असार ८ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष अद्वैतमार्ग, बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९१ औँ शृङ्खलामा सशक्त प्रगतिवादी कवि नन्दु उप्रेतीका एक दर्जन कविता गुञ्जिए ।
राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा एमाले संस्कृति विभाग प्रमुख, पूर्वमन्त्री एवम् साहित्यकार माननीय रघुजी पन्त उपस्थित हुनुहुन्थ्यो भने राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालका उपाध्यक्ष आर.सी.न्यौपाने, प्राज्ञ प्रा.डा.गोपीन्द्र पौडेल, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति नन्दबहादुर सिंह, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, एमाले उद्योग व्यवसाय काठमाडौँ विशेष जिल्ला कमिटी इन्चार्ज कृष्णप्रसाद अर्याल, भीष्म उप्रेती, नर्मदेश्वरी सत्याल, डा.राजेन्द्रप्रसाद अधिकारी, अनिल पौडेल, महेशराज खरेल, त्रिलोचन आचार्य, खेमराज निरौला, डम्बर पहाडी, कविकी जीवनसङ्गिनी पवित्रा सुवेदीलगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपाल अविरल जनसाहित्य यात्रा संयोजन समिति सदस्य देबु लुइटेलको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा अविरल जनसाहित्य यात्रा संयोजन समितिका संयोजक डा.हरिप्रसाद सिलवालले कविनायक नन्दु उप्रेतीको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नुहुँदै पुराना स्थापित र नयाँ समसामयिक चेतनाका सक्रिय स्रष्टालाई ल्याएर एक दर्जन कविता सुन्ने र सिर्जनामाथि टिप्पणीसमेत गर्ने यो समारोहमा आज हामीले नन्दु उप्रेतीका समसामयिक विषय र सन्दर्भका एक दर्जन कविता प्रस्तुत गर्नेगरी कविलाई उभ्याएका छौँ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्यसमेत रहेका र साहित्यका माध्यमबाट सामाजिक विकृतिमा रूपान्तरण गर्ने तथा मानवहितका लागि साहित्य सिर्जना गर्ने अभियानमा सामेल रहेका स्रष्टालाई आज हामी सुन्ने छौँ । वि.सं.२०२३ असार १५ गते इलाम जिल्लाको साङरुम्बामा माता मनकुमारी उप्रेती र पिता गङ्गाप्रसाद उप्रेतीका सुपुत्रका रूपमा जन्मिएका नन्दु उप्रेतीले त्रिभुवन विश्वविद्यालयबाट एम.ए., एम.एडसम्मको शिक्षा हासिल गरेका छन् । २०३८÷३९ सालदेखि नै साहित्यमा कलम चलाएका नन्दुको खास नाम भने नन्दप्रसाद उप्रेती हो । उनले नेपाली साहित्यका कविता, नियात्रा, बालकविता, गीत, साहित्यिक अनुसन्धान आदि क्षेत्रमा कलम चलाउनुका साथै पत्रकारितासमेत गरेका छन् । प्रगतिशील लेखक सङ्घ नेपालका पूर्व केन्द्रीय सदस्यसमेत रहेका उनले डेढ दशकभन्दा लामो समयसम्म विद्यालय सञ्चालनसमेत गरेका छन् । २०५४ सालमा रेडियो नेपालको घटना र विचार कार्यक्रमको सहसञ्चालक भएर अनि २०५६ सालमा चलचित्र सेन्सर बोर्डको सदस्यका रूपमा पनि उनले काम गरेका छन् । वर्तमानमा यद्धप्रसाद स्मृति प्रतिष्ठानका महासचिवका रूपमा क्रियाशील उप्रेतीका ‘फेवादेखि विवासम्म’ नियात्रासङ्ग्रह २०५६, ‘हामी साना लालाबाला’ बालकवितासङ्ग्रह २०६०, ‘सानी सानी पुतली’ बालकवितासङ्ग्रह २०६०, ‘हृदयको ज्योति’ किशोर कथा (अनुवाद) २०६५, ‘कालापानी यात्रा’ नियात्रासङ्ग्रह २०७५, ‘नेपाली लघुउपन्यास ः परम्परा र प्रवृत्ति’ अनुसन्धान २०७९, ‘नन्दु उप्रेतीका कविताहरू’ अडियो कविता २०८० जस्ता कृति प्रकाशित भइसकेका छन् । झण्डै आधा दर्जन कृतिको सम्पादन गरिसकेका उनले विभिन्न मान, सम्मान तथा पुरस्कारसमेत प्राप्त गरेका छन् । नेपाली समाजको नजिकबाट अवलोकन गर्ने र देखिएका विकृति उजागर गरी रूपान्तरणका पक्षमा कलम चलाउने उप्रेती सामाजिक–सांस्कृतिक रूपान्तरण अभियानका अभियन्तासमेत रहेको धारणा राख्नुभयो ।
समारोहको अध्यक्षता गर्दै राम विनयले सात वर्षअगाडिदेखि सञ्चालन गरिएको ‘अविरल जनसाहित्य यात्रा’मा यसको उद्देश्यअनुसार एकजना प्रगतिवादी स्रष्टालाई यो विशेष समारोहमा उपस्थित गराई कविको व्यक्तित्व तथा कृतित्वका बारेमा समेत चर्चा गर्दै एक दर्जन कविता, गीत, गजल सुन्ने र ती रचनाको समालोचना गर्ने गरिन्छ । यो कार्यक्रमले स्रष्टालाई र समग्र नेपाली साहित्यमा केही न केही योगदान अवश्य पुग्छ भन्ने ठानेर थालनी गरिएको हुँदा यस्तो महत्त्वको शृङ्खलालाई निरन्तरता दिइरहिएको छ । साहित्यमा पनि वर्गीय प्रेम हुन्छ र विनाभेदभाव सबैलाई समान अवसर प्रदान गर्दै सिर्जनामा रहेका कमीकमजोरी सुधार्ने उद्देश्यका साथ वाचित रचनामाथि विशेषज्ञ व्यक्तित्वद्वारा समीक्षा गर्ने प्रचलन रहेको छ । प्रगतिशील दृष्टिकोणसहित रचना गरिएको साहित्यले सामाजिक रूपान्तरणमा मदत गर्दछ भनेर नै हामी हरेक महिना एकजना स्रष्टाको छनोट गर्दछौँ । आजको शृङ्खलामा नेपाली प्रगतिवादी साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियानमा र सङ्गठनका माध्यमबाट पनि प्रगतिवादी वैचारिकता सम्प्रेषण गर्दै सामाजिक रूपान्तरण अभियानमा सशक्तढङ्गले अविच्छिन्न सक्रियता देखाइरहेका स्रष्टा नन्दु उप्रेतीलाई प्रस्तुत गरिएको छ । नन्दु उप्रेती आफ्ना सिर्जनामा गम्भीरताका साथ समाजका कुरूप यथार्थलाई उतार्ने र सरलताका साथ, जीवनभोगाइका यथार्थ एवम् सुन्दर विम्बलाई प्रयोग गर्दै रूपान्तरणका पक्षमा वैचारिकता सम्प्रेषण गर्ने स्रष्टा पनि हुन् । आजको यो विशेष समारोहमा प्रमुख अतिथिका रूपमा माननीय रघुजी पन्त उपस्थित भइदिनुभएको छ । निमन्त्रणा स्वीकार गरी उपस्थित भइदिनुहुने सबै सबैलाई हार्दिक स्वागत पनि गर्दछु भन्नुहुँदै कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभयो ।
कविनायक नन्दु उप्रेतीले विगत सात वर्षदेखि निरन्तर सञ्चालन भइरहेको यो विशेष महत्त्वको विशेष समारोहमा धेरै स्रष्टाका कविता सुन्न उपस्थित भएको छु, कतिपय स्रष्टाका कविता वाचन गर्ने सहयोगी कविका रूपमा पनि उपस्थित भएको छु । यो उद्देश्यमूलक विशेष समारोहमा आज आपूm प्रस्तुत हुने अवसर पाएकोमा कृतज्ञता पनि जाहेर गर्दछु । समाजमा दुःख पाएका वर्गले भोगेका समस्या न्यूनीकरण नभएका; वीर विरङ्गनाको त्याग र बलिदान बिर्सिएको अनुभूति भएपछि; सामाजिक–सांस्कृतिक रूपान्तरण अभियानमा समर्पित योद्धा सहिद बनाइएपछि वा सहिदको सम्मानका नाममा अपमान गर्ने वा बिर्सिने प्रवृत्ति बढेपछि; मान्छेलाई जड वा मूर्तिवत् बनाउने प्रवृत्ति बढेपछि, युवापलायनको पीडा मुलुकले, मुलकवासी र स्वयम् पलायन हुनेले अनुभूत गरेको देखेपछि; समाजमा जातीय उत्पीडन मडारिएको र न्यूनीकरण नभइरहेको पीडाबोध भएपछि; देशको अवस्था हिजो र आज दाँज्दा कतिपय अवस्था हिजोका जोगाउननसकेको अनुभूति भएपछि आपूmले साहित्य सिर्जना गरेको रचनागर्भको पनि जानकारी गराउँदै आफ्ना ‘के थियो तिम्रो नाम ?’, ‘हतियारको आँसु’, ‘भरखरै सुतेको मान्छे’, ‘पोखरीमा डुबेको आकाश’, ‘प्रियसीको सौन्दर्य’, ‘मूर्तिको आबाज’, ‘सुनाखरी र लालीगुराँस’, ‘देशको नक्सा र मेरा बुबा’ र ‘मेरो प्यारो काठमाडौँ’ शीर्षकका नौओटा सशक्त एवम् सुन्दर कविता वाचन गर्नुभयो । कवि डा.राजेन्द्र अधिकारीले ‘सहिदलाई बिर्सने सहिदको कथा’ शीर्षकको, कविकी जीवनसङ्गिनी पवित्रा सुवेदीले ‘रजस्वला’ शीर्षकको, छोरा अनुप उप्रेतीले ‘हारिरहेका छोराछोरी’ शीर्षकको त्यस्तै सशक्त र सुन्दर कविता वाचन गर्नुभएको थियो ।
वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै विशिष्ट अतिथि एवम् समालोचक प्रा.केशव सुवेदीले अविरल जनसाहित्य यात्राको यो सोद्देश्यमूलक अभियान ९१ औँ शृङ्खलामा पुगेको छ । वाचित कवितामाथि टिप्पणीसमेत गरेर कविलाई थप परिष्कृत पार्ने पनि यो अभियानको उद्देश्य सकारात्मक छ । आजको यो समारोहको उपस्थिति पनि उल्लेखनीय छ । आज हामीले कवि नन्दु उप्रेतीका एक दर्जन कविता सुन्यौँ । आजका कविले चार दशक लामो सिर्जनायात्रा तय गरेको पनि जानकारी भएको छ तर कवितासङ्ग्रह चाहिँ आइसकेको छैन । कविताको सौन्दर्य र आस्वादनजस्तो समीक्षा हुँदैन । रूप र सारको समन्वय सुन्दर कविताका लागि आवश्यक हुन्छ । शब्द र अर्थको चमत्कृति वा अपूर्वता कवितामा अपेक्षित हुन्छ । त्यसैगरी कविको सिर्जना बुझ्ने भावक पनि आवश्यक हुन्छ । पछिल्लो समयमा स्रष्टाहरूमा अध्ययनको कमी देखिएको छ । कविताको साधारण र विशिष्ट अर्थ हुन्छ । नेपाली कविताभन्दा लोकगीत, लोकगाथा बढी जीवन्त छन्, भावगाम्भीर्यका हिसाबले अब्बल छन् । आफ्ना सिर्जनाको वा अभिव्यक्तिको उचाइ स्वयम स्रष्टाले ठम्याउनु पनि जरुरी छ । सम्पूर्ण परिवर्तन ध्वंशबाट मात्र हुँदैनन् । सिर्जनामा वैचारिक सौन्दर्य आवश्यक हुन्छ ।
आजका कवितामा वीर–विराङ्गनाको त्यागको, पुरातन परम्पराको, बलिदानको सम्मान गर्न समाजले बिर्सेको प्रति चिन्ताभाव अभिव्यक्त भएको छ । हतियार र युद्धको परिणाम अन्ततः आँसु भएको यथार्थलाई कवितामा उजागर गरिएको छ । रजोवती नारीको शक्ति र सामथ्र्य खुट्याउँदै रजस्वला जीवनको ज्योति हो भन्ने ठहर गरिएको छ । सहिदको त्याग र बलिदानका प्रति सम्मानभाव आएको छ तर सहिद को हो भन्ने सङ्केत चाहिँँ गरिएको छैन । आकाश निराकार छ र पोखरीमा डुब्नआएको अर्थात् स्वतन्त्रता डुबेको सङ्केत गरिएको छ । नारीलाई हेर्ने भोगवादी दृष्टि, मातृशक्ति र यसको सौन्दर्यका बारेमा तुलनात्मक विश्लेषण गरिएको छ । युवापलायनको समस्या उजागर गर्दै देशले, अभिभावकले वा पलायन भएकाहरू कसले हारे ? गम्भीर प्रश्न कविताले उठाएको छ । मान्छेलाई मूर्ति बनाउने, गतिशीलता समाप्त पार्ने राजनीतिक दुश्प्रवृत्तिका प्रति पनि व्यङ्ग्य गरिएको छ ।
आजका कविले गद्यकवितामा शब्द र अर्थको चमत्कृति सिर्जना गर्ने, शब्द र अर्थको सौन्दर्य सिर्जना गर्ने क्षमता रहेको पुष्टि गरेका छन् । रूपक, उपमा अलङ्कारको प्रयोग कवितामा भएको छ । सुन्दर विम्बको प्रयोग गरिएको छ । वैचारिक निष्ठा पनि खुट्याएर थप परिमार्जनसमेत गरी कृति प्रकाशनको शुभकामना दिन्छु भन्नुभयो ।
प्रमुख अतिथिले कविका एक दर्जन कविता सुनियो । समाजमा विविधता छ, राजनीतिमा विविधता छ, बहुलता छ । हाम्रो जीवनशैली र समाजको चरित्रमै बहुलता छ । हाम्रो देशको वस्तुस्थितिले बन्दुकलाई धेरै सहयोग गरेन । संसारमै हतियारले निष्कर्ष निकालेको छैन र शान्तिप्रक्रिया अवलम्बन गर्नुपरेको छ । माक्र्सवाद नबुझ्नेले पनि जीवनवादी कविता लेखेका छन् । जनयुद्धको पीडा बुझेकाले पनि राम्रो कविता लेखेका छन् । कविता र दर्शन फरक कुरा हुन् तर कविताले दर्शन बोक्छ । कवि जहिले पनि अग्रगमनकै पक्षमा हुन्छ । त्यसैले साहित्यलाई बृहत्तर अर्थमा हेर्नुपर्छ । अस्वभाविक जीवन कसैले पनि जिउनसक्तैन, कविको पनि त्यस्तै हो । कविताले बिजुली चम्केजस्तै अनुभूति दिनुपर्छ । अहिलेको हाम्रो नयाँपुस्ताले आफ्नो भाषा र साहित्य पढेन ! कालान्तरका लागि नेपाली भाषा र साहित्यको यो चुनौती हो । त्यसैले पच्चिस वर्षभन्दा कम उमेर समूहका कविहरू भेला पारेर उनीहरूका सिर्जना सुन्ने परम्परा बसाउनु पनि आवश्यक रहेको छ । राम्रो कविले अरूका कविता, अरू भाषाका अनुवाद भएर आएका कविता र विश्वसाहित्यको अध्ययन गर्नु जरुरी छ । आजका कविताले हरेक बेथितिका प्रति रूपान्तरणको स्पष्ट सङ्केत गरेका छन् । म कविलाई धन्यवाद दिन्छु भन्नुभयो ।
समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्वलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले वैचारिक दृढताले युक्त, सङ्गठनमा आबद्ध, सरलताभित्र थोरै बौद्धिकता मिश्रण गरी गम्भीर एवम् रूपान्तरणप्रेमी भाव सम्प्रेषण गर्ने; सिङ्गो जीवन आन्दोलनमा र रूपान्तरण अभियानमा लगाएका स्रष्टा नन्दु उप्रेतीले आफ्ना सिर्जनामा सहिदको सम्मानका कुरा, मान्छेलाई मूर्तिवत् वा जड पार्ने नियतका कुरा, युवापलायनका पीडाका कुरा, प्राकृतिक काठामाडौँ र वर्तमानको कोलाहलपूर्ण अवस्थाको तुलना, सामाजिक विभेद र उत्पीडनका कुराजस्ता समसामयिक विषयवस्तुलाई कवितामा समेटेर समग्र बेथितिको रूपान्तरणका पक्षमा ध्वन्यार्थ सम्प्रेषण गरेका छन् । सिर्जनायात्रामा पारिवारिक साथसहयोग पनि प्राप्त गरेका स्रष्टाको समग्र चाहना रूपान्तरण हो भन्ने पनि सिर्जनाले पुष्टि गरेका छन् । आफ्ना सिर्जनामा आशावादी जीवनदृष्टि सम्प्रेषण गर्ने स्रष्टा नन्दु उप्रेतीका बारेमा हामीले सुन्यौँ, कविता सुन्यौँ, परिचर्चा गर्यौँ र यो शृङ्खला हामी सबैका लागि धेरै हदसम्म अविस्मरणीय रहेको छ । अर्काे महिनामा ९२ औँ ‘अविरल जनसाहित्य यात्रा’मा प्रगतिवादी साहित्यका माध्यमबाट र सामाजिक रूपान्तरण अभियानमा योगदान गरिरहनुभएका अत्यन्त सक्रिय स्रष्टा डा.राजेन्द्रप्रसाद अधिकारीलाई हामी प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने नै छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।