साहित्य सन्ध्यामा ‘साइबर संस्कृति र यसले समाजमा पारेको प्रभाव’ परिचर्चा तथा कविगोष्ठी सम्पन्न

साहित्य सन्ध्याको नियमित मासिक ३५८ औँ शृङ्खला चैत्र ६ गते शनिवार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनी मार्गमा सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको अध्यक्षतामा सम्पन्न भयो ।  ‘साइबर संस्कृति र यसले समाजमा पारेको प्रभाव’ विषयको दोस्रो भागको रूपमा प्रा.राजेन्द्र सुवेदीले विशद चर्चा गर्नु भएको उक्त विशेष समारोहको सञ्चालन सन्ध्याका कोषाध्यक्ष गोपाल मैनालीले गर्नु भएको थियो । प्रमुख अतिथि प्रा.राजेन्द्र सुवेदी रहनु भएको उक्त गोष्ठीमा अतिथिका रूपमा डा.लेखप्रसाद निरौला, डा.षडानन्द पौडेल, वरिष्ठ कवि एवम् प्राज्ञ पूर्ण विराम, स्रष्टा समाजका अध्यक्ष अतृप्त पाण्डेय, प्राज्ञ विष्णु प्रभात, प्राज्ञ नर्मदेश्वरी सत्याल, माक्र्सवादी चिन्तक गोपीरमण उपाध्याय, वरिष्ठ कवि उमेश उपाध्याय उपस्थित हुनु हुन्थ्यो ।

image

image

प्रमुख अतिथि प्रा.राजेन्द्र सुवेदीले माक्र्सवाद भनेको निरन्तरको द्वन्द्व हो, सङ्घर्ष हो तर यतिखेर माक्र्सवादको वैचारिकतामा खिया लागेको छ । निरन्तरताको र सिर्जनाको सङ्घर्ष पूर्ण यात्रा आवश्यक छ तर सत्ताको प्राप्तिपछि सबै पूर्ण भयो भन्ने मान्यता नै माक्र्सवादको वैचारिक विचलन हो।

