अविरल जन साहित्य यात्रा–१६ मा प्रगतिवादी कवि रमेश श्रेष्ठका प्रतिनिधि कविता वाचन

मिति २०७२।४।९।७
रमेश पोखरेल,

साउन ९ गते शनिवार अपराह्न ठिक १.० बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घको  सभाकक्षमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घको आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा ‘अविरल जन साहित्य यात्रा–१६’ सम्पन्न भयो । हरेक महिनाको दोस्रो शुक्रवार पारेर ठिक ३ बजे महासङ्घको सभाकक्षमा वरिष्ठदेखि हालसम्मका साहित्यकारका एकल रचना वाचन गर्ने विशेष कार्यक्रम निरन्तर रूपमा सम्पन्न गर्ने यो अभियानको सोरौँ शृङ्खला प्राविधिक कारणले हिजोको साटो आज शनिवार सम्पन्न गर्न लागिएको जानकारी सहित जन साहित्यिक मञ्च, नेपालका महासचिव विनोद मञ्जनले कार्यक्रमको सञ्चालन गर्दै उक्त विशेष समारोहका प्रमुख अतिथि वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् संस्कृतिविद् डा.मोदनाथ प्रश्रितलाई प्रमुख अतिथिको आसन ग्रहणका लागि आग्रह गर्नु भयो । समारोहको अध्यक्षता जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले गर्नु भएको थियो भने विशिष्ट अतिथि नेकपा एमाले केन्द्रीय सदस्य, संस्कृति विभाग प्रमुख एवम् राष्ट्रिय जन सांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई उपस्थित हुनु हुन्थ्यो । अतिथिहरूमा वरिष्ठ साहित्यकार आनन्ददेव भट्ट, जन गायक रामकृष्ण दुवाल, वरिष्ठ साहित्यकार रामप्रसाद प्रदीप, समालोचक प्रा.डा.कृष्णप्रसाद घिमिरे, प्रा.केशव सुवेदी, वरिष्ठ कवि एवम् प्राज्ञ पूर्ण विराम, राष्ट्रिय जन सांस्कृतिक महासङ्घका महासचिव राजेश थापा, सचिव द्वय प्रेमनाथ अधिकारी र कालिका पाठक, कोषाध्यक्ष भूमिका सुब्बा, सहकोषाध्यक्ष जङ्ग पहाडी उपस्थित हुनु हुन्थ्यो ।
अविरल जन साहित्य यात्राका थालनी कर्ता वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् संस्कृतिविद् डा.मोदनाथ प्रश्रितलाई अर्पण गर्न तयार पारिएको सम्मान पत्र अघिल्लो कार्यक्रममा प्रश्रित उपत्यका बाहिर रहनु भएकाले आजको कार्यक्रममा महासङ्घका अध्यक्ष खगेन्द्र राईले अर्पण गर्नु भयो । त्यसपछि प्रमुख अतिथि डा.मोदनाथ प्रश्रितले आजको कार्यक्रमका प्रमुख नायक कवि रमेश श्रेष्ठलाई माल्यार्पण गरी समारोहमा स्वागत गर्नु भयो मञ्चमा आसन ग्रहण गराइयो । त्यसै गरी उहाँलाई कविता वाचनमा सहयोग गर्ने कवि जयन्ती स्पन्दनलाई अनि टिप्पणीकार प्रा.डा.कृष्णप्रसाद घिमिरेलाई पनि प्रमुख अतिथिले टीका र खादा लगाइ दिएर मञ्चमा आसन ग्रहण गराइयो ।

सभाध्यक्ष जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले सबैलाई स्वागत गर्नु हुँदै देशभरि छरिएर रहेका सामाजिक रूपान्तरणको अभियानमा साहित्यलाई साधन बनाएर होमिएका स्रष्टाहरूलाई उपस्थित गराएर उनीहरूको व्यक्तित्व चर्चा गर्ने र उजागर गर्ने उद्देश्यमूलक यो विशेष खालको समारोहमा आज पोखरालाई कर्मथलो बनाएर चित्रकला र साहित्यका माध्यमबाट समाजिक रूपान्तरणको कलात्मक र वैचारिक अभियानमा संलग्न भइ रहनु भएका स्रष्टा प्राज्ञ रमेश श्रेष्ठलाई आमन्त्रण गरिएको र उहाँ पनि निम्ता स्विकार गरी उपस्थित भइ दिनु भएको हुँदा उहाँ सहित सबैमा हार्दिक आभार व्यक्त गर्नु भयो ।

प्रगतिवादी कवि प्राज्ञ रमेश श्रेष्ठको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै जन साहित्यिक मञ्च, नेपालको काव्य विभागकी संयोजक डा.विन्दु शर्माले २०२२ सालमा पोखरमा जन्मेका प्रगतिवादी कवि एवम् चित्रकार रमेश श्रेष्ठले २०५२ सालमै एउटा गीत सङ्ग्रह प्रकाशित गर्नु भएको र त्यसपछि ‘चराहरूको पहाड’, ‘घाम खोजि रहेकी केटी’ लगायत एक दर्जन कृति प्रकाशित गरि सक्नु भएको, एकल चित्रकला प्रदर्शनी गरि सक्नु भएको, थुप्रै प्रतीक चिह्न र डिजाइन निर्माण गर्नु भएको, केही साहित्यिक पत्रिका तथा पुस्तकको सम्पादन गर्नु भएको, ग्रामीण जन जीवनको चित्रणमा बढी रुचि राख्दै संरक्षण कविता लेखनमा सक्रिय रहनु भएको, उहाँको कविता लेखनमा विषय प्रस्तुतिमा दृश्यात्मकता पाइँने, शैलीमा वर्णनात्मकता, सशक्त विम्बको प्रयोग, उत्पीडित वर्गको पक्षमा वकालत, कवितामा पर्यावरण संरक्षणको चेतना सम्प्रेषण गर्ने, माक्र्सवादी पर्यावरणीय चेतना कवितामा अभिव्यक्त गर्ने, चित्रकला र कविता सिर्जनालाई सँगसँगै लगेर एउटै उचाइमा पुर्याउन सक्ने क्षमता रहेको पाइएकाले सफल कवि हुनु भएको धारणा राख्नु भयो ।

विशेष समारोहका आकर्षण प्रगतिवादी कवि प्राज्ञ रमेश श्रेष्ठले राष्ट्रिय जन सांस्कृतिक महासङ्घ र यसको सक्रिय घटक संस्था जन साहित्यिक मञ्च, नेपालले चलाई रहेको यो गरिमामय अभियानमा उपस्थित भएर आफ्ना आदरणीय अग्रजका सामु कविता वाचन गर्ने यो अवसर आफ्नालागि ऊर्जामय उज्यालो हुने छ, आफू जीवनलाई सिर्जनात्मक रङले निखार्ने प्रयत्नमा बढि रहेको, जीवन कहिल्यै पूर्ण हुँदैन सिकि रहनु पर्छ भन्ने मान्यता राख्ने, सुनको सौन्दर्य कालिगढको सिपमा देखिए झैँ कविता सिर्जनामा पनि कविको शिल्य आवश्यक हुन्छ भन्ने ठान्ने, मन दुखेको वेला कविता सिर्जना गर्ने अनि विचार र समयको मागलाई सन्तुलन मिलाएर कविता सिर्जना गर्नु पर्छ भन्ने मान्यता राखेर कविता सिर्जना गर्ने हुँदा यसै सेरोफेरोमा रचना गरिएका कविता यहाँहरूमाझ प्रस्तुत गर्छु भन्दै कविता वाचनको थालनी गर्नु भयो । कविले ‘मेरो बिहानको शुभारम्म’, ‘पहाड छैन’, ‘नदी उत्सव’, ‘कविको देश’, ‘ईश्वरको हत्या’, ‘बाघ’, ‘गिद्धस्वप्न’, ‘कविताको उज्यालो’, ‘सम्पादकलाई चिठी’, ‘माटो’, ‘आमा र अक्षरहरू’, ‘कवि र देश’, ‘प्रार्थना’, ‘म्युजियम’, ‘कविताको अस्पताल’, ‘शिर’ र ‘उत्कण्ठा विम्ब’ शीर्षकका सशक्त एवम् प्रतीकात्मक कविता वाचन गर्नु भयो ।  सहयोगी कवि जयन्ती स्पन्दनले ‘काली दमिनी’ शीर्षकको त्यत्तिकै सशक्त एवम् विम्बात्मक कविता वाचन गर्नु भयो ।

समालोचक प्रा.डा.कृष्णप्रसाद घिमिरेले प्राज्ञ रमेश श्रेष्ठका वाचित कवितामाथि टिप्पणी गर्नु हुँदै कवितामा माक्र्सवादी चिन्तन स्पष्ट देखा परेको, विम्ब र प्रतीकको सुन्दर संयोजन पाइएको, द्वन्द्वको अवस्थाको मर्मस्पर्शी चित्रण गरिएको, समाज रूपान्तरणको स्पष्ट सन्देश कविताले दिएका, हिंस्रक गिद्ध र शान्तिका प्रतीक बुद्धलाई कवितामा तुलनात्मक रूपमा प्रस्तुत गर्दै हिंस्रकले अहिंसाको कुरा गर्नु सम्भव छैन भन्ने सुन्दर विम्ब प्रस्तुत गरेको, कविताहरूमा विचारको गहिरो प्रस्तति रहेको, निम्न वर्गका पात्रको पीडादायी चित्रण अनि उनीहरूको त्याग र समर्पणको मूल्याङ्कनको आग्रह कवितामा गरिएको, प्रकृतिको मानवीकरण गर्दै प्रयोगवादी शैलीको प्रयोग गरिएको; सुन्दर, शालीन र शीष्ट शैली अनुकरणीय रहेको, अग्रजबाट प्रभावित भएको स्विाकारोक्ति आएको, जीवन चेतनाको सुन्दर प्रस्तुति कवितामा रहेको, भविष्यप्रतिको चेतनशील दृष्टि समेटिएको, मानव कल्याणको आग्रह कविताले गरेका, कुनै कुनै कवितामा तिखो व्यङ्ग्य सहित आलोचनात्मक यथार्थवादी दृष्टि प्रस्तुत भएको, बहुअर्थी शब्दको चयन र विम्बको प्रयोगको आधिक्य रहेको, कवितामा समस्या उजागर गरी तिनका कारण समेत उजागर गरि दिने अनि समाधानको बाटो पनि देखाइ दिने शैली निकै प्रभावकारी रहेको, विम्ब प्रयोगको शैली हेर्दा कवि भूपी शेरचनका अनुयायी जस्ता देखिएका पाइएको धारणा राख्नु हुँदै कुनै कुनै कवितामा विचार पक्ष अलि शिथिल बनेकोले ध्यान दिई काल चेतना सशक्त पार्नु पर्ने र कवितामा रचना समय उल्लेख गरि दिए राम्रो हुने सुझाब समेत दिनु भयो ।

विशिष्ट अतिथि खगेन्द राईले कवि रमेश श्रेष्ठका डेढ दर्जन कविता सुन्न पाइएको र ती कवितामाथि समालोचक प्रा.डा.कृष्णप्रसाद घिमिरेले मसिनो समालोचना समेत प्रस्तुत गरि सक्नु भएकाले कार्यक्रम फलदायी भएको, महासङ्घका अन्य घटकले पनि हरेक महिना केही न केही विशिष्ट कार्यक्रम सम्पन्न गरि रहेका हुँदा महासङ्घले समन्वयकारी भूमिका मात्र निर्वाह गरि रहेको अनि कार्यक्रमको गुणस्तर निकै वृद्धि भइ रहेकोमा खुसी लागेको विचार सुनाउनु भयो ।
प्रमुख अतिथि डा.मोदनाथ प्रश्रितले कवि रमेश श्रेष्ठ भिन्न खालको शैली र शिल्प लिएर कवितामा देखिएका; बुझिने तर भोगिएका, देखिएका, अनुभूत गरेका विम्बलाई क्रान्ति र परिवर्तनसँग जोडेर प्रयोग गर्ने गरेको पाइएको, कविताभरि नै समयको गतिसँग मिल्ने विम्बको प्रयोग गरिएको पाइएको; हत्यारा, चोर, लुटेरा अङ्गुलीमालहरू बुद्ध बनि दिए वा आफ्ना दुष्कर्मको पश्चाताप गरे समाज बन्छ, जीवन फेर्न सकिन्छ भन्ने शक्तिशाली अर्थयुक्त चिन्तन र सोही अनुसारका विम्ब प्रयोग उनका कवितामा पाइएकाले उनले व्यक्तिगत र संस्थागत रूपमा अझै उचाइ प्राप्त गर्न सकुन्, सर्व साधारणले बुझ्न सक्ने विम्बको प्रयोगमा ध्यान जाओस् भन्ने शुभ कामना दिनु भयो र यस्ता सशक्त कार्यक्रम नियमित रूपमा सम्पन्न गर्ने महासङ्घको आफ्नो भवन निर्माण गर्नु पर्ने र त्यसका लागि आवश्यक ठाने अगुवाइ समेत गर्ने विचार व्यक्त गर्नु भयो ।

उपस्थित सबै साहित्यकारहरूलाई धन्यवाद सहित सभाध्यक्षको अनुमतिले विशेष समारोहको समापन गर्दै जन साहित्यिक मञ्च, नेपालका उपाध्यक्ष रमेश पोखरेलले देशभरि जहाँसुकै रहेर पनि नेपाली समाजको रूपान्तरण अभियानमा योगदान गरि रहने वरिष्ठदेखि हालसम्मका स्रष्टालाई उपस्थित गराएर कविता, गीत, गजल वाचन गर्न लगाउने र स्रष्टाको व्यक्तित्व तथा कृतित्वका बारेमा समीक्षात्मक टिप्पणी गरी व्यक्तित्व उजागर गर्न विशेष सहयोग गर्ने उद्देश्यले सोर महिनाअघि थालनी गरिएको यो कार्यक्रममा पोखरामा रहेर चित्रकला र कविता सिर्जनाका माध्यमबाट अनि वैचारिक प्रखरता सहित सामाजिक रूपान्तरणको अभियानमा होमिएका स्रष्टालाई आमन्त्रण गरी आजको यस विशेष समारोहको आयोजना गरिएको हुँदा हाम्रो निमन्त्रणालाई स्विकारेर आइ दिनु हुने हाम्रा अग्रज एवम् वैचारिक तथा साहित्यिक गुरु प्रमुख अतिथि डा.मोदनाथ प्रश्रितज्यू, विशिष्ट अतिथिज्यू, अतिथिज्यूहरू, समालोचकज्यू, कविता वाचन सहयोगी कवि एवम् उपस्थित साहित्यिक मित्रहरू सबै सबैलाई हार्दिक धन्यवाद भन्दै अर्काे महिनाको कार्यक्रममा मोरङको उर्लाबारीमा रहेर प्रगतिवादी साहित्यमा क्रियाशील वरिष्ठ कवि मिश्र बैजयन्तीलाई प्रस्तुत गरिने जानकारी सहित कार्यक्रमको समापन गर्नु भयो ।

image

image

image

image

image

image
image

image

Leave a Reply

Your email address will not be published. Required fields are marked *