रमेश पोखरेल, उपाध्यक्ष, साहित्य सन्ध्या, काठमाडौँ
मितिः २०६९।९।७
साहित्य सन्ध्याको ३२२ औँ विशेष गोष्ठी आज शनिवार १ बजे नेपाल मानविकी क्याम्पस, प्रदर्शनी मार्गमा ‘साहित्यिक पुरस्कारहरूबारे चर्चा तथा विशेष कगिगोष्ठी’ सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष कविगोष्ठीको सञ्चालन सन्ध्याका सदस्य भागवत आचार्यले गर्नु भएको थियो ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालका समकक्षी वयोवृद्ध ८६ बर्से स्रष्टा हर्ष स्याङ्बो, प्रगतिशील लेखक सङ्घका कार्यवाहक अध्यक्ष रामप्रसाद प्रदीप, साहित्यकार अमर गिरी, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, डा. कृष्णप्रसाद घिमिरे र अतीन्द्र दाहाल अतिथिको रूपमा उपस्थित हुनु हुन्थ्यो ।
उक्त विशेष गोष्ठीमा ‘नेपाली साहित्यमा स्थापित पुरस्कारहरू र तिनको प्रभावकारिता’ विषयमा साहित्यकार अमर गिरीले विशद चर्चा गर्दै व्यक्तिले गरेको साहित्यिक कर्मको सम्मान गर्ने पुरस्कारको संस्कृतिलाई राम्रो र सम्माननीय नै मान्नु पर्दछ । नेपालमा ठुला र साना राशिका पुरस्कारहरू उमेर समूह, विधा समूह छुट्याएर राखिएका पाइन्छन् र वैचारिक धरातल अनुसार पुरस्कारहरू विभाजित छन् । प्रज्ञा प्रतिष्ठानले प्रदान गर्ने पुरस्कारमा पनि एक किसिमको मापदण्ड निर्धारित छ, त्यहाँ पनि आग्रहले काम गरि रहेको हुन्छ । प्रगतिशील र गैर प्रगतिशील पुरस्कार स्थापित पाइन्छन तिनमा प्रगतिशील पुरस्कार केही सकारात्मक र समाज रूपान्तरणलाई मूल्याङकनको मापदण्ड बनाउँने खालका रहेका देखिन्छन् । कतै न कतै विचार वा आग्रह पनि जोडेर आआफ्ना उद्देश्य अनुसार स्थापित र तदनुरूप नै वितरण गर्ने प्रचलनको अभ्यास पुरस्कार संसथापकहरूले गरि रहेको देखिन्छ । पुरस्कार भनेको बिलकुलै वैयक्तिक विषय हुँदैन, स्रष्टा व्यक्ति मात्र नभएर समष्टि पनि हुन्छ तर पुरस्कारको भने रणनिित र कार्यनीति रहेको देखिन्छ अनि पुरस्कारले यदाकदा राजनीति पनि गर्ने गरेको पाइन्छ । यद्यपि पुरस्कारमा विसङ्गति छन्, स्थापनमा, प्रदान गरिने मापदण्ड चयनमा, छनोट समिति तथा निर्णय गर्ने प्रक्रिया आदिमा अपारदर्शिता रहेको पाइन्छ । स्रष्टाको प्रतिभाभन्दा पनि निकटता र आग्रहका आधारमा पुरस्कार दिइने परम्परा पनि हामीकहाँ पाइन्छ जसले गर्दा पुरस्कार विशुद्ध सम्मानको विषय नभइ रहेको अवस्था छ भन्ने दृष्टकोण प्रस्तुत गर्नु भयो ।
गोष्ठीको प्रारम्भ नेपाली साहित्यको इतिहास, खोज अनुसन्धान, लोक साहित्य तथा लोक संस्कृतिका विद्वान साहित्यकार पूर्णप्रकाश नेपाल ‘यात्री’को हालै निधन भएकोमा १ मिनेट मौन धारण गरी प्रारम्भ गरिएको गोष्ठीको समुद्घाटन गोष्ठीका अध्यक्ष राम विनको कविता वाचनबाट भएको थियो र उक्त गोष्ठीमा हर्ष स्याङ्बो, रामप्रसाद प्रदीप, अमर गिरी, प्रेमराज सिलवाल, रमेश गौतम पाल्पाली, प्रशान्त खरेल, गोपाल नेपाल, गोविन्द लम्साल, वैरागी जेठा, बालकवि द्वय रोमी नेपाल र जोनी नेपाल, लक्ष्मण गाम्नागे, हेमराज अधिकारी, सरु आस्था, भागवत आचार्य, कृष्णदेव रिमाल, उमा मिश्र, मीना ज्ञवाली, रसुवाली कवि, प्रमोद स्नेही, विवेक अधिकारी, ध्रुवराज घिमिरे, पुण्य गौतम ‘विश्वास’, केशवराज निश्चल, बालाकृष्ण अधिकारी, कोइराला सूर्यकिरण, शिशिर भट्टराई र विवेक ओझाले आआफ्ना कविता, गीत, गजल वाचन गर्नु भएको थियो ।
वाचित कवितामाथि समीक्षक अतीन्द्र दाहालले टिप्पणी गर्नु हुँदै कविताहरू समसामयिक धारामा लेखिएका, विषयको विविधता रहेको र राष्ट्रियदेखि अन्तर्राष्ट्रिय विषय समेटिएका, सुन्दर बिम्ब तथा प्रतीकको प्रयोग गरिएका, प्रस्तुतिको शैैलीमा नवीनता देखा परेको, बालकदेखि वृद्धसम्मले कविता वाचन गरेको अवस्थालाई हेर्दा गोष्ठी उपलब्धिमूलक रहेको धारणा राख्नु भयो ।
उपस्थित अतिथिज्यूहरू, आमन्त्रित व्यक्तित्वहरू सबैलाई धन्यवाद दिँदै साहित्य सन्ध्याले साहित्यका माध्यमबाट सामाजिक, साँस्कृतिक रूपान्तरण गर्ने उद्देश्यले थालनी गरेको अभियानको यात्राले लामो फड्को मारेको, अविच्छिन्न मासिक गोष्ठी गरी साहित्यका माध्यमबाट समाजिक रूपान्तरणको अभियान सञ्चालन गरि रहेको भए पनि क्याम्पसको कोठाबाट बाहिर भने ल्याउन नसकिएकोले यसका लागि सहयोग गर्न सक्नेले सहयोग गर्न आग्रह पनि गर्नु भयो र आगामी महिना फेरि कुनै विशेष कार्यक्रम सहित यहाँहरू सबैलाई उपस्थितिको आग्रह गरिने भन्दै गोष्ठीको समापन गर्नु भयो ।