‘साहित्य सिर्जनामा विचार’बारे विशद् चर्चा

मितिः २०७०।४।५
रमेश पोखरेल

नेपाली कम्युनिस्ट आन्दोलनका शीर्षस्थ व्यक्तित्व पुष्पलालको स्मृति दिवसको अवसरमा साहित्य सन्ध्या र जन साहित्यिक मञ्च, नेपालको संयुक्त आयोजनामा सन्ध्याको ३२९ औँ विशेष गोष्ठी आज शनिवार १ बजे नेपाल वार एसोसिएसनको सभाकक्षमा ‘साहित्य सिर्जनामा विचार’ विषयमा विशद् चर्चा तथा कविगोष्ठी आयोजना गरी सम्पन्न भयो । दुबै संस्थाका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष गोष्ठीको सञ्चालन जन साहित्यिक मञ्च, नेपालका महासचिव विनोद मञ्जनले गर्नु भएको थियो भने स्वागत रमेश पोखरेलले गर्नु भएको थियो ।

sandhya - 05042070-1 sandhya - 05042070-4

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त गोष्ठीमा नेकपा एमाले केन्द्रीय सल्लाहकार समितिका लक्ष्मीभक्त उपाध्याय, प्राज्ञहरू विष्णु प्रभात, बूँद राना र सुलोचना मानन्धर, राष्ट्रिय जन सांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई, उपाध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरी, महासचिव राजेश थापा, महासङ्घकी सल्लाहकार शान्ता मानवी, प्रा.डा.कृष्णचन्द्र शर्मा, प्रा.डा.कृष्णप्रसाद घिमिरे, पुष्पलालका समकक्षी हर्ष स्याङ्बो, जन साहित्यिक मञ्च, नेपालका सल्लाहकारहरू वासुदेव अधिकारी, अच्युत पराजुली, सीताराम नेपाल तथा अनिल पौडेल अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।

sandhya - 05042070-2

प्रा.डा.कृष्णचन्द्र शर्माले २०२४ सालमा नेपाल कम्युनिस्ट पार्टीको घोषणा पत्र अनुवाद गर्ने, पार्टीभित्र शुद्धीकरण आवश्यक हुन्छ भन्ने विचार राख्ने, संयुक्त जन आन्दोलन आवश्यक छ भन्ने घोषणा गर्ने, मातृसत्ताका पक्षधर, मान्छे र पार्टीको जीवनमा आर्थिक व्यवस्थापन पनि प्रमुख कुरा हो भन्ने उच्च आदर्श बोक्ने नेपाली कम्युनिस्ट आन्दोलनका शीर्षस्थ व्यक्तित्वको स्मृतिमा आयोजित विशेष समारोहमा साहित्य सिर्जनामा विचार विषयक लामो अवधारणा पत्र प्रस्तुत गर्दै साहित्यमा विचार तथा चिन्तन आवश्यक छ भन्ने दृष्टिकोण सर्व प्रथम हेगेलले अगाडि सारेका; कान्टले मान्छे उमेरले परिपक्व हुँदैन जब ऊ ठिक बेठिक छुट्याउन सक्ने हुन्छ तब मात्र परिपक्व हुन्छ भनेका; गीताले ‘मान्छे न जन्मन्छ न मर्छ, यो त आउने जाने प्रक्रिया हो’ भनेको छ, त्यसै गरी शुकरातले आफू मर्ने वेलामा रुने शिष्यलाई ‘मर्नु भनेको रुनु पर्ने कुरा होइन, यो त चोला फेरेको मात्र हो’ भनेका छन् तर यी सबै कुराहरू गलत हुन् भन्दै –‘भौतिक कुराहरूमाथि विचारको लेपन आवश्यक हुन्छ अर्थात् विचारलाई भौतिकतासँग गाँस्ने काम कार्ल माक्र्सले गरेका हुन् । यद्यपि समाजमा भड्काउवादी, विचलनवादी, विकृत कुराहरू पनि विद्यमान छन् । पाश्चात्य स्रष्टा अल्जुजा विचारधाराका भरपर्दा सम्बाहक हुन् र उनी भन्छन् –‘विचारधाराको सम्बन्धले पहिचान बन्दछ अनि पहिचानका विविध प्रकार वा माध्यम हुन्छन् ।’ अहिले संसारमा दुइटा विचारधारा प्रचलनमा रहेका, एउटा माक्र्सवाद हो जसले क्षेत्रीयता वा सिमानालाई मान्दैन, सार्वभौम हुन्छ भने अर्का बहु पहिचानको विचार ।

sandhya - 05042070-3

माथिका केही दृष्टान्तले साहित्यमा विचारको पक्षलाई वकालत गरेका, अन्तर्राष्ट्रिय संस्कृतिलाई लेखनको विषय बनाइँनु पर्ने; नेपाली समाजका विकृति, विसङ्गति, अन्याय, अत्याचार, छुवाछुत आदि सम्पूर्ण पक्षलाई उजागर गरी साहित्य सिर्जना गरिनु पर्ने; समाजमा स्थापित लोक भाखा बुढो पुस्तासँगै समाप्त हुन लागेकाले तिनको संरक्षण गरिनु पर्ने; विभिन्न जातजातिका कला, निम्न मध्यम वर्गीयका पीडा तथा समस्या उजागर गरी लेखिनु पर्ने; समाजसँगै अन्तरक्रिया गरी जनताका निम्ति साहित्य लेखिनु पर्ने; रुसका साहित्यकारहरूका (विशेष गरी प्लेखानोभ) अनुसार पनि साहित्य शास्त्रीय होइन जनशैलीलाई लिएर लेखिनु पर्ने, सुबोध्य हुनु पर्ने, व्यक्ति तथा समाजलाई समृद्ध पार्ने दिशामा साहित्य केन्द्रित हुनु पर्ने; लेखकले समाजसँग आवद्ध हुनु पर्ने र समाजका भोगाइसँग भिजेको साहित्य लेखिनु पर्ने धारणा राखेका छन् । वास्तवमा साहित्य भनेको जीवन र विचारको अन्तरसम्बन्धको सुन्दर समन्वय हो; दिल, दिमागको समर्पण युक्त भोगाइ हो भन्ने धारणा सहित विस्तृतमा चर्चा गर्नु भयो ।

sandhya - 05042070-7 sandhya - 05042070-8

उक्त समारोहमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घका अध्यक्ष खेगेन्द्र राई, उपाध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरी, सल्लाहकार शान्ता मानवी, प्रा.डा. कृष्णप्रसाद घिमिरे र लक्ष्मीभक्त उपाध्यायले साहित्यमा विचार महत्त्वपूर्ण हुने र त्यसलाई कलाले सुन्दर पार्नु पर्ने अनि साहित्य सदैव सुबोध्य एवम् जनताको लागि हुनु पर्ने; गाउँ गाउँमा गएर अध्ययन गरेर यथार्थपरक ढङ्गले साहित्य सिर्जना गरिनु पर्ने, चिन्तन जहिले पनि सकारात्मक हुनु पर्ने; साहित्यमा युवा बिदेसिनुको पीडा, हत्या, हिंसाका क्रूरता, अशिक्षा, गरिबी, सुरक्षा विहीनता, वेरोजगारी जस्ता समस्यालाई उजागर गरी साहित्य सिर्जना गरिनु पर्ने; नयाँ पुस्ता विचार विहीन भइ रहेकोतर्फ गम्भीर बन्नु पर्ने, पाश्चात्य दासताको सिकार त हाम्रो राजनीति भइ रहेको छैन ? यसतर्फ पनि स्रष्टाको दृष्टिकोण पुग्नु पर्ने विचार व्यक्त गर्नु भयो ।

sandhya - 05042070-5

प्रमुख अतिथि उपकूलपति गङ्गाप्रसाद उप्रेतीले चाहेर होस् या नचाहेर पुष्पलाललाई आदर्श मानेर कम्युनिस्ट पार्टीहरू राजनीतिमा रहेकाले पुष्पलालको महत्ता बोध भइ रहेको; नेपाली समाजको बनोटलाई, सामाजिक संरचना र पहिचान खल्बल्याउने, खण्डित गर्ने काम आज भइ रहेकाले स्रष्टाले अत्यन्त सचेत भएर साहित्य सिर्जना गर्नु पर्ने; जनतामा आएको निराशालाई आशामा बदल्ने साहित्य सिर्जना गर्नु पर्ने हालको अवस्थालाई विचार गरी बौद्धिक ऊर्जा प्रदान गर्ने यस्तो गम्भीर खालको कार्यक्रमको आयोजना गर्ने आयोजक संस्थालाई पनि हार्दिक धन्यवाद भन्नु भयो ।

sandhya - 05042070-6

गोष्ठीमा बालकविहरू जोनी नेपाल र रोमी नेपाल, वरिष्ठ गजलकार रामबहादुर पहाडी, इन्दु अंशु जटारे, जगन्नाथ आचार्य, प्राज्ञ द्वय रामकृष्ण दुवाल र बूँद रानाले आआफ्ना कविता, गीत, गजल, वाचन गर्नु भएको थियो ।

sandhya - 05042070-9 sandhya - 05042070-10

गोष्ठीका अध्यक्ष राम विनयले पुष्पलालको स्मृति दिवसको अवसर पारेर आयोजना गरिएको यो विशेष कार्यक्रममा महत्त्वपूर्ण अवधारणा प्रस्तुत गर्ने प्रा.डा.कृष्णचन्द्र शर्मा, अन्य अतिथिहरू एवम् प्रमुख अतिथि उपकूलपति गङ्गाप्रसाद उप्रेती लगायत सबै उपस्थित व्यक्तित्वलाई हार्दिक धन्यवाद दिँदै गोष्ठीको समापन गर्नु भयो र पुष्पलालमा समर्पित एउटा कविता वाचन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *