अविरल जनसाहित्य यात्रा– ६६ मा समकालीन चेतनाका प्रखर कवि कुसुम ज्ञवालीका एक दर्जन कविता गुञ्जिए

रमेश पोखरेल, काठमाण्डाै

२०७८ फाल्गुण १४

फागुन १४ गते शनिबार अपराह्न ठिक १ बजे जुम क्लाउड मिटिङका माध्यमबाट जनसाहित्यिक मञ्च, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ६६ औँ शृङ्खलामा क्यानडामा रहेर पनि नेपाली प्रगतिवादी साहित्यको उत्थानमा सक्रियता देखाइरहनुभएका र सिर्जनामा क्रियाशील भइरहनुभएका समकालीन चेतनाका अत्यन्त प्रखर कवि कुसुम ज्ञवालीका एक दर्जन कविता गुञ्जिए ।


जनसाहित्यिक मन्च, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा अग्रज साहित्यकार एवम् एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई आमन्त्रण गरिएकोमा उपत्यका बाहिर रहनुभएका कारण प्रविधिले साथ नदिएर जोडिन सक्नुभएन । राष्ट्रिय जनसांस्कृतिक महासङ्घका महासचिव प्रेमनाथ अधिकारी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.भीम खतिवडा, त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्रमुख प्रा.डा.कृष्णप्रसाद घिमिरे, युद्धप्रसाद स्मृति प्रतिष्ठानका उपाध्यक्ष डा.फणीन्द्रराज निरौला, पारिजात स्मृति केन्द्रका अध्यक्ष स्नेह सायमी, डा.षडानन्द पौडेल, डा.नेत्र एटम, डा.रवीन्द्र पाण्डे, साहित्य सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी, अतिथि कविहरू खड्गसेन ओली, भावना पोखरेल (क्यानडा)लगायतका व्यक्तित्वहरू अमेरिका, क्यानडा, नेपालका विभिन्न भूभागबाट जोडिनुभएको थियो ।


रमेश पोखरेलको प्रविधि व्यवस्थापन र देबु लुइटेलको सञ्चालनमा सम्पन्न भएको उक्त समारोहका अध्यक्ष राम विनयले छ वर्षअगाडिदेखि सञ्चालन गरिएको ‘अविरल जनसाहित्य यात्रा’ बिचमा केही समय रोकिएकोमा एकजना प्रगतिवादी स्रष्टालाई यो विशेष समारोहमा उपस्थित गराई कविको व्यक्तित्व तथा कृतित्वका बारेमा समेत चर्चा गर्दै एक दर्जन कविता सुन्ने र ती कविताको समालोचना गर्ने यो कार्यक्रमले स्रष्टालाई र समग्र नेपाली साहित्यमा केही न केही योगदान अवश्य पुग्छ भन्ने उद्देश्यका साथ थालनी गरिएको हुँदा यस्तो महत्त्वको शृङ्खला रोक्नुहुन्न पुनः थालनी गर्नुपर्छ भन्ने निर्णय गरी मन्चकी कोषाध्यक्ष यशोदा अधिकारीको संयोजकत्वमा डा.हरिप्रसाद सिलवाल र देबु लुइटेल सदस्य रहेको समिति नै गठन गरी यो शृङ्खलालाई निरन्तरता दिइएको र आजको यो विशेष शृङ्खलामा भने क्यानडामा रहेर अत्यन्त सक्रियताका साथ नेपाली प्रगतिवादी साहित्यमा कलम चलाइरहनुभएका कुसुम ज्ञवालीलाई प्रस्तुत गरिएको छ । उहाँका एक दर्जन कविता सुन्ने यो विशेष समारोहमा हाम्रो निमन्त्रणा स्वीकार गरी क्यानडा, अमेरिका र नेपालका विभिन्न भागबाट ठुलो सङ्ख्यामा उपस्थित भइदिनुहुने साहित्यानुरागी सबैमा हार्दिक स्वागत गर्दछु र यो गरिमामय उपस्थितिका लागि हार्दिक आभारसमेत व्यक्त गर्दछु भन्नुभयो ।


