मितिः २०७०।६।५
रमेश पोखरेल
साहित्य सन्ध्याको ३३१ औँ कार्यक्रम आज विशेष समारोहको आयोजना गरी नेपाल मानविकी क्याम्पस (आर.आर)मा ‘सामाजिक रूपान्तरणमा सांस्कृतिक नीति’ विषयक चर्चा तथा कविगोष्ठीका रूपमा सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष गोष्ठीको सञ्चालन सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले गर्नु भएको थियो ।
प्रा.डा.सुरेन्द्र के.सी., प्राज्ञ बूँद राना, वरिष्ठ साहित्यकार रामप्रसाद प्रदीप, वरिष्ठ कविद्वय कणाद महर्षि र पूर्ण विराम, डा.घनश्याम परिश्रमी र साहित्य सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी अतिथि रहनु भएको उक्त विशेष समारोहमा नेकपा एमाले सल्लाहकार समिति सदस्य एवम् इमान र निष्ठाका धरोहर नरबहादुर खाँडको निधन भएको तेरौँ दिनको पुण्य तिथिमा उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक प्रस्ताव पारित गरियो ।
सामाजिक रूपान्तरणमा सांस्कृतिक नीति विषयमा चर्चा गर्दै प्रा.डा.सुरेन्द्र के.सी.ले राजनीतिका माध्यमबाट समाजमा परिवर्तन भएको भए पनि नेतृत्वमा मानसिक रूपान्तरण नभएकाले जनताको तहबाट रूपान्तरणको अनुभूति हुन नसकेको, सबै क्षेत्रमा निर्घिणी चरित्र विकसित भएको, धार्मिक क्षेत्रमा जति रूपान्तरण हुनु पर्ने थियो हुँदै नभएका कारण अन्य धार्मिक सम्प्रदायको अभिवृद्धि भएको; समय, श्रम र मानवको महत्त्व नबुझ्दासम्म वास्तविक रूपान्तरण सम्भव छैन भन्ने मान्यतालाई राजनीतिक क्षेत्रले मूल्याङ्कन गर्न नसकेको; देशमा स्थापित ९३% कलकारखाना बन्द भएका, देशको सम्पूर्ण युवाशक्ति पलायन भएको, परिवर्तनको यात्रा मात्र थालिएको तर व्यवस्थित गर्न र स्थायित्व प्रदान गर्नेतर्फ पटक्कै चिन्ता नगरिएका कारण अपेक्षेति रूपान्तरण हुन नसकेको धारणा राख्नु भयो । त्यसै गरी रूपान्तरण भनेको धार्मिक, बौद्धिक, आर्थिक, राजनीतिक आदि सबै क्षेत्रमा देखिने गरी आउने परिवर्तन हो । मानवको सम्पूर्ण आचरण चाहिँ संस्कृति हो । संस्कृति मूर्त र अमूर्त हुन्छ । मूर्त भनेको प्रत्यक्ष देखिने हो भने अमूर्त भनेको नदेखिने तर अनुभूत गर्ने हो । त्यसैले सांस्कृतिक रूपान्तरणको देखिने गरी सबै क्षेत्रमा थालनी गरी जनताका तहमा अनुभूत गराउन सकेको खण्डमा मात्र साँचो रूपान्तरण हुन्छ भन्ने विचार व्यक्त गर्नु भयो ।
उक्त गोष्ठीमा गोपाल नेपाल, मोहनमणि पोखरेल, नवराज श्रेष्ठ, प्रेम सिलवाल, पूर्ण विराम, गणेशकुमार जी.सी., जगन्नाथ आचार्य रामबहादुर पहाडी, अतीन्द्र दाहाल, प्रशान्त खरेल, रामप्रसाद प्रसाईँ, देवी नेपाल, रूपक अलङ्कार, केशव निश्चल, रसुवाली कवि, अतृप्त पाण्डे, ब्रह्मप्रिय प्रेमस्वरूप, तारा गाउँले, बैरागी जेठा, उर्मिला पन्त पाण्डेय, उमा मिश्र, सङ्गिता सापकोटा, सोझो गाउँले, पुण्य गौतम विश्वास, बूँद राना, रामप्रसाद प्रदीप, रामकृष्ण दुवाल, भागवत आचार्य, गोमा कटुवाल ढुङ्गाना, जीवनकुमार खाचार्य, जी.के.एन. खडेरी, कणाद महिर्ष र डा.घनश्याम परिश्रमीले आआफ्ना गीत, कविता, गजल, हाइकु, तान्का, मुक्तक वाचन गर्नु भएको थियो ।
वाचित रचनामाथि डा.विन्दु शर्माले टिप्पणी गर्नु हुँदै सबै रचनाका विषय वस्तु समसामयिक, राजनीतिक भएका; कवतामा आन्दोलनका कुरा आएका, अवसरवादी प्रवृत्तिको विरोध गरिएका, शैलीगत विविधता रहेको, राष्ट्रको पीडा अभिव्यक्त भएको, विचारलाई प्रतीकात्मक रूपमा तर सशक्त ढङ्गले व्यक्त गरिएको, विभेद र उत्पीडनको विरोध गर्नुका साथै युवा पलायनप्रतिको चिन्ता जाहेर भएको, प्रयोगात्मक विधिको प्रयोग पनि भएको तर आर्थिक पक्ष भने रचनाको विषय बन्न नसकेको विचार व्यक्त गर्नु भयो ।
सभाध्यक्ष राम विनयले विगत तिन दशकदेखि साहित्य सन्ध्याले हरेक महिना नियमित गोष्ठी, छलफल आदि कार्य गरि रहेको, नयाँ तथा पुराना स्रष्टालाई एकै थलोमा भेला गराई कार्यशाला जस्तो ढङ्गले सञ्चालन गरि रहेको, सन्ध्याले स्रष्टालाई सम्मान पनि गरि रहेको र सम्मान गरेका स्रष्टाहरू अहिले पनि सिर्जनाकै माध्यमबाट नेपाली समाजको सामाजिक सांस्कृतिक रूपान्तरणको अभियानमा संलग्न रहेका पाउँदा हामीलाई गौरव बोध भइ रहेको; यो उद्देश्यमूलक आन्दोलन भएकाले प्रतिकूल समयमा पनि सन्ध्यालाई अविच्छिन्न रूपमा सञ्चालन गरिएको मात्र होइन हरेक महिना कुनै न कुनै विषयमा बहस गर्ने गरिएको जानकारी दिनु भयो र आफ्नो अमूल्य समय दिई गोष्ठीमा उपस्थित भइ दिने सबैलाई हार्दिक धन्यवाद दिँदै गोष्ठीको समापन गर्नु भयो ।