साहित्य सन्ध्यामा ‘समाज निर्माणमा ज्येष्ठ नागरिकको भूमिका’ विषयक परिचर्चा तथा कविगोष्ठी सम्पन्न

साहित्य सन्ध्याको नियमित मासिक ३६८ औँ शृङ्खला पुस २ गते शनिवार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनी मार्गमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो । उक्त विशेष गोष्ठीमा ‘समाज निर्माणमा ज्येष्ठ नागरिकको भूमिका’ विषयक परिचर्चा तथा कविगोष्ठी गरिएको थियो । ‘नेपान’का कार्यकारी निर्देशक फटिक थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रा.केशव सुवेदी, प्राज्ञ नर्मदेश्वरी सत्याल, वरिष्ठ कवि एवम् प्राज्ञ पूर्ण विराम, वरिष्ठ कवि रामबहादुर पहाडी, प्रगतिशील लेखक सङ्घका वरिष्ठ सचिव पुण्य गौतम ‘विश्वास’, प्रा.डा.खेमप्रसाद दाहाल, वरिष्ठ कविहरू आनन्दराम पौडेल र पीताम्बर भण्डारी अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।
कवि जान डानको करिब ३८५ वर्ष पुरानो ‘मृत्यु’ शीर्षकको अनुवाद कविता पूर्ण विरामले ल्याउनु भएको र त्यसलाई साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले वाचन गरेर गोष्ठीको शुभारम्भ गर्नु भएको थियो ।
गोष्ठीका प्रमुख अतिथि नेपानका कार्यकारी निर्देशक फटिक थापाले नेपालको कानुनले ६० वर्ष उमेर पुगेपछि ज्येष्ठ नागरिक मानेको, विश्वको हाल प्राप्य तथ्याङ्क हेर्दा १२% जनसङ्ख्या ज्येष्ठ नागरिकको रहेको र नेपालमा ९% रहेको, सन २०३० सम्ममा यो सङख्या बढेर १६ र ११ प्रतिशत पुग्ने अनि सन २०५० मा विश्वमा २१–२२% पुग्ने र नेपालमा १८% पुग्ने अनुमान गरिएको छ । यसरी ज्येष्ठ नागरिकको सङ्ख्या बृद्धि हुनुले उनीहरूका माग र मुद्दा बढ्दै जाने कुराको पुष्टि गरेको छ । साहित्यको सेवा गर्ने स्रष्टाले पनि ज्येष्ठ नागरिकका समस्यालाई आफ्ना सिर्जना मार्फत उजागर गरि दिनु पर्ने आवश्यकता रहेको छ । ज्येष्ठ नागरिकको उमेरमा पुग्दा जोडी गुम्ने, माया र ममताबाट बञ्चित हुन पुग्ने र वितृष्णा पैदा हुने अवस्था आइ पर्छ । हाल नेपाल सरकारले रु.दुई हजार भत्ता दिने गरेको रकमको आधा बृद्धभत्ता र आधा स्वास्थ्य उपचार खर्चको रूपमा प्रदान गर्ने गरिएको छ । ज्येष्ठ नागरिकका केही ठुला रोगको उपचारमा पचास प्रतिशत छुट र ७५ वर्ष उमेर पुगेकालाई खास खास रोगमा सरकारले तोकेका नेपालभरिका ११ अस्पतालहरूबाट पुरै छुट दिने व्यवस्था समेत गरिएको छ । कुनै पनि अस्पतालले कुल शैयाको १०% शैया ज्येष्ठ तथा विपन्न नागरिकलाई छुट्याउनु पर्ने व्यवस्था समेत २०७३ पुस १ गतेदेखि लागु हुने गरी गरेको छ । ज्येष्ठ नागरिक हुँदै जाँदा नसर्ने खालका तर कडा रोगहरू लाग्न थाल्छन्, शरीर शिथिल हुँदै जान्छ त्यसको व्यवस्थापनका लागि खानपान, शारीरिक व्यायाम र स्वास्थ्यमा विशेष ध्यान दिनु जरुरी हुन्छ । रमाइलो गरेर, हाँसेर, गाएर, नाचेर भए पनि व्यायाम गर्ने बानी बसाल्नु पर्छ । ज्येष्ठ नागरिक भनेका समाजका जिउँदा इतिहास हुन्, समाजका अनुभवी नागरिक हुन् र घरका अभिभावक हुन् । उनीहरूको अनुभव, संस्कार, ज्ञान, बुद्धि ग्रहण गरिनु पर्दछ त्यसो भयो भने मात्र घर सुन्दर हुन्छ, समाज सुन्दर हुुन्छ र राष्ट्र समृद्ध हुन्छ त्यसैले देशको विकासमा ज्येष्ठ नागरिकलाई सहभागी गराइँनु पर्दछ भन्ने मान्यता संसारमा बढ्दै गएको छ भन्ने धारणा राख्नु भयो ।
गोष्ठीमा कविहरू ओमप्रसाद कोइराला, मुकुन्द न्यौपाने, लीलाराज दाहाल, पूर्ण विराम, प्रेमराज सिलवाल, जनार्दन अधिकारी ‘धड्कन’, चूडा निर्भीक, अभ्यस्त यात्री, ढुण्डिराज पोखरेल, बालकवि प्राञ्जलमणि आचार्य, भागवत आचार्य, पुण्य गौतम ‘विश्वास’, रामबहादुर पहाडी, गोविन्द नेपाल, डा.राधाकृष्ण ढुङ्गाना, रमेश गौतम ‘पाल्पाली’, गोपाल मैनाली, नर्मदेश्वरी सत्याल, अनिता लामा, उर्मिला पन्त पाण्डेय, कुशुम शर्मा, भावना न्यौपाने, पीताम्बर भण्डारी, आनन्दराम पौडेल, छविरमण सिलवाल, प्रशान्त खरेल, बैरागी जेठा, खेम दाहाल, ललित बस्नेत ‘भिमाली’, गोपाल नेपाल, रूपक अलङ्कार र राम विनयले आआफ्ना कविता, गीत, गजल वाचन गर्नु भयो ।
वाचित कवितामाथि टिप्पणी गर्नु हुँदै प्रा.केशव सुवेदीले कविता चुनौती पूर्ण लेखन हो । वास्तवमा कविता बुझ्न एउटै कविता दशौँ पटक पढ्नु पर्छ किनभने कविता साहित्यको अत्यन्त सङ्क्षिप्त आयाम हो । कविताले प्रस्तुत गर्ने समाज र जीवन बडो जीवन्त हुन्छ । कविता लेख्ने कविले पहिले आफूलाई चिन्नु पर्छ, समाजलाई चिन्नु पर्छ र त्यसको सामान्यीकरण गरेर कविता लेख्न सक्नु पर्छ । कविता कला हो र त्यसको माध्यम हो भाषा । त्यही भाषारूपी छिनु चलाएर स्रष्टाले सिर्जना गर्दछ त्यसैले कविता लेखन ठट्टा होइन । स्रष्टा आफैँ उत्कृष्ट समालोचक हो । वाणीद्वारा उत्कृष्ट अर्थ सम्प्रेषण गर्न सकिएन भने कविता बन्दैन । आजको गोष्ठीमा अनेक ढाँचा र रूपका कविता प्रस्तुत भए । एउटा केन्द्र भत्किए पनि अन्य तथाकथित केन्द्रहरू बनेकामा कवितामा आक्रोश व्यक्त भएको छ । वास्तवमा कविताले ह्वाङ्गै भन्नु हुन्न लुकाएरै भन्नु पर्छ । बौद्धिक जमातले भोगि रहेका यथार्थको प्रतिविम्बन कवितामा भएको छ । नयाँ र पुरामा विचार, मान्यता र व्यवहारबिचको अन्तरद्वन्द्व सशक्त रूपमा अभिव्यक्त भएको पाइन्छ । हाम्रो नक्सामा हाम्रो देश हुने हो कि होइन भन्ने गम्भीर चिन्ता कवितामा व्यक्त गरिएको छ । जीवनको क्षणिकताको सुन्दर र सशक्त अभिव्ञ्जना पनि कवितामा प्रस्तुत भएको छ । देशभक्तिको भावना प्रगाढ रूपमा व्यक्त भएको पाइन्छ । आजको राजनीति, आजको समाज र व्याप्त रहेको भ्रष्टताको चर्को विरोध कवितामा गरिएको छ र युवामा उत्साहको सञ्चार भर्ने काम पनि कविताले गरेका छन् । अब बन्दुकको युद्ध होइन हामीभित्रको अहङ्कार, स्वार्थ, आडम्बर र ढोँगका विरुद्धको युद्ध आवश्यक छ । अग्रजको दिशा निर्देशविना समृद्ध मुलुकको परिकल्पना गर्न सकिन्न । परम्पराविनाको आधुनिकता पनि सम्भव छैन भन्ने पक्षका साथसाथै सपना भत्किएको यथार्थ वा भनौँ सपना पनि देख्न पाइन्न कि भन्ने चिन्ताभाव कवितामा सुन्दर र सशक्त रूपमा आएको छ । साँचो अर्थमा कवितालाई सम्मान गर्न सकियो भने स्रष्टालाई सन्तुष्टि प्राप्त हुन्छ । जहिल्यै पनि कविले कवितालाई न्याय गर्न सक्नु पर्छ । गद्य कविता लेखन थप चुनौती पूर्ण हुन्छ त्यसैले स्रष्टा सजग हुनु पर्छ भन्ने धारणा राख्नु भयो ।
गोष्ठीका अध्यक्ष राम विनयले साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला हो । यसले हरेक महिना कुनै न कुनै विशेष समसामयिक विषयमा परिचर्चा गर्ने गर्दछ । आजको यो शृङ्खलामा हामीले ‘समाज निर्माणमा ज्येष्ठ नागरिकको भूमिका’ विषयक विशेष परिचर्चा तथा कविगोष्ठी सम्पन्न गरेका छौँ । प्रमुख अतिथि फटिक थापाज्यू आइ दिनु भयो, टिप्पणीकार आदरणीय केशव सुवेदीज्यू आइ दिनु भयो, स्रष्टाहरू आइ दिनु भयो र तेत्तिस स्रष्टाका सिर्जना वाचित भए । वाचित सिर्जनामाथि प्रा.केशव सुवेदी सरले मसिनो गरी टिप्पणी गरि दिनु भई स्रष्टालाई आफ्ना सिर्जनामा निखार ल्याउन सहयोग पुर्याइ दिनु भयो । सबै सबैलाई हार्दिक धन्यवाद दिन्छु भन्नु हुँदै अर्काे कार्यक्रममा कुनै एक विषयमाथि छलफल सहित कविता गोष्ठी हुने जानकारी सहित गोष्ठीको समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *