–मुक्तिनाथशर्मा
सम्माननीय प्रधानमन्त्री डा.बाबुराम भटराईले नेपालको पिउने पानी समस्या समाधानका बिषयमा दिनु भएको एउटा महाबाणी एक गाउँ एकपोखरीले यहाँ बिशेष चर्चा पायो । विद्वानहरुले स्विकार गरेका छन त्यो कुरो । यहाँका पत्रपत्रिकामा सकारात्मक प्रतिकृया आए पनि त्यस बिषयमा । किनभने यो आफैमा एउटा महत्वपूर्ण बिषय हो । एक गाउँ एकपोखरीको अवधारणालाई पक्कै पनि गाउँ गाउँमा व्यवहारमा ल्याइन्छ भन्न सकिन्छ । यसबाट सकारात्मक परिणाम निस्कने कुरामा पनि बिस्वस्थ हुन सकिन्छ । किन भने अहिलेको अति आवस्यक र महत्वपूर्ण बिषय यो हो नै । यो कुरो त आवस्यकता आविष्कारकी जननी हुन भने जस्तै हो । किनभने अव नेपालले यो बिषयलाई तुरुन्तै कार्यान्वयनमा नल्याइ नहुने भएको छ ।
एकगाउँ एकपोखरीको अवधारणा त सर्वमान्य विषय भैसक्यो । यस बिषयमा अव धेरै मसी फालिरहन पर्ने आवस्यकता रहेन । यस विषयलाई हावाले नै देशका कुना कुना सम्म पु¥याइसकेको छ । आम जनताले यसलाई स्विकारि सकेका छन । कताकति नस्विकारे पनि बिस्तारै स्विकार्य हुन्छ यो बिषय । किनभने यसो गर्नै पर्ने वाध्यता छ । त्यसैले यो अवस्य लागु हुन्छ भनेर बिस्वास पाल्न सकिन्छ । बरु यहाँ एउटा अर्को कुरा थप गर्न पर्ने छ ,त्यो के हो भने सहरी क्षेत्रमा एकटोल एकपोखरी पनि हुन पनि अति जरुरी छ । किनभने हाम्रा सहरी क्षेत्रमा पानीको समस्या अझै चर्को रुपमा रहेको छ । वास्तवमा अव्यवस्थित बढ्दो सहरीकरणका कारण यस्तो भएको हो । यो समस्या नेपालका प्राय सबै सहरी क्षेत्रमा छ । अतिसय चर्को रुप भने काठमाण्डौ उपत्यकामा रहेको छ । यो एउटा लज्जाजनक बिषय पनि हो । किन भने यो त देशको राजधानी हो ।
यहाँ पनि यस्तो हुनु लज्जाजनक बिषय नभएर अरु के हुन ?
काठमाण्डौ उपत्यकामा जव सहरीकरण चर्को रुपले बिस्तार हुन थाल्यो राज्यले त्यता तिर ध्यानै दिएन । अथवा उसको बुद्धि बिवेकले कामै गरेन । यसको फलस्वरुप न बाटाघाटा सुव्यवस्थित भए न अन्य अत्याबस्यक कुराको दूरदर्शी नीति बनाएर लागु गर्ने बिचार हुनगयो । बाटाहरु जसले जता मन लाग्यो त्यतै घुमायो र आवस्यक चौडाइका हुन पाएनन । बाङ्गाटिङ्गा र साँघुरा भए । सहरका निमित्त आवस्यक पर्ने सार्वजनिक स्थल जस्तै पार्क बनबनेली र पोखरी तथा खेल मैदानको बिचार गरेन मुलुकले । त्यसै गरि आवासीय र खेतीपाती गर्ने जमिन छुट्याउने सोच पनि हुन गएन । प्राकृतिक पानीधारा खेलमैदान तथा बनबनेली सुरक्षित रहेनन । जति जमिन छ घर नै उमारिए । यो उपत्यका त हुदा हुदा सिमन्टीको जङ्गल पो हुन गयो । पोखरी बनाइएन र भएकाको संरक्षण भएन । यसले गर्दा सहर स्वच्छ भएन, पिउने पानीको हाहाकार भयो र जमिन भित्रको पानी अव्यवस्थित किसिमले तान्दातान्दा जमिन भित्रको पानीको सतह घट्न जानाका कारण जमिन भासिने तथा घरहरु भत्कने कुरा यहाँ पोखिन थाले । भू–कम्पका समयमा अझ डरलाग्दो घटना हुने आसंकित कुराले अहिले हामीलाई पिरलेको अवस्था छ । जमिनमा बाहिरको पानी इञ्जेक्ट गरेर रिचार्ज गर्न अति आवस्यक छ भने जस्ता कुरा पोखिएका छन समाजमा । अव हामीले यस बिषयमा कसरि के गर्ने ? तुरुन्तै यस बिषयमा सोचबिचार गर्नपर्ने भएको छ ।
बुद्धिजीवीहरु भन्न थालेका छन अब यो समस्या समाधानका निमित्त सर्बप्रथम एकटोल एकपोखरीको अवधारणालाई अगाडि सार्न पर्ने भएको छ । नगरपालिका, उपमहानगरपालिका तथा महानगरपालिकाले यस बिषयमा तुरुन्तै आवस्यक कारवाही अगाडि बढाउन अति आवस्यक भएको छ । पोखरी निर्माण गर्दा पनि ओरिपरि सिमन्टी लगाइए पनि मैदान त्यसै राख्न जरुरी छ । किनभने पोखरीमा पानी हुदा त्यहाबाट जमिनभित्र पानी जान सक्छ र जमिन भित्रको पानीको सतहलाई यथावत राख्न मद्दत हुन जान्छ । त्यसै गरि ठूला ठूला घर निर्माण गर्नेलाई हरेक घरले एउटा एउटा पोखरी बनाउन पर्ने नियम बनाइ कडाइका साथ पालन गर्न लगाउन अति जूरी भैसकेको छ । साथै नदीका दायाँबायाँ ठाउँठाउँमा सार्बजनिक पोरी निर्माण गर्न पनि पर्ने भएको छ । यसका साथै बनजङ्गल भित्र समेत पोखरी बनाउन पर्ने भएको छ । यसो गरियो भने जमिन भित्रको पानीको सतह जोगिन सक्छ र पोखरीबाट पानी लिन पनि सकिने हुन्छ । ठाउँठाउँमा पोखरी भए भने जमिन रसिलो हुन्छ र यहाँका ढुङ्गेधाराहरु पनि सुक्न पाउदैनन । नदीमा पानी बढ्न सक्छ र ढलको मात्र पानी नदीमा भएर अहिले जसरी दुर्गन्धपूर्ण हावा चलेको अवस्था छ त्यसमा पनि सुधार हुन सक्छ । यसका साथै गारो पर्दा पोखरीबाट पानी झिकि प्रयोगमा ल्याउन पनि हुन्छ । यसो गर्दा बातावरणमा समेत सुधार हुन आउँछ ।
काठमाण्डौ उपत्यकामा अहिले साघुरा सडक फराक बनाउने र ढल निकासलाई सुदृढ बनाउने अभियान अन्तर्गत घरहरु भत्काइदै छन र ढलनिकासका निमित्त ठूला ठूला सिमन्टेड पाइप बिच्छ्याइदै रहेको अवस्था छ । यि ढलको फोहोर पानी नदीमा नै मिसाइने छाँट देखिएको छ । यसो गर्दा निश्चय पनि नदीहरु प्रदुषित हुन्छन । यसको रोक थामका लागि ठाउँ ठाउँमा ठूला ठूला मंगल बनाइ पानी जमिनमा सोस्ने र शुद्ध पानी नदीमा जाने बनाउने तर्फ ध्यान दिन अति जरुरी छ । यसो गरिएन भने निसन्देह नदीप्रदुषण हुन्छ हुन्छ । यसकै कारण यहाँ भयानक रोगव्याधको प्रकोप हमीले व्यहोर्न पर्दैन भन्न सकिदैन । त्यसैले ढलको प्रदुषित पानी नदी किनारको खाली जमिन भित्र पोखरी बनाइ त्यहाबाट केही पानी जमिनले लिन सक्ने बनाइ बाकी रहेको पानीमात्र नदीमा बहाउने प्रविधि अपनाउन पर्ने अवस्था छ । यसले जमिन भित्रको पानीको सतहलाई ठिक ठाउँमा राख्न सक्ने पनि हुन सक्छ ।
काठमाण्डौ उपत्यकाको भू–बनोट हेरेर बिचार गर्नेले बुझ्न सक्छ यहाँ पानीको अभाव वास्तवमा हुदैन । किनभने यसका चारैतिर अग्ला पहाड छन । पहाडमा ठाउँ ठाउँमा पानीका प्राकृतिक मुलछन । ती मुलको पानी खोला खोल्सा भएर बग्दै उपत्यकामा आउने हो । बाग्मती, बिष्णुमती मनोहरा आदि पनि त्यसै गरि भएका हुन । यहाँ बर्षा याममा प्रसस्त पानी हुन्छ जो भलबाढी भएर बहेर जान्छ । यदा कदा त यहाँका अवस्थालाई नै प्रतिकुल असर पार्ने गर्दछ । हिउँदमा पिउने पानी नभएर हामी काकाकुल जस्ता हुन्छौं । अव सोचौंत बर्षा याममा बगेर जाने पानी ठाउँ ठाउँमा पोखरी वा सरोबर बनाएर हिउँदमा अड्कली अड्कली प्रयोग गर्दा कति सुख हुन्छ ? यस तर्फ पनि हामीले सोच्नु पर्ने भएको छ । एक गाउँ एकपोखरी र एकटोल एकपोखरी अभियान सञ्चालन गरेको अवस्थामा हामीलाई पानीको समस्या हुदैन । त्यसै गरि प्रदुषणमा पनि सुधार आउन सक्छ । तसर्थ मुलुकले यतातिर सोच्न जरुरी देखिन्छ ।
यहाँ अर्को कुरा पनि बिचार योग्य छ त्यो के भने यहाँका नदीहरु प्रतिबर्ष गहिरिदै गएका छन । यसकारण पनि जमिन भित्र पानी रिचार्ज हुन पाएको छैन । त्यसैले नदीहरुमा ठाउँ ठाउँमा पर्खाल बनाइ नदीलाई गहिरिनबाट रोक्न तलाउ बनाउन पाएमा त्यहाबाट पनि जमिन भित्र पानी रिचार्ज हुन सक्छ र जमिन भासिने खतडाबाट जोगिन सकिन्छ । यता तिर पनि मुलुकले सोच बिचार गर्न पर्ने देखिन्छ । अस्तु ।
(यो लेख २०६९ भदौ २०गते साप्ताहिक राष्ट्रबाणीमा प्रकासित भएको छ )