु बढ्छ भन्ने भ्रमबाट मुक्त हुनु पर्ने, तीजका नाममा तडकभडक पूर्ण प्रदर्शनबाट टाढा रहनु पर्ने, चाडबाड र संस्कारहरूका सकारात्मक र नकारात्मक पक्षहरूको विश्लेषण गरेर ठिक पक्षलाई ग्रहण गरी जोगाउनु पर्ने र बेठिक पक्षलाई त्याग गर्ने वा रूपान्तरण गर्नु पर्ने आजका हाम्रो दायित्व हो भन्ने लेखकको मान्यता रहेको देखिएको छ । त्यसै गरी चाडबाडहरूलाई समय सापेक्ष रूपमा परिमार्जन गरेर मनाउनु पर्छ । ऋषि पञ्चमी महिलाको मासिक धर्मसँग सम्बन्धित हुने र महिनावारी प्राकृतिक र वैज्ञानिक कुरा भएकाले अन्ध विश्वासका भरमा वा पाप लाग्छ भन्ने भ्रममा यो चाड मानि रहनु नपर्ने विश्लेषण लेखकको रहेको छ । समाजले जतिसुकै पछाडि पारे पनि वा पार्न खोजे पनि जुनसुकै क्षेत्र र स्थानमा महिलाको भूमिका अहम् रहेको हुन्छ  । स्वस्थानीको व्रतकथा आख्यानको रूपमा विकसित भएको हो, प्रचलित भएको हो, त्यसैले यसलाई देवत्वका तुलनाका माध्यमबाट चर्चा गरि रहनु आवश्यक छैन । वैदिक युगमा महिला सम्मानित रहेका तर पौराणिक युगमा आइ पुगदा पितृसत्ता हाबी भएर महिलालाई पछाडि पारेको पाइन्छ । कानुन निर्माणका कारणले मात्र महिला हिंसा समाप्त हुँदैन भन्ने निष्कर्ष निकाल्नुभन्दा पनि कानुनको कार्यान्वयन पक्ष प्रभावकारी बन्न नसक्दा महिला सुरक्षामा चुनौती थपिएको पक्षलाई स्वीकार गर्नु पर्दछ । यथार्थमा हिन्दू धर्मले महिलालाई कामुक चरित्रको रूपमा चित्रण गरेको पाइँदैन । कुनै पनि धार्मिक कृतिको विश्लेषण गर्दा पौराणिक ग्रन्थहरू र तिनका स्थापित मान्यताहरूलाई समेत विश्लेषण गर्ने र परिमार्जित गर्ने कार्य गरिनु उपयुक्त हुन्छ । आर्थिक रूपमा सबल हुन नसक्ने महिलाहरूले धर्मको नाममा पतिलाई परमेश्वर ठान्ने र दास बन्नु पर्ने वास्तविकता आज पनि रहेको छ र यो बाध्यता पनि बन्न पुगेको छ । सामन्तवादी अवस्थामा केही रूपान्तरण हुन खोजे पनि सबै सम्भव भएको छैन । समय क्रममा आफैँ पनि भ्रमको पर्दा च्यातिँदै जान्छ त्यसका लागि शिक्षा र सम्पत्तिको हकबाट भने महिलालाई बञ्चित गराइँनु हुन्न भन्ने नै लेखकको निष्कर्ष हो र मेरो आफ्नो पनि यसमा सहमति रहेको छ भन्नु भयो ।
image
image

प्राज्ञ विष्णु प्रभातले सांस्कृतिक रूपान्तरण भनेको दृष्टिकोण निर्माणको प्रश्न हो । विचार मन्थन हुनु राम्रो कुरा हो । समाजमा विद्यमान अन्ध विश्वास नै सही त्यसमा रूपान्तरण गर्न विकल्प दिइनु पर्दछ तर सांस्कृतिक रूपान्तरण भनेको निकै ढिलो हुने कुरा हो, एकाएक भइ हाल्ने कुरा होइन । कुनै पनि कुरालाई पनि निषेध गरिनु चाहिँ ठिक होइन । हाम्रो मस्तिष्कमा दृष्किोण नबन्दासम्म अन्ध विश्वासले थिचि राखेको हुन्छ । विश्वास र अन्ध विश्वास दुइटैलाई साथ लिएर अगाडि जान सकिदैन । अन्ध विश्वास र भ्रमलाई कसरी विस्थापित गर्ने भन्ने कुरा नै विकल्प निर्माण हो । युवा लक्षित कार्यक्रम गरी विज्ञानसम्मत चिन्तन अभियानको थालनी आवश्यक हुन्छ । हेर्दा समान्य लाग्ने कुा नै गम्भीर विकृतिका कारक भइ राखेका हुन्छन् त्यसैले यस्ता छलफल नियमित रूपमा चलाइँनु आवश्यक हुन्छ भन्नु भयो ।
image
image

कृतिका लेखक त्रिलोचन ढकालले समाजमा विद्यमान पितृसत्ता र त्यसलाई नारीहरूले स्वीकार गर्ने कारणको जड भनेको संस्कार हो । यसको अन्तका लागि शिक्षा प्रमुख कुरा हो । देवता भनेको आस्थाको विम्ब मात्र हो, त्यसको भक्ति नगर्दा कसैको केही बिगार्न सक्तैन तर भक्ति नगरे स्वर्ग पुगिन्न भन्ने चाहिँ विल्कुलै भ्रम हो । महिलाले पुरुषका लागि गर्ने व्रतहरू छन्, एक हजारभन्दा बढी व्रतहरू छन्, पुरुष र महिलाले सँगै गर्ने व्रतमा पनि पुरुष माथि रहेर गरिने व्रत छन् । स्वस्थानी नेपाली भाषामा लेखिएको अवास्तविक र भ्रमपूर्ण कथासार हो त्यसैले त्यसैलाई नै आधार बनाएर यो कृति तयार पारिएको हो । अबको समाज व्रतका डरले होइन कि शिक्षा, दीक्षा र चेतनाका हिसाबले मात्र परिवर्तन हुन सक्छ भन्ने वास्तविकता बोध गराउनु मेरो कृति लेखनको उद्देश्य हो । अहिलेको समय भनेको समाजमा रहेका अन्ध विश्वासबाट मुक्त हुने र तथ्यमा विश्वास गर्ने समय हो । यद्यपि समय क्रमसँगै अव्यवहारिक कुराहरू हटेर जान्छन् । धर्म र संस्कृतिमा पनि समय सापेक्ष विकास आवश्यक छ । संस्कृति चाहिँ धर्मभन्दा फरक छ र यसको संरक्षण आवश्यक पनि छ तर अन्ध विश्वासलाई भने पूर्णतः हटाउनु आवश्यक छ । यही आशयले मैले तयार पारेको कृतिका विषयमा बहस चाइ दिएको र कृतिमा रहेका केही कमी कमजोरी हटाउने दिशामा मलाई सचेत पारि दिएकोमा समीक्षकलाई, साहित्य सन्ध्यालाई हार्दिक धन्वाद छ भन्नु भयो ।
image

गोष्ठीको थालनी वरिष्ठ प्रगतिवादी साहित्यकार रामप्रसाद प्रदीपको असामयिक निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतात्माको चीरशान्तिको कामनाका साथ एक मिनेट मौन धारण गरी गरिएको थियो भने रमेश पोखरलले प्रगतिवादी स्रष्टा ऋषिराम शर्माको कविता वाचन गरी उहाँका प्रति सम्मान व्यक्त गरिएको थियो, सम्झना गरिएको थियो । बालकवि नम्रता श्रेष्ठको कविताबाट कविता वाचन प्रारम्भ गरिएको थियो भने बालकविहरू प्रलिसा अधिकारी,  प्रजिसा सत्याल र प्रनिशा रेग्मीले कविता वाचन गरेका थिए त्यसै गरी अन्य कविहरू मुकुन्द न्यौपाने, ओमप्रसाद कोइराला, पूर्ण विराम, बैरागी जेठा, अभ्यस्त यात्री, भोलानाथ सुवेदी, नवराज श्रेष्ठ, सुरज आचार्य, अतृप्त पाण्डेय, डा.अतीन्द्र दाहाल, हरिमाया भेटवाल, ब्रह्मप्रिय प्रेमस्वरूप, मणिराज सिंह, पुण्य गौतम ‘विश्वास’, डा.षडानन्द पौडेल, गोविन्द नेपाल, प्रशान्त खरेल, बलराम विष्ट, वेदमणि घिमिरे, रेशम विरही, अशोक कुँवर, जयन्ती स्पन्दन, भावना न्यौपाने, रामकुमार पण्डित, मधुशूदन पन्थी, डम्बरध्वज लिम्बू, प्रदीपरत्न शाक्य, विजया स्मृति, विष्णुप्रभा उपाध्याय, रन्तनिधि रेग्मी, परशुराम पराजुली ‘पराशर’, यशोदा अधिकारी, यदुनाथ वसन्तपुरे, लीलाराज दाहाल, गीता सापकोटा, चूडा निर्भीक र राम विनयले आआफ्ना समसामयिक कविता, गीत, गजल वाचन गर्नु भएको थियो ।
image

वाचित रचनामाथि र विवेच्य कृति समेतमाथि प्रा.जगत् उपाध्याय प्रेक्षितले टिप्पणी गर्नु हुँदै संस्कृतिको विषय व्यापक छ, यसको रूपान्तरण जटिल कुरा पनि हो, त्यसमा पनि जन भावनामा परिवर्तन गर्नु ज्यादै कठिन कुरा हो । मान्छेभित्रको मानवीय संवदनाले अध्यात्मको तहमा पुरयाउँछ त्यसैले पनि हाम्रा परम्पारदेखि आएका प्रचलनहरू अन्ध विश्वास नै भए पनि एकाएक परिवर्तन हुँदैनन् । प्राचीन वाङ्मयका कुरा सबै गलत पनि छैनन् । महिला स्वतन्त्रताको कुरा गरेर मात्र पनि हुँदैन सुरक्षाका हिसाबले पनि हेर्नु पर्दछ । प्राचीन ग्रन्थ र संस्कारका राम्रा कुरा ग्रहण गर्ने र नराम्रा कुरा त्याग्ने वा रूपान्तरण गर्नु उपयुक्त हुन्छ । हाम्रो समाजमा मात्र होइन अन्य धार्मिक समाजमा पनि अन्ध विश्वास झन् बढी व्याप्त रहेको पाइन्छ । सम्पत्ति र शिक्षाको हकबाट छोरीलाई विभेद नगर्ने हो भने समाज रूपान्तरण हुन सक्छ भन्नु भयो र वाचित कवितामाथि टिप्पणी गर्दै गेयात्मक, पद्यात्मक, लयात्मक कविता वाचन भएका, आज धेरै कविता राम्रा वाचित भएका; कवितामा भाषा, शब्द, भाव, लयको सुन्दर बुनोट हुन्छ र त्यसले मस्तिष्कलाई जगाउने र हृदयलाई हल्लाउन सक्ने हुनु पर्दछ तर कवितामा विचार सबैभन्दा महत्त्वपूर्ण कुरा हो । वाचित कवितामा राष्ट्रिय–अन्तर्राष्ट्रिय विषय समेटिएर आएका, युग चेतना प्रतिविम्बित भएको, राजनैतिक विकृति र विसङ्गतिका प्रति आक्रोश व्यक्त गरिएको, अधिकांश कविता जीवनवादी आशादादी रहेका हुँदा आजको गोष्ठी उपलब्धि पूर्ण रहेको धारणा राख्नु भयो ।

गोष्ठीका सभाध्यक्ष राम विनयले साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला हो । यसले हरेक महिना कुनै न कुनै विशेष समसामयिक विषयमा परिचर्चा गर्ने गर्दछ । समाजमा अन्ध विश्वास अझै मडारिइ रहेको हामीले देखे, भोगेका वा सुनेका छौँ, पत्रिकामा पढेका छौँ त्यसैले बहसका लागि यो विषय समसामयिक हुन्छ भन्ने हामीलाई लाग्यो र राजनीतिक अभियन्ता त्रिलोचन ढकालले लेख्नु भएको ‘व्रतैव्रत र महिला हिंसा’माथि बहस गर्दा लेखकलाई पनि केही ऊर्जा प्राप्त हुन्छ र समाज रूपान्तरणको पक्षमा पनि केही न केही सहयोग मिल्छ भन्ने हामीलाई लागेर नै आजको यो विशेष कार्यक्रम बनायौँ । समीक्षाका लागि डा.विन्दु शर्मा र प्राज्ञ विष्णु प्रभातलाई अनुरोध गर्यौँ, उहाँहरू आइ दिनु भयो र जानकारीमूलक चर्चा गरि दिनु भयो । विज्ञहरू, साहित्यकारहरू समय निकालेर यहाँ आइ दिनु भयो सबै सबैमा हार्दिक धन्यवाद छ भन्नु हुँदै अर्काे महिना पनि कुनै विशेष विषय सहित उपस्थित हुने प्रतिवद्धता सहित गोष्ठीको समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *