२०८२ माघ ३ गते शनिबार अपराह्न १ बजे रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा साहित्य सन्ध्याको ४७२ औँ नियमित मासिक शृङ्खला सम्पन्न भएको छ। कार्यक्रममा ‘जेन्जी आन्दोलन र त्यसले मुलुकमा पारेको प्रभाव’ विषयमा परिचर्चाका साथै कविगोष्ठी आयोजना गरिएको थियो।
साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विश्लेषक प्रा.डा. सुरेन्द्र के.सी. प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा प्राज्ञ नर्मदेश्वरी सत्याल, सल्लाहकार वासुदेव अधिकारी, वयोवृद्ध स्रष्टा बेनीबहादुर थापा, नियात्राकार पोषरमण चापागाईँ, डा. गोविन्दप्रसाद आचार्य, डा. कृष्ण सुवेदी, नन्दु उप्रेती, तारक धिताल, रत्ननिधि रेग्मी, राममणि ढुङ्गेल, महेशराज खरेल, डम्बर पहाडी ‘एलाक’लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन सचिव जयन्ती स्पन्दनले गर्नुभएको थियो। परिचर्चामा बोल्दै प्रा.डा. सुरेन्द्र के.सी.ले भदौ २३ र २४ गते मुलुकमा भएको जेन्जी आन्दोलन र त्यसले पारेको प्रभावबारे विस्तृत विश्लेषण प्रस्तुत गर्नुभयो। उहाँका अनुसार शासनसत्ता सञ्चालन गर्ने नेतृत्वले जनताको अपेक्षा तथा विशेषगरी युवापुस्ताको आकांक्षालाई बेवास्ता गर्दा विद्रोहको अवस्था सिर्जना हुने गर्छ। सामाजिक सञ्जालका माध्यमबाट नवपुस्ता परिचालित भई असन्तुष्टिका स्वर प्रखर रूपमा व्यक्त भएको उहाँले बताउनुभयो।
उहाँले दण्डहीनता, भ्रष्टाचार र सुशासनको अभावले समाजमा निराशा र अन्योल बढाउँदै लगेको उल्लेख गर्दै यस्ता परिस्थितिले विद्रोहलाई जन्म दिने बताउनुभयो। सहकारी क्षेत्रमा भएको ठूलो आर्थिक अनियमितता, कारबाहीको कमजोरी तथा राजनीतिक अस्थिरताले जनतामा वितृष्णा बढाएको उहाँको भनाइ थियो। यस्ता घटनाको गहिरो अध्ययन नगरे यस्ता विद्रोह दोहोरिरहने र मुलुक अस्थिरतामा फसिरहने खतरा रहेको उहाँले औँल्याउनुभयो।
सो अवसरमा ओमप्रसाद कोइराला, सञ्जय सोती, भोवलाल श्रेष्ठ, रत्ननिधि रेग्मी, सुशिला प्रधानाङ्ग, वासुदेव अधिकारी, डम्बर पहाडी ‘एलाक’, नवराज श्रेष्ठ, डा. मनोज जोशी, बेनीबहादुर थापा, पोषरमण चापागाईँ, राममणि ढुङ्गेल, नगेन्द्रप्रसाद पौड्याल, बलराम विष्ट, डा. गोविन्दप्रसाद आचार्य, दिनेशराज खरेल, लक्ष्मण तिमिल्सिना, कुमार नेपाल, नन्दु उप्रेती, महेशराज खरेल, तारक धिताल, बैरागी जेठा, धनबहादुर मगर, केशव घिमिरे र मुक्तिनाथ आचार्यले समसामयिक विषयमा कविता, गीत, गजल, मुक्तक तथा एलाक वाचन गर्नुभएको थियो।
वाचित रचनामाथि टिप्पणी गर्दै प्राज्ञ नर्मदेश्वरी सत्यालले कार्यक्रममा दुई दर्जन स्रष्टाका सिर्जना प्रस्तुत भएको उल्लेख गर्नुभयो। उहाँले अधिकांश सिर्जनाले समसामयिक यथार्थलाई प्रभावकारी रूपमा चित्रण गरेको बताउँदै स्रष्टाले समाजबाट विषयवस्तु लिएर विचार र कलाको संयोजनमार्फत समाजोपयोगी सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
समारोहका अध्यक्ष राम विनयले साहित्य सन्ध्या एक प्रकारको सिर्जनात्मक कार्यशाला भएको उल्लेख गर्नुभयो। वि.सं. २०३९ पुस २ गते नेपाल ल क्याम्पसबाट सुरु भएको यस संस्थाले साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियानलाई निरन्तरता दिइरहेको बताउँदै उहाँले पछिल्लो समय नयाँ स्रष्टाको सहभागिता अपेक्षाकृत कम भएकोमा चिन्ता व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रा.डा. सुरेन्द्र के.सी.ले समसामयिक विषयमा विशद चर्चा गर्नुभएको र २४ जना स्रष्टाले सिर्जना वाचन गरेको उल्लेख गर्दै उहाँले साहित्यकारहरूले सत्य र न्यायका पक्षमा उभिनुपर्ने आवश्यकता औँल्याउनुभयो। उपस्थित प्रमुख अतिथि, अतिथि तथा सहभागीप्रति आभार व्यक्त गर्दै उहाँले आगामी महिनामा पनि यस्तै विषयमा परिचर्चा र कविगोष्ठी आयोजना गरिने जानकारीसहित कार्यक्रमको समापन गर्नुभयो।
