भदौ १४ गते शनिबार अपराह्न १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको सभाकक्ष, बागबजार, काठमाडौँमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालद्वारा आयोजना गरिएको ‘अविरल जनसाहित्य यात्रा’को १०२ औँ विशेष शृङ्खला सम्पन्न भएको छ। कार्यक्रममा झापाका प्रगतिवादी स्रष्टा परशुराम पराशरका एक दर्जन कविता वाचन गरिएको थियो।
युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा. फणीन्द्रराज निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष नर्मदेश्वरी सत्यालले गर्नुभएको थियो भने सञ्चालन सचिवालय सदस्य गोपालकुमार मैनालीले गर्नुभएको थियो। कार्यक्रममा महासङ्घकी उपाध्यक्ष नमुना शर्मा, महासचिव आर.सी. न्यौपाने, प्रगतिशील लेखक सङ्घ नेपालका अध्यक्ष डा. देवी दुलाल क्षेत्री, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’ लगायत वरिष्ठ स्रष्टा तथा साहित्यकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
अध्यक्ष सत्यालले कविनायक परशुराम पराशरलाई माल्यार्पणसहित स्वागत गर्नुभएको थियो। त्यस अवसरमा सङ्घका सचिव सोमनाथ दाहालले कविनायकको परिचय दिँदै पराशरको साहित्यिक यात्रा, प्रकाशित कृतिहरू र साहित्य तथा सामाजिक रूपान्तरण अभियानमा रहेको सक्रियताको चर्चा गर्नुभयो। वि.सं. २०२० सालमा झापाको गौरादहमा जन्मिनुभएका पराशरले शिक्षण पेसासँगै कविता, लघुकथा र सम्पादन क्षेत्रमा निरन्तर योगदान दिँदै आउनुभएको छ।
कविनायक पराशरले आफ्ना कविताको रचनागर्भबारे जानकारी गराउँदै राजनीति, शिक्षा, प्रशासन तथा सामाजिक जीवनमा देखिएका विकृति, विसङ्गति र अन्यायले आफूलाई सिर्जनामा प्रेरित गर्ने गरेको बताउनुभयो। उहाँले उपजाति, पञ्चचामर, मन्दाक्रान्ता, मालिनी र शार्दूलविक्रीडित छन्दमा रचित ‘परिचय’, ‘युवा उठौँ’, ‘शान्तिको गीत लेखौँ’, ‘देश खाए किराले’ र ‘मेरो भुँडी’ लगायतका सशक्त कविता वाचन गर्नुभयो।
कार्यक्रममा अन्य स्रष्टाहरूले पनि विभिन्न छन्दमा रचित रूपान्तरणमुखी कविता वाचन गर्नुभएको थियो। वाचित कवितामाथि टिप्पणी गर्दै प्रमुख अतिथि डा. निरौलाले पराशरका कवितामा युगीन असङ्गतिको जीवन्त चित्रण, राष्ट्रवादी चेतना, सामाजिक व्यङ्ग्य र वैचारिक स्पष्टता रहेको उल्लेख गर्नुभयो। कवितामा अन्त्यानुप्रास, श्लेष अलङ्कार तथा प्राकृतिक र सांस्कृतिक विम्बको सुन्दर प्रयोग भएको उहाँको धारणा थियो।
कार्यक्रमको समापन गर्दै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले पराशरका कविताले सरल भाषामा गम्भीर भाव सम्प्रेषण गर्ने क्षमता देखाएको बताउँदै सामाजिक रूपान्तरणको पक्षमा सशक्त साहित्यिक आवाज निरन्तर आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै, आगामी कार्तिक महिनामा आयोजना हुने ‘अविरल जनसाहित्य यात्रा’को १०३ औँ शृङ्खलामा स्रष्टा भवानी खतिवडालाई प्रस्तुत गरिने जानकारी दिनुभयो।