image

विज्ञानले हाम्रो दिमागको सोच र चिन्तनलाई साँघुरो पारेको छ । नोबेल पुरस्कार विजेता चिनियाँ साहित्यकार वाङ मुनले लोक परम्परा र संस्कृतिलाई साइबरसँग जोडेका छन्, यो महत्त्वपूर्ण कार्य हो । हाम्रो दिमागलाई वा सिर्जनात्मकतालाई साइबर संस्कृतिले वा सफ्टवयरले वा फेसबुकले वा कार्टुनले खाइ दिएको छ । हामीले गर्न नसकेका काम उसले गरेको छ र हाम्रो दिमागमा बजारीकरण गरेको छ । साइबर संस्कृतिको विकृतिमा फस्नु हुँदैन भनेर माक्र्सवादले विरोध त गरेको छ तर सिर्जनात्मक खुराक दिन सकेको छैन वा भनौँ विकल्प दिन सकेको छैन अर्थात् उपभोक्तावादले थिचेको छ । माक्र्सले सिर्जना गरेको वैचारिकताको युगभन्दा आज साइबर संस्कृति तीव्र गतिमा बढेको छ । साइबरबाट विमुख हुनु अहिलेको समयमा सम्भव नै छैन तर यसले सिर्जनात्मकतालाई सिथिल पार्छ भन्ने हेक्का राखेर जोगिनु भने नितान्त आवश्यक छ । यो सञ्चार साहित्यले हामीलाई वा हाम्रो वैचारिकतालाई कतातिर अभिप्रेरित गर्छ भन्ने कुरामा विचार पुर्याइनु पर्दछ र सचेत हुनु पर्छ । अहिले बाबुपुस्ताभन्दा छोरापुस्ता बाठो र छोरापुस्ताभन्दा नातिपुस्ता झन बाठो छ, यो प्रविधिको ज्ञानको कारणले भएको हो । हिजोका मूल्य र मान्यतामा आजको साइबर संस्कृतिले प्रहार गरि रहेको छ, एक हिसाबले यो स्वभाविक पनि छ । त्यसैले हाम्रो संस्कृति विकसित प्रविधि प्रयोग गर्ने उत्तर औपनिवेशिक साम्राज्यवादको प्रहारको निशाना बनेको छ, त्यसको प्रतिरक्षा गर्ने खुराक हामीले दिन नसक्ने हो भने हाम्रो संस्कृति, मूल्य र मान्यता समाप्त भएर जाने खतरा छ । हरेक मान्छेको सोच र विचार बाहिर आउनु पर्छ अनि त्यसको जगेर्ना हुनु पर्छ तब मात्र संस्कृतिको रक्षा सम्भव छ । अहिले त फेसबुकले मान्छेको जीवन नै तहसनहस भइ रहेको छ । हो, यस्तो विकृत संस्कृति भनेको ध्वंश हो । प्रविधिको जब दुरुपयोग हुन्छ तब ध्वंशतर्फ उन्मुख हुन्छ । अल्प विकसित मुलुकमा प्रवेश गर्ने त्यस्तो विकृति बडो सन्देशमूलक र उपयुक्त जस्तो आवरणमा भित्रिन्छ र अन्तमा खतरनाक सावित भइ दिन्छ । यसबाट सचेत भएर रचनात्मक रूपमा प्रयोग गर्नु पर्छ र सकिन्छ पनि । प्रत्यक्ष रूपमा भन्न नसकिएका कुरालाई साइबरका माध्यमबाट भन्न सकिन्छ तर त्यसको सन्देश भने यथास्थितिबाट परिवर्तन गर्ने खालको हुनु पर्छ तब मात्र त्यसलाई सिर्जनात्मक मान्न सकिन्छ । हामीले के के कुरा दिए साइबरले बिगार्दैन भन्ने सूत्र हामीले निर्माण गर्नु पर्छ र हामीले पनि त्यसको बजारीकरण गर्नु पर्छ भन्ने धारणा राख्नु भयो ।

image

image

image

प्राज्ञ विष्णु प्रभातले आज चर्चा गरिएको विषयतर्फ प्रवेश नगरी स्रष्टाले सचेतताका साथ सिर्जना गर्नु पर्छ, भाषिक सचेतता आवश्यक छ, लेखन र वाचन शुद्ध हुनु पर्दछ, अध्ययनशील भई पढेका वा देखेका कुराहरूबाट नकारात्मकता निकाली सकारात्मक मात्र लिनु पर्दछ र हरेक कुरालाई द्वन्द्ववादको दृष्टिकोणले विश्लेषण गर्नु पर्दछ त्यसो भयो भने मात्र साहित्य सामाजिक रूपान्तरणको बलियो हतियार हुन्छ भन्ने धारणा राख्नु भयो ।
image

image

image

गोष्ठीमा कविहरू ओमप्रसाद कोइराला, अतृप्त पाण्डेय, मुकुन्दप्रसाद न्यौपाने, पूर्ण विराम, अभ्यस्त यात्री, रामचन्द्र दाहाल, बलराम विष्ट, प्रदीपरत्न शाक्य, कृष्णदेव रिमाल, लीलाराज दाहाल, ब्रह्मप्रिय प्रेमस्वरूप, देवकुमारी लुइटेल, डम्बरध्वज लिम्बू, प्रशान्त खरेल, बालाकृष्ण अधिकारी, गोपालकुमार मैनाली, पुण्य गौतम ‘विश्वास’, नीलहरि सुवेदी, ज्ञानु विद्रोही, रूपक अलङ्कार, कल्पना काफ्ले, रामकुमार पण्डित क्षेत्री, ध्रुवराज घिमिरे, नर्मदेश्वरी सत्याल, गोविन्द नेपाल, उमेश उपाध्याय, पीताम्बर भण्डारी, भावना न्योपाने, मीनबहादुर राना, उर्मिला पन्त पाण्डेय, अमृता स्मृति, नारायण भण्डारी, उमेश पाण्डे र षडानन्द पौडेलले आआफ्ना समसामयिक कविता, गीत, गजल वाचन गर्नु भएको थियो ।
image

