राजकुमार बिकको एकल चित्रकला प्रदर्शनी

काठमाडौं । ६१ औँ अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसको अवसर पारेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको लुम्बिनी प्रदेश समन्वय समितिको सहकार्यमा कलाकार राजकुमार बिकको एकल चित्रकला प्रदर्शनी ‘सह–अस्तित्व’ सुरु भएको छ । शनिबार नक्सालस्थित प्रतिष्ठानको चन्द्रमानसिंह मास्के कक्षमा भएको प्रदर्शनीको उद्घाटन प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य हरिप्रसाद भुसाल र प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले संयुक्त रुपमा गरे । कार्यक्रममा प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य भुसालले आफू पनि कला क्षेत्रसँगै जोडिएको व्यक्ति भएकाले समाजसँग जोडिएको महत्वपूर्ण विषयमा आयोजित कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताए । उनले भने, ‘प्रदर्शनीमा राखिएका कलामा रङ र आकृति मात्र नभई मानवीय आवाज, संवेदना प्रकट भएको छ ।’ नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाकार राजकुमार बिकले समाजमा छुवाछुतविरुद्धका विषयलाई कलामार्फत अभिव्यक्त गरेको धारणा राखे । उनले भने, ‘कलाकार बिकले विभेदविरुद्धको अनुभूतिगत भाव सन्देशात्मक चित्र रचना गर्दै सामाजिक जागरणको अभियानलाई जोड्नु भएको छ ।’ उनले बिकले विभेदको मुद्दालाई आफ्नो कन्टेन्ट कन्सेप्ट राखेर क्राफ्टम्यानसिप स्वरूपमा सामाजिक–सांस्कृतिक रूपान्तरणका लागि कलात्मक विद्रोहको अभियान आफ्ना रचनाहरूमा थालेको बताए ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले हाम्रा मौलिक, रैथाने शिल्पज्ञान कला, सिप सिर्जनालाई प्रवर्धन तथा संरक्षण गर्न अपरिहार्य रहेको बताउँदै राजकुमार विकका कलामा मौलिकताका साथ प्रकृति, संस्कृति तथा समाजको चित्रण भएको बताए । उनले समाजमा उत्पीडनमा परेका समुदायका विषयलाई केन्द्रीकृत गर्दै सामाजिक जागरण, सचेतनाका विषयलाई कलाकार विकले आफ्नो कलामा उठाएको धारणा राखे ।
प्रतिष्ठानका शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले ६१ औँ अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसको सन्दर्भ पारेर यस किसिमको कार्यक्रम गरिनुले समाजमा सहअस्तित्व र समानताका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् ।
प्रतिष्ठानका लुम्बिनी प्रदेश समन्वय समिति संयोजक तथा मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले ‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ भन्ने मूल भावलाई जोड्दै यस कार्यक्रमको आयोजना गरिएको बताए । नेपाली समाजमा दलनमा परेको समुदायका विषयलाई कलामार्फत कलाकारले जागरणको अभियानका रुपमा उठान गरेको जिकिर गरे । उनले सामाजिक सचेतनामा यस कार्यक्रमले विशेष अर्थ राख्ने विचार व्यक्त गरे ।
पूर्व सचिव डा.मानबहादुर बिकले देशका विभिन्न भागमा छरिएर रहेका प्रतिभाहरूलाई खोजी गरी तिनका कलालाई मूलधारमा ल्याउन प्रतिष्ठानले गरेको प्रयास प्रशंसनीय रहेको बताए । उनले समाज रुपान्तरणमा कलाको भूमिका अहम् रहने भएकाले कलाकारको यो प्रयासलाई महत्त्वपूर्ण पहलका रुपमा लिनुपर्ने विचार व्यक्त गरे ।
कलाकार राजकुमार बिकले कलाको विषयगत धरातलमा शोषित तथा उत्पीडित समुदायका कथा र अनुभूतिलाई रङ र ब्रसका माध्यमबाट क्यानभासमा जीवन्त बनाउँदै यस प्रदर्शनीमार्फत श्रमचेतना, सामाजिक जागरण र सचेतनालाई अझ सशक्त ढङ्गबाट उठान गरेको बताए ।
कार्यक्रममा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य प्रदीप अधिकारी, प्राज्ञसभा सदस्य चन्द्रकुमार राई, अग्रज कलाकारहरू राधेश्याम मुल्मी, अशोकमान सिंह, डा. द्रोण रसाली, नेपाल कमर्सियल आर्टिस्ट सङ्घका कार्यवाहक अध्यक्ष सुभाष शाक्य, तानसेन गुठीका पूर्वअध्यक्ष प्रमी श्रेष्ठसँगै कलाकार, पत्रकारलगायतको सहभागिता रहेको थियो । चैत १० गतेसम्म चल्ने प्रदर्शनीमा ३५ कलाकृति राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *