०८२ चैत्र ७ गते शनिबार अपराह्न १ बजे प्रकृतिको प्रतिकूलताका कारण गुगल मिटमार्फत प्रविधिमैत्री रूपमा साहित्य सन्ध्याको नियमित मासिक ४७४औँ शृङ्खला सम्पन्न भएको छ। उक्त कार्यक्रममा ‘जीवनशैली र मानवस्वास्थ्य’ विषयमा विस्तृत परिचर्चासहित विशेष कविगोष्ठी आयोजना गरिएको थियो।
सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता तथा उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा विशेष अतिथिका रूपमा प्रा. श्रीराम पाण्डे उपस्थित हुनुहुन्थ्यो। साथै सल्लाहकार विधान आचार्य, नर्मदेश्वरी सत्याल, ज्ञानु विद्रोही, डा. भागवत आचार्य, डम्बर पहाडी एलाक, कृष्ण बाउसे, बेनीबहादुर थापा, महेशराज खरेल, विन्दु अधिकारी ढकाल, ओमप्रसाद कोइराला, जयन्ती स्पन्दन, गोपाल नेपाललगायत साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
जीवनशैली र स्वास्थ्यबारे विशद चर्चा
विशेष अतिथि प्रा. श्रीराम पाण्डेले आजको समयमा मानसिक गतिविधि बढ्दै गएको तर शारीरिक गतिविधि घट्दै गएको कारण नसर्ने रोगहरू बढिरहेको उल्लेख गर्नुभयो। उहाँले असन्तुलित आहार, व्यायामको कमी र बदलिएको जीवनशैलीलाई यसको मुख्य कारणका रूपमा औँल्याउँदै जीवनशैली नै दीर्घकालीन उपचार भएको धारणा राख्नुभयो।
उहाँका अनुसार ताजा, प्राकृतिक तथा शाकाहारी भोजन, स्थानीय र मौसमी खाद्यपदार्थको प्रयोग, तनाब व्यवस्थापन, नियमित व्यायाम तथा योग अभ्यासले स्वास्थ्य सुदृढ बनाउन सहयोग गर्छ। शरीरका संकेतलाई बुझ्नु, अहंकार त्याग्नु र सकारात्मक जीवनदृष्टि अपनाउनु पनि स्वस्थ जीवनका आधार भएको उहाँले बताउनुभयो।
कविगोष्ठी र समालोचना
कार्यक्रममा महेशराज खरेल, विन्दु अधिकारी ढकाल, ओमप्रसाद कोइराला, गोपाल नेपाल, डा. भागवत आचार्य, डम्बर पहाडी एलाक, प्रशान्त खरेल, कृष्ण बाउसे, विधान आचार्य, जयन्ती स्पन्दन, नर्मदेश्वरी सत्याल, बेनीबहादुर थापा, प्रा. श्रीराम पाण्डे, राम विनय, कुमार नेपाललगायत स्रष्टाहरूले कविता, गीत, गजल र मुक्तक वाचन गर्नुभएको थियो।
वाचित रचनामाथि समीक्षा गर्दै ज्ञानु विद्रोहीले आजका अधिकांश कविता समसामयिक विषयसँग सम्बन्धित रहेको बताउनुभयो। उहाँका अनुसार कविताहरूमा सामाजिक–राजनीतिक यथार्थ, आत्मसमीक्षा, पहिचानको खोजी, नारी चेतना, वर्तमान राजनीतिक अवस्थामाथि व्यङ्ग्य तथा भविष्यप्रतिको आशा अभिव्यक्त भएको पाइयो। “अभिव्यक्ति नै मनशान्तिको अस्त्र हो” भन्ने भाव धेरै रचनामा झल्किएको उहाँले उल्लेख गर्नुभयो।
समापन मन्तव्य
सभाध्यक्ष राम विनयले साहित्य सन्ध्यालाई एक प्रकारको कार्यशालाको रूपमा व्याख्या गर्दै यसले नयाँ र पुराना स्रष्टालाई एउटै मञ्चमा ल्याएर सामाजिक रूपान्तरणका लागि योगदान पुर्याउँदै आएको बताउनुभयो।
उहाँले हरेक महिनामा समसामयिक विषयमा बहस र सिर्जनात्मक गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिँदै स्रष्टाहरूले सत्य र न्यायका पक्षमा आफ्नो कलम चलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गर्दै आगामी शृङ्खलामा पुनः भेट्ने अपेक्षासहित कार्यक्रमको समापन गर्नुभयो।