image

वाचित रचनामाथि डा.लेखप्रसाद निरौलाले टिप्पणी गर्नु हुँदै कवितामा विषय वस्तु, शैली र प्रस्तुति अत्यावश्यक हुन्छन् । कवितामा समसामयिक सन्दर्भ र प्रकृति आउन सक्छन् । भावलाई लयमा आवद्ध गरी भाषामा सम्प्रेषित गर्नु नै कविता रचना गर्नु हो । लघु, मध्यम र बृहत् आकारमा लेखिने कविता अनुभूतिको तीव्र आवेग हुन्छ, लघु कविताले सियोको टुप्पाले घोचेको जस्तो भाव छाड्न सक्नु पर्छ । कवितामा भावको सघनता वा विस्तृतीकरण भयो भने खण्डकाव्य हुन जान्छ । लयात्मकता वा अन्तरसाङ्गीतिकता कवितामा हुन्छ र शब्दको मर्मलाई कायम राख्दै लय मिलाउनु पर्छ । कविता रचनाको शास्त्रीयता जानेकालाई झन् कविता सिर्जना कठिन हुन्छ । आयामगत विस्तृति कवितामा उपयुक्त हुन्न । कविता छन्दमा लेख्नु चाहिँ चुनौती पूर्ण नै हुन्छ । स्रष्टाले कविता सिर्जनामा मिहिनेतपूर्वक प्रयास गर्नु पर्दछ । विम्बको प्रयोगमा सन्दर्भ ख्याल गर्नु पर्दछ र कविता क्रमशः उत्कर्षतिर जानु पर्दछ, कवितामा विरोधी रसको प्रयोग नहोस् भन्ने ख्याल गर्नु पर्दछ । बुझिने र सन्देशमूलक कविता नै श्रेष्ठ हुन्छ त्यसका लागि अरूका उत्कृष्ट कविता पढ्नु पर्दछ । आजको गोष्ठीमा वाचित कविता सामान्यदेखि उच्च स्तरका रहे, भाषिक दृष्टिले पनि गोष्ठी उपलब्धिमूलक रह्यो । पुस्तागत सम्मीलन गोष्ठीमा रहेको छ । समाजलाई चेतना दिने कविता लेखिनु पर्दछ र साहित्यले मात्र समाजलाई परिवर्तन गर्न सक्छ । कविले कविता सुनाइ सकेपछि स्रोताले त्यसको भाव ग्रहण गर्न सक्नु पर्दछ, सूक्तिमयता हुनु पर्दछ भन्ने कुरामा कविको ध्यान सदैव जानु पर्छ भन्ने धारणा राख्नु भयो ।
image

image

गोष्ठीका सभाध्यक्ष रमेश पोखरेलले साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला हो । यसले हरेक महिना कुनै न कुनै विशेष समसामयिक विषयमा परिचर्चा गर्ने गर्दछ । स्रष्टाले प्रविधिभन्दा पर बसेर होइन प्रविधिसँग नजिकिएर सिर्जना गर्नु पर्दछ भनेर धेरै वर्ष पहिले नै विशेष कार्यक्रमको आयोजना गरिएको, कविता वाचन वैशिष्ट्यका बारेमा परिचर्चा गरिएको, नयाँ र पुरानो पुस्तालाई एकै ठाउँमा उभ्याई पुरानाबाट सिक्ने वातावरण तयार पार्ने कार्य गरिएको र गरिँदै आइएको छ । अर्काे महिना पनि कुनै विशेष विषय सहित उपस्थित हुने प्रतिवद्धता सहित आजका प्रमुख अतिथि आदरणीय गुरु प्रा.राजेन्द्र सुवेदीज्यू, टिप्पणीकार डा.लेखप्रसाद निरौला, अतिथिहरू तथा सहभागी सबै सबैमा हार्दिक आभार सहित  गोष्ठीको समापन गर्नु भयो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *