वैशाख ८ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ८९ औँ शृङ्खलामा साहित्य सिर्जना, अध्यापन, विभिन्न सङ्घसङ्गठन एवम् संस्थाहरूमा नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेकी अहिलेको समयकी अत्यन्त सक्रिय प्रगतिवादी स्रष्टा तिला लेकालीका एक दर्जन कविता तथा गजल गुञ्जिए ।
पूर्वमन्त्री एवम् अग्रज साहित्यकार शान्ता मानवीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालका अध्यक्ष राम विनयले गर्नुभएको थियो । अविरल जनसाहित्य यात्रा संयोजन समितिका संयोजक डा.हरिप्रसाद सिलवालको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा डा.रामहरि लम्साल, प्रगतिशील लेखक सङ्घकी उपाध्यक्ष नमुना शर्मा, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका महासचिव नन्दु उप्रेती, राष्ट्रिय जनपक्षीय चलचित्र सङ्घका महासचिव वसन्तराज रिजाल, प्रा.डा.ध्रुवकुमार घिमिरे, डा.बमबहादुर थापा जिताली, गङ्गा कर्माचार्य, अनिल पौडेल, कणाद महर्षि, महेशराज खरेल, पार्वती राउत, सुरेश हाचेकालीलगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
अध्यक्ष राम विनयले कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभएको थियो भने डा.हरिप्रसाद सिलवालले कविनायकको परिचय दिनुहुँदै सङ्खुवासभा जिल्लामा माता विष्णुमाया न्यौपाने र पिता प्रभुराम न्यौपानेकी सुपुत्रीका रूपमा जन्मिएकी तिला लेकालीले त्रिभुवन विश्वविद्यालयबाट एम.एड र बि.कम उत्तीर्ण गरेकी छिन् । सिर्जना, प्राध्यापन, सङ्गठन तथा सामाजिक रूपान्तरण अभियानमा संलग्न रहेकी उनले २०५९ सालबाट साहित्यप्रकाशन गर्नथालेकी हुन् । साहित्यिक कृतिको सम्पादन तथा अनुवादमा समेत सक्रिय रहेकी लेकालीका ‘पर्खालभित्र’ हाइकुसङ्ग्रह २०६५, ‘चक्रव्युहमा उभिएर’ गजलसङ्ग्रह २०७०, ‘झ्याउँकिरी झङ्कृत’ हाइकुसङ्ग्रह २०७४, ‘साझा आकाश’ कवितासङ्ग्रह २०७८ र ‘खुर्पे जून’ कवितासङ्ग्रह २०८० जस्ता कृति प्रकाशित भएका छन् । झन्डै एक दर्जन संयुक्त सङ्ग्रह पनि प्रकाशित छन् भने नेपाली साहित्यको सेवा गरेवापत उनलाई एक दर्जनभन्दा बढी सङ्घसंसथाले मान, सम्मान तथा पुरस्कारद्वारा सम्मानित गरेका छन् । आधा दर्जन सङ्घसंस्थामा अहिले पनि उनी आफ्नो क्रियाशीलता देखाइरहेकी छिन् । सिर्जना, शिक्षण, सङ्गठन तथा घरव्यवहारसमेत चलाइरहेकी तिला लेकाली अहिलेको समयकी सक्रिय स्रष्टा हुनुका साथै सिर्जनाका माध्यमबाट सामाजिक रूपान्तरणको आग्रह गर्ने स्रष्टा भएकीले आजको यो विशेष समारोहमा एक दर्जन कविताका साथ प्रस्तुत गरिएको धारणा राख्नुभयो ।
समारोहका अध्यक्ष राम विनयले २०७० चैत्र १४ देखि तत्कालीन राष्ट्रिय जनसाहित्यिक मञ्चका संस्थापक अध्यक्ष डा.मोदनाथ प्रश्रितबाट थालनी गरिएको ‘अविरल जनसाहित्य यात्रा’को आज हामी ८९ औँ शृङ्खला सम्पन्न गर्नलागिरहेका छौँ । देशैभरिका नेपाली प्रगतिवादी साहित्यमा आफ्नो क्षेत्रबाट योगदान गरिरहेका एकजना स्रष्टालाई हरेक महिनाको दोस्रो शनिबार प्रत्यक्ष उपस्थित गराई उनका एक दर्जन कविता सुन्ने र कवितामाथि समीक्षासमेत गरी परिष्कार परिमार्जनमा सघाउ पुर्याउने यो अभियानमा आज नेपाली प्रगतिवादी कविताअभियानमा योगदान गर्दै साहित्य सिर्जना गरिरहेकी तिला लेकालीलाई प्रस्तुत गरिएको हो । यो विशेष समारोहमा कविता सुनाउने कविका कवितामाथि गरिने समीक्षालाई समीक्षकसँग लिखितरूपमा माग गरी प्रकाशन गर्ने पनि यो विशेष समारोहको उद्देश्य हो । आजको यो विशेष समारोहमा हाम्रो आमन्त्रण स्वीकार गरी उपस्थित भइदिने कविनायक, प्रमुख अतिथि, अतिथिहरू तथा स्रष्टाहरू सबै सबैलाई हार्दिक स्वागत गर्दछु । हामी स्रष्टाले अराजकतावादको विरोध गर्नुपर्ने र स्पष्ट विचारका साथ सामाजिक रूपान्तरणका पक्षमा सन्देश सम्प्रेषण गर्दै सहित्यको सिर्जना गर्नुपर्ने हाम्रो मान्यतालाई आत्मसात गर्ने स्रष्टाका एक दर्जन कविता र ती कवितामाथिको समीक्षा आज हामी सुन्ने छौँ भन्नुभयो ।
कविनायक तिला लेकालीले कविता सिर्जनाको रचनागर्भका बारेमा जानकारी गराउँदै आपूmले कविता सिर्जनाबाटै साहित्ययात्राको थालनी गरेको र निरन्तर साधना एवम् आफ्नो क्षेत्रबाट सामाजिक रूपान्तरण अभियानमा केही न केही योगदान गर्नुपर्छ भनेर पूर्वको कोसी प्रदेशमा लागिरहँदा, सकेजतिको सक्रियता देखाइरहँदा कतै न कतैबाट मूल्याङ्कन गरी यति लामो इतिहास निर्माण गरिसकेको यो महत्त्वपूर्ण ‘अविरल जनसाहित्य यात्रा’को अभियानमा यतिका विद्वान स्रष्टा तथा व्यक्तित्वका सामुन्ने आफ्ना एक दर्जन कविता सुनाउने अवसर प्राप्त भएकोमा गौरवान्वित महसुस गरेकी छु । मेरा कविताका विषयवस्तु यही समाजबाट टिपिएका छन् । यो मुलुकको भविष्य निर्माण हामीले नै गर्नुपर्छ भन्ने चेतनाले घच्घच्याएपछि, सामाजिक विभेद र शोेषण देखेपछि, समाज परिवर्तनमा सघाउनै नसक्ने भए सत्ताप्राप्तिको अपेक्षा केका लागि ? गरिबको पीडामा मलम लगाउननसक्ने भए सरकार केका लागि ? भन्नेजस्ता अहम् प्रश्न तेर्सिएपछि, श्रमको सम्मान गर्नुपर्ने भावना समाजमा फैलाउनुपर्छ भन्ने शाश्वतताले निर्देश गरेपछि मलाई कवितासिर्जनाको हुटहुटी बढेको हो । त्यसैगरी मुलुकको सबल नेतृत्वको अपेक्षा देशले गरिरहेको, सामाजिक उत्पीडनको अन्त्यका लागि स्रष्टाले कलम चलाउनै पर्छ भन्ने लागेको र गरिबीमा बाँचेका निमुखाको नियतिलाई नजिकबाट देखेपछि कविता सिर्जना गर्न बाध्य भएकी हुँ । विभेद र अन्यायको साम्राज्यको अन्त्य नगर्दासम्म सामाजिक रूपान्तरण सम्भव छैन भन्ने लागेपछि र आमा जीवित ईश्वर हुन् र उनको महत्तागान अपरिहार्य छ भन्ने लागेपछि पनि मैले कविता सिर्जना गरेकी हुँ भन्ने रचनागर्भसहित ‘झाँसीकी रानी’, ‘दसैँ र बुबा’ ‘इतिहास लेख्नु यसरी नै’ ‘माझी दाइ’, ‘नारी’, ‘नाम्लो’, ‘माथ्लो तला’, ‘गजल’ र ‘नयाँ वर्ष’ शीर्षकका नौओटा सुन्दर, शालीन, सरल र सशक्त कविता तथा गजल वाचन गर्नुभएको थियो । त्यसैगरी सहयोगी कविहरू नन्दु उप्रेतीले ‘रात’ शीर्षकको गद्यकविता, नमुना शर्माले ‘आमा’ शीर्षकको शार्दूलविक्रीडित छन्दको र नर्मदेश्वरी सत्यालले ‘शिखरयात्रा’ शीर्षकको गद्यकविता गरी तीनओटा त्यस्तै शालीन तर सशक्त कविता वाचन गर्नुभएको थियो ।
वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै समीक्षक डा.रामहरि लम्सालले अविरल जनसाहित्य यात्राको यो सोद्देश्यमूलक अभियान ८९ औँ शृङ्खलामा पुगेको छ । यो अभियानमा उपस्थित भएर आज कुशल स्रष्टा तिला लेकालीका एक दर्जन कवितामाथि टिप्पणी गर्ने अवसर पाउँदा खुसी पनि लागेको छ । सुपरिचित कविका कविताको टिप्पणी गर्न उभिए पनि कविताको जस्तो आनन्ददायी श्रुतिश्रवण समालोचनामा हुँदैन । कविले आफ्ना कवितामा माझीदाइ र मास्टरको नि:स्वार्थ सेवाको तुलना गर्नुभएको छ तापनि बौद्धिक परिश्रम गर्ने निजी क्षेत्रका मास्टर भने अहिले पनि पीडामा छन् । पारिजातको योगदानको सम्मान कवितामा गरिएको छ । नारी भनेकी भोग्या नभएर शक्तिकी प्रतीक पनि भएकीले समभावको वा सम्मानको आग्रह गरिएको छ । कवितामा आमाको महत्ता स्थापित गरिएको छ साथै सन्तान स्वार्थी भएकाले आमाहरू अपहेलनाको सिकार भएकामा भने चिन्ता जाहेर गरिएको छ । नाम्लो कविता दायित्वको भार बोक्ने श्रमिक र शोषित वा उत्पीडितको प्रतीकका रूपमा आएको छ । माथ्लो तला कविताले वर्गीय विभेदको चित्र जीवन्तरूपमा खिचेको छ । कवितामा कागजी विकासको खरो विरोध गरिएको छ र दु:खी वा भोकाको भोकमा सरोकार नराख्ने सरकारको औचित्य नभएको घोषणासहित कुर्सीका लागि मात्र मरिहत्ते गर्ने प्रवृत्तिको पनि विरोध गरिएको छ । रात अँध्यारोको प्रतीक हो, विकृति र विसङ्गतिको प्रतीक पनि हो र अँध्यारोको नाश गर्न र समग्र रूपान्तरणका लागि उज्यालो आवश्यक छ भन्ने घोषणा गरिएको छ । नयाँ वर्ष शुभ रहोस् भन्ने कामनाले मात्र रूपान्तरण नहुने सन्देशसहित शुभकामना दिइएको छ । दसैँ सांस्कृतिक पर्व हो र बाल्यकालमा बुबाका साथमा मनाएको दसैँको सम्झना गरिएको छ तर अहिले बुबाको उपस्थिति नभएकामा दु:ख व्यक्त गरिएको छ । ऐतिहासिक पात्र झाँसीकी रानीको सङ्घर्षलाई कवितामा उजागर गरिएको छ । नारी उत्पीडन व्यहोरेर पनि सारा घरव्यवहार धान्ने नारीको उत्पीडनको अन्त्यको ध्वन्यार्थ सम्प्रेषण गरिएको छ । नवीन विम्बको प्रयोग, रुढिको विरोध, शोषणको विरोध गरिएका कवितामा मानवतावादको वकालत गरिएको छ र कवितामा प्रगतिवादी चिन्तन सम्प्रेषण गरिएको छ । यी सबै जनताका पक्षमा लेखिएका कविता भएकाले सार्थक रहेका छन् भन्ने धारणा राख्नुभयो ।
प्रमुख अतिथि शान्ता मानवीले अविरल जनसाहित्य यात्राको यो उनानब्बेऔँ शृङ्खलामा आज सक्रिय एवम् प्रखर कवि तिला लेकालीलाई सुनियो । सरल तरिकाले गम्भीर भाव कवितामा सम्प्रेषण गर्नसकिँदो रहेछ, कवितामै शालीन व्रिद्रोहका माध्यमबाट रूपान्तरणको सन्देश पनि सम्प्रेषण गर्नसकिँदो रहेछ भन्ने अनुभूति पनि कविता सुनिसकेपछि भएको छ । राजनीतिले मूर्त रूप लिएपछि सामाजिक रूपान्तरण गर्न राजनीति र संस्कृतिको मेल आवश्यक छ । रात अँध्यारोको मात्र प्रतीक चाहिँ होइन, त्यही रातमा जनता जगाउने काम हामीले गरेकाले नै अहिलेको स्वतन्त्रता उपभोग गर्नपाइएको हो । समाजलाई जोड्न संस्कृतिकर्मीको अहम् भूमिका हुन्छ । राजनीतिक परिवर्तनमाथि धावा बोल्ने प्रवृत्तिका विरुद्ध सिर्जना गरी राजनीति र संस्कृतिका बिचको नङ र मासुको सम्बन्ध बनाउनु पनि आवश्यक छ । नेपाली राजनीतिमा वर्तमानमा लथालिङ्ग अवस्था देखिएकोप्रति भने स्रष्टाले खबरदारी गर्नुपर्छ, सुधारका पक्षमा घच्घच्याउनुपर्दछ । अब समाज कसरी अगाडि बढ्छ भन्ने चिन्तनसहितका सिर्जना गरिनु पनि आवश्यक छ किनभने साहित्यले सामाजिक रूपान्तरण अभियानलाई निकै ठुलो बल पुर्याउँछ, स्रष्टाको कलम अत्यन्त तिख्खर हुन्छ । यो समारोह अत्यन्त प्रवाहपूर्ण र सुन्दर रहेको छ । पूर्वमा रहेर सक्रियता देखाइरहेकी तिला लेकालीले अझ सुन्दर सिर्जना गर्नसक्नुहोस्, घरपरिवारबाट पनि साथसहयोग प्राप्त भइरहोस् । आजको यो विशेष समारोह सार्थक रहेको छ भन्ने धारणा राख्नुभयो ।
समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्व तथा समारोहका कविनायक तथा परिवारका सदस्यलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले सिर्जना, अध्यापन, विभिन्न सङ्घसङ्गठन एवम् संस्थाहरूमा सक्रियता देखाइरहेकी; सामाजिक रूपान्तरण अभियानमा सक्रिय, अथकित, अविश्रान्त स्रष्टा तिला लेकालीलाई आज हामीले सुन्यौँ । कवितामा अत्यन्त सपाट, सरल एवम् सुबोध्य भाषाशैलीमा सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने, शालीन विद्रोहका माध्यमबाट रूपान्तरणप्रेमी वैचारिकता सम्प्रेषण गर्ने लेकालीको पारिवारिक माहोल पनि सहयोगी रहेको देखियो । वर्गीय प्रेम, पेसागत प्रेम र समतामूलक समाज निर्माणको अपेक्षा उनका कवितामा सशक्तढङ्गले अभिव्यक्त भएको देखिन्छ । समसामयिक विद्रुप यथार्थको उद्घाटन गर्दै विभेद, उत्पीडन र शोषणको अन्त्यको आग्रह गर्नु पनि कविका विशेषता रहेका छन् । अध्यापन पेसा र वैचारिक पारिवारिक वातावरणले पनि स्रष्टालाई सिर्जनामा सघाएको पाइन्छ । समयको व्यवस्थापन गर्ने व्यक्तित्व पनि भएकीले उनका सबै कवितामा समसामयिक समाजका विसङ्गत पक्षको उजागर गर्दै समग्र रूपान्तरणका पक्षमा आबाज उठाइएको पाइन्छ । आशावादी जीवनदृष्टि सम्प्रेषण गर्ने, बेथिति र विसङ्गतिमा कडा प्रहार गर्ने, गरिब–दु:खीले बाँचेको जीवनका पक्षमा उभिएर सिर्जना गर्ने, पितृसत्ताको विरोध गर्ने, श्रमको सम्मानका पक्षमा वकालत गर्ने कविको लेखनले नयाँपुस्तालाई प्रोत्साहन गर्ने छ । आजका कवितामा पूर्वीय ग्राम्य विम्बको प्रयोग भएको पाइएकाले आञ्चलिकता पनि पाइन्छ । कवितासिर्जनामा परिष्कार परिमार्जनको त सदैव आवश्यकता रहन्छ नै । यिनै गुणग्राही अभियन्ता स्रष्टाका बारेमा हामीले सुन्यौँ, कविता सुन्यौँ, परिचर्चा गर्यौँ र यो शृङ्खला हामी सबैका लागि धेरै हदसम्म अविस्मरणीय रहेको छ । अब हामी जेठ महिनामा ९० औँ ‘अविरल जनसाहित्य यात्रा’मा नेपाली प्रगतिवादी साहित्यमा निरन्तर क्रियाशील रहिरहेका स्रष्टा रामकुमार पण्डित क्षेत्रीलाई प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने नै छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।