विख्यात समालोचक गोविन्द भट्टको नामबाट रु.५०,०००।– राशिको पुरस्कार प्रदान गरिने

विगत चार दशकभन्दा बढी समयदेखि नेपाली साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानसमेत सञ्चालन गरिरहेको साहित्य सन्ध्याले अविच्छिन्न नियमित मासिक गोष्ठी सञ्चालन गर्नुका साथै रु.२१,१००।– राशिको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’का अतिरिक्त रु.१०,०००।– राशिको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’, रु.१०,०००।– राशिको ‘साहित्य सन्ध्या–कृबा पुरस्कार तथा सम्मान’, रु.१०,०००।– राशिको ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार’, रु.५,०००।– राशिको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको थियो ।
विख्यात समालोचक, सशक्त कवि, निबन्धकार एवम् चिन्तक गोविन्द भट्टका नाममा कुनै पुरस्कार तथा सम्मान स्थापना नभएको हुँदा साहित्य सन्ध्याका परिकल्पनाकार, वरिष्ठ साहित्यकार, प्राध्यापक एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्य सन्ध्यासँगको सहकार्यमा नेपाली समालोचना, निबन्ध, दर्शन र कवितामध्ये कुनै एक विधामा सशक्त रूपमा कलम चलाइरहेका एकजना साहित्यकारलाई रु.५०,०००।–(पचास हजार) राशिको साहित्य सन्ध्या–गोविन्द भट्ट समालोचना÷निबन्ध÷कविता पुरस्कार तथा सम्मान’ (चारमध्ये कुनै एक विधाबाट) यसै वर्षदेखि ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’का नामबाट अर्पण गर्नेगरी अक्षय कोष स्थापना गरिदिने सहमति भई आज प्रजातन्त्र दिवसको शुभ अवसरमा सम्झौता गरिएको छ ।
यो पुरस्कारले अत्यन्त खँदिला एवम् गहकिला स्रष्टा गोविन्द भट्टको यथोचित सम्मान हुने छ भन्ने विश्वास गरिएको छ । साथै साहित्य सन्ध्यासँग सहकार्य गरिदिनुहुने अग्रज एवम् सिद्धहस्त स्रष्टा गङ्गाप्रसाद उप्रेतीज्यूमा हार्दिक आभारसमेत व्यक्त गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *