साहित्यकार प्रा.डा.यादवप्रकाश लामिछानेका चारओटा कृति र हुमकला पाण्डेद्वारा लामिछानेकै बारेमा लेखिएको एक गरी पाँच कृतिको लोकार्पण तथा परिचर्चा

२०८२ फागुन ९ गते शनिबार बिहान ११ बजे वाल्मीकि क्याम्पस, प्रदर्शनीमार्गमा साहित्यकार प्रा.डा. यादवप्रकाश लामिछानेद्वारा लिखित चार कृति र हुमकला पाण्डेद्वारा लिखित एक अनुसन्धानमूलक कृतिको संयुक्त रूपमा लोकार्पण तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।

विद्यार्थी पुस्तक भण्डारद्वारा प्रकाशित ‘संयोग’ कथासङ्ग्रह, ‘यात्रा रहेछ जिन्दगी’ नियात्रासङ्ग्रह, ‘स्मृतिका पानाहरू’ संस्मरणसङ्ग्रह, ‘फरक सृष्टि फरक दृष्टि’ समालोचनासङ्ग्रह तथा ‘नेपाली भाषाशिक्षणमा प्रा.डा. यादवप्रकाश लामिछानेको योगदान’ शीर्षकका पाँच कृतिको लोकार्पण उक्त समारोहमा गरिएको हो।

कार्यक्रमको सभापतित्व विद्यार्थी पुस्तक भण्डारका प्रबन्ध सञ्चालक शान्त गौतमले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा प्रा.डा. दयाराम श्रेष्ठ ‘सम्भव’ र विशिष्ट अतिथिका रूपमा प्रा.डा. जीवेन्द्र देव गिरी उपस्थित हुनुहुन्थ्यो। डा. हरिप्रसाद सिलवालको सञ्चालनमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका विद्वान, साहित्यकार तथा प्राध्यापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा लेखक प्रा.डा. यादवप्रकाश लामिछानेले स्वागत मन्तव्य व्यक्त गर्दै आफूले लेखेका कृतिहरू फरक–फरक विधामा आधारित रहेको र ती कृतिबारे समालोचनात्मक बहस होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले आफ्नो शिक्षण तथा लेखन यात्रामा पाठक र समीक्षकको भूमिकालाई महत्वपूर्ण मान्दै उपस्थित सबैप्रति आभार व्यक्त गर्नुभयो।

समारोहमा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूले संयुक्त रूपमा पाँचै कृतिको लोकार्पण गर्नुभएको थियो। त्यसपछि कृतिहरूमाथि विभिन्न समालोचकहरूले समीक्षा प्रस्तुत गरेका थिए।

समालोचक शक्ति नेपालले हुमकला पाण्डेद्वारा लिखित ‘नेपाली भाषाशिक्षणमा प्रा.डा. यादवप्रकाश लामिछानेको योगदान’ कृतिको समीक्षा गर्दै लामिछानेको शिक्षण पद्धति, प्राज्ञिक योगदान तथा समाज रूपान्तरणका पक्षमा रहेको वैचारिक सक्रियताको चर्चा गर्नुभयो। उहाँका अनुसार लामिछानेको शिक्षण शैली विद्यार्थीमैत्री र वस्तुपरक रहेको तथा ज्ञानको पुनर्निर्माणमा उहाँको योगदान महत्वपूर्ण रहेको छ।

साहित्यकार महेशराज खरेलले ‘संयोग’ कथासङ्ग्रहमा प्रगतिवादी चेत स्पष्ट रूपमा अभिव्यक्त भएको बताउँदै कथाहरूले समाजमा विद्यमान वर्गीय असमानता, उत्पीडन तथा अन्यायका विरुद्ध प्रतिरोधको सन्देश दिएको उल्लेख गर्नुभयो।

त्यस्तै डा. गणेशराज अधिकारीले उक्त कथासङ्ग्रहमा सामाजिक यथार्थ, स्थानीय परिवेश तथा मानवीय अनुभवलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको बताउनुभयो। उहाँले कथाहरूमा उत्पीडित वर्गका समस्या, सांस्कृतिक मूल्य तथा डायस्पोरिक चेतनाको चित्रण पाइने धारणा राख्नुभयो।

समालोचक डा. बिदुला घिमिरेले कथाहरूमा नारीपात्रको भूमिकाबारे चर्चा गर्दै केही कथामा महिला पात्र सशक्त रूपमा प्रस्तुत भएको र सामाजिक यथार्थको गहिरो चित्रण गरिएको बताउनुभयो।

डा. विनोद मन्जनले ‘यात्रा रहेछ जिन्दगी’ नियात्रासङ्ग्रहमाथि समीक्षा गर्दै विभिन्न कालखण्डका यात्रा अनुभवलाई जीवनदर्शनसँग जोडेर प्रस्तुत गरिएको उल्लेख गर्नुभयो।

त्यस्तै प्रा.डा. लेखप्रसाद निरौलाले ‘फरक सृष्टि फरक दृष्टि’ समालोचनासङ्ग्रहको चर्चा गर्दै यसमा प्रगतिवादी दृष्टिकोणबाट विभिन्न साहित्यिक कृतिको विश्लेषण गरिएको र समालोचनामा दार्शनिक चेत प्रबल रहेको बताउनुभयो।

समालोचक डा. फणीन्द्रराज निरौलाले ‘स्मृतिका पानाहरू’ संस्मरणसङ्ग्रहको समीक्षा गर्दै कृतिमा लेखकको जीवनभोगाइ, सामाजिक–राजनीतिक परिवेश तथा संघर्षपूर्ण जीवनका अनुभवहरू आत्मीय ढङ्गले प्रस्तुत गरिएको उल्लेख गर्नुभयो।

विशिष्ट अतिथि प्रा.डा. जीवेन्द्र देव गिरीले लामिछाने भाषाशिक्षण तथा साहित्यिक क्षेत्रमा निरन्तर सक्रिय स्रष्टा रहेको बताउँदै उहाँका कृतिहरूले युगको यथार्थलाई मार्गदर्शन गर्ने क्षमता राख्ने धारणा व्यक्त गर्नुभयो।

प्रमुख अतिथि प्रा.डा. दयाराम श्रेष्ठ ‘सम्भव’ले कार्यक्रमलाई प्राज्ञिक रूपमा महत्वपूर्ण भन्दै पाँच कृतिको लोकार्पण र परिचर्चाले साहित्यिक बहसलाई समृद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो।

अनुसन्धाता हुमकला पाण्डेले प्रा.डा. लामिछानेको शिक्षण र व्यक्तित्वबाट आफूले धेरै प्रेरणा पाएको उल्लेख गर्दै उहाँको योगदानलाई दस्तावेजीकरण गर्ने उद्देश्यले अनुसन्धान कृति तयार गरेको बताउनुभयो।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष शान्त गौतमले लेखक र प्रकाशकबीच नङ र मासुको जस्तो सम्बन्ध हुने उल्लेख गर्दै लेखक र पाठकबीचको संवादलाई यस्ता कार्यक्रमहरूले थप सुदृढ बनाउने धारणा व्यक्त गर्नुभयो। उहाँले कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *