२०८२ फागुन २ गते शनिबार अपराह्न १ बजे आर.आर. क्याम्पस, प्रदर्शनीमार्गमा साहित्य सन्ध्याको नियमित मासिक ४७३ औँ शृङ्खला सम्पन्न भएको छ। कार्यक्रममा ‘प्रगतिवाद र नारीवाद’ विषयमा परिचर्चा तथा विशेष कविगोष्ठी आयोजना गरिएको थियो।
साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा तथा कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा समालोचक डा. विन्दु शर्मा विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा रामबहादुर पहारी, नर्मदेश्वरी सत्याल, डा. गोविन्दप्रसाद आचार्य, रूपक अलङ्कार, पोषरमण चापागाईँ, गायत्रीकुमार चापागाईँ, महेशराज खरेल, ओमप्रसाद कोइरालालगायत स्रष्टाहरूको उपस्थिति रहेको थियो।
परिचर्चामा बोल्दै डा. विन्दु शर्माले प्रगतिवाद र नारीवादबिचको सम्बन्ध तथा भिन्नताबारे विस्तृत धारणा राख्नुभयो। उहाँका अनुसार प्रगतिवाद माक्र्सवादी तथा समाजवादी दृष्टिकोणमा आधारित विचारधारा हो, जसले समाजको यथार्थ चित्रण मात्र होइन, भविष्यको समतामूलक समाजको दिशातर्फ सङ्केत पनि गर्दछ। नारीवादले भने महिलामाथि पितृसत्तात्मक समाजले सिर्जना गरेको उत्पीडनलाई उजागर गर्दै महिला मुक्ति र समानताको पक्षमा आवाज उठाउने बताउनुभयो।
उहाँले नारीवादको ऐतिहासिक विकासक्रमबारे चर्चा गर्दै पश्चिमी जगतमा सन् १९६० तिर सिमोन द बोउवारले महिला अधिकारका पक्षमा आवाज उठाए पनि नेपालमा योगमायाजस्ता व्यक्तित्वले १९३० कै दशकमा महिला अधिकार र समानताका पक्षमा संघर्ष गरेको स्मरण गर्नुभयो। नारीवादी आन्दोलनका विभिन्न चरणबारे चर्चा गर्दै उहाँले सामाजिक सञ्जालको युगमा महिला अधिकारको बहस नयाँ ढङ्गले अघि बढिरहेको उल्लेख गर्नुभयो। वर्गमुक्तिसँगै महिलामुक्ति सम्भव हुने माक्र्सवादी दृष्टिकोणलाई स्वीकार गर्दै वर्गीय प्रश्नसँग समन्वय नगरी महिलावाद अगाडि बढ्न कठिन हुने धारणा पनि उहाँले व्यक्त गर्नुभयो।
सो अवसरमा ओमप्रसाद कोइराला, कुमार नेपाल, नवराज श्रेष्ठ, रसुवाली कवि, महेशराज खरेल, डा. मनोजराज जोशी, सुशिला प्रधानाङ्ग, राम विनय, नर्मदेश्वरी सत्याल, गायत्रीकुमार चापागाईँ, पोषरमण चापागाईँ, डा. गोविन्दप्रसाद आचार्य, प्रमोद भण्डारी, अच्युत घिमिरे, रामचन्द्र दाहाल, नवराज ढकाल, बलराम विष्ट, राधिका सापकोटा, जयन्ता पोखरेल र रामबहादुर पहारीले कविता, गीत, गजल तथा मुक्तक वाचन गर्नुभएको थियो।
वाचित रचनामाथि टिप्पणी गर्दै उपप्राध्यापक रूपक अलङ्कारले कार्यक्रममा प्रस्तुत सिर्जनाहरूले समसामयिक सामाजिक र राजनीतिक यथार्थलाई विविध रूपमा अभिव्यक्त गरेको उल्लेख गर्नुभयो। उहाँले केही सिर्जनाले शान्ति, सद्भाव र नवचेतनाको सन्देश दिएको तथा वर्तमान राजनीतिक अवस्थाप्रति व्यङ्ग्य र आलोचना प्रस्तुत गरेको बताउनुभयो। केही अत्यन्त प्रभावकारी र केही मध्यमस्तरका रचना सुनिए पनि समग्रमा कार्यक्रम सार्थक रहेको उहाँको धारणा थियो।
समारोहका अध्यक्ष राम विनयले साहित्य सन्ध्या एक प्रकारको सिर्जनात्मक कार्यशाला भएको बताउँदै वि.सं. २०३९ पुस २ गते नेपाल ल क्याम्पसबाट सुरु भएको यस संस्थाले साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियानलाई निरन्तरता दिँदै आएको उल्लेख गर्नुभयो। उहाँले नयाँ र पुराना स्रष्टालाई एउटै मंचमा भेला गराएर विचार, बहस र सिर्जनात्मक संवादलाई अघि बढाउने प्रयास भइरहे पनि पछिल्लो समय नयाँ स्रष्टाको सहभागिता केही कमजोर देखिएको बताउनुभयो।
उहाँले समसामयिक विषय ‘प्रगतिवाद र नारीवाद’बारे डा. विन्दु शर्माले विस्तृत चर्चा गरेको र २० जना स्रष्टाले सिर्जना वाचन गरेको उल्लेख गर्दै स्रष्टाहरूले सत्य र न्यायका पक्षमा कलम चलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। वर्तमानमा देखिएको अराजकता, उग्रता र भ्रम फैलाउने प्रवृत्तिविरुद्ध स्रष्टाहरूको रचनात्मक हस्तक्षेप आवश्यक रहेको धारणा व्यक्त गर्दै उपस्थित अतिथि तथा सहभागीप्रति आभार प्रकट गर्नुभयो।
अन्त्यमा आगामी महिनामा पनि विशेष विषयमा परिचर्चा तथा कविगोष्ठी आयोजना गरिने जानकारीसहित कार्यक्रम समापन गरिएको थियो।