‘अविरल जनसाहित्य यात्रा’की संयोजक यशोदा अधिकारीले आजको विशेष समारोहका कविनायक कुसुम ज्ञवालीको परिचय दिनुहुँदै २०३० सालमा गुल्मी जिल्लामा जन्मिएका कुसुम ज्ञवाली पेसाले इन्जिनियर भए पनि नेपाली प्रगतिवादी साहित्यमा कथा, लघु कथा, कविता विधामा कलम चलाइरहनुभएको, अङ्ग्रेजी र हिन्दी साहित्यका राम्रा कृतिहरूको अनुवाद गर्नुभएको, पाठ्यपुस्तकहरूको प्रकाशन गर्नुभएको, सामाजिक रूपान्तरण अभियानमा सक्रियता देखाइरहनुभएक छ । जनसाहित्यिक मन्च नेपालका संस्थापक कोषाध्यक्षसमेत रहनुभएका व्यक्तित्व भएकाले वैचारिक फोरम पनि रहेको यो शृङ्खलामा जोडिन हामीले गरेको आग्रहलाई स्वकार गरी आज मध्यरातमा क्यानडाबाट जोडिनुभएको छ भन्दै स्वागतसमेत गर्नुभयो ।


कविनायक कुसुम ज्ञवालीले कविताको रचनागर्भका बारेमा समेत सङ्क्षिप्त प्रकाश पार्दै ‘पहिलो पल्ट’, ‘हो मैले तिमीलाई नै भोट दिएँ’, ‘सम्भव क्रान्ति’, ‘रानी महल’, ‘समुन्द्रपारिको दलित’, ‘आम भोज’ र ‘मौरी’ शीर्षकका अत्यन्त विचारोत्तेजक कविताहरू उत्कृष्ट वाचनशेलीका साथ प्रस्तुत गर्नुभयो भने सहयोगी कविहरू स्नेह सायमीले ‘पूmलको इतिहास’, खड्गसेन ओलीले ‘नयाँ कुवा’, भावना पोखरेलले ‘विदेशतिर बसाइँ सर्दा’ र देबु लुइटेलले ‘छुन्नौ मलाई किन’ (शार्दूलविक्रीडित छन्द) शीर्षकका अत्यन्त सुन्दर कविता वाचन गर्नुभयो ।


वाचित कवितामाथि टिप्पणी गर्नुहुँदै डा.हरिप्रसाद सिलवालले कवि कुसुम ज्ञवालीले वाचन गर्नुभएका कवितामा धर्मको नाममा गरिने व्यापार र त्यसमा देखिएको ढोँग, विकृति र विसङ्गतिलाई उजागर गरिएको छ । त्रासद राजनीतिले नागरिकको जीवनरक्षामा नै धावा बोलेको अतिवादका कारण जीवनभन्दा ठुलो भोट त होइन नि भन्ने ठानेर, एकपटक न हो भन्ने ठानेर भोट दिएको तितो यथार्थको अत्यन्त मर्मान्त प्रकटीकरण भएको छ । नेतृत्वमा वैचारिक विचलनसहितको भ्रान्ति देखापरेको, छद्मभेषी कुरूपता देखिएको सुन्दर वक्रोक्ति प्रस्तुत भएको छ । दलितका नाममा गरिएका मानवीय विभेद उजागर गरिएको; ग्राम्य सौन्दर्यसहित मानवीय प्रेम हार्दिकरूपमा अभिव्यक्त भएको छ । वर्तमानसम्म पनि राजनीतिलाई धमिलो पार्ने र स्वार्थबाहेक केही नहेर्ने, फुट र विभाजनमा रमाउने निर्लज्जताप्रति कठोरताका साथ प्रहार गरिएको छ । मनमुटुमा सपना बोकेर बिदेसिएका नेपालीहरूले त्यहाँ भोगेका पीडा एवम् विभेदलाई यथार्थपरक ढङ्गले उजागर गरिएको छ । मुलुकको निर्माणमा वा श्रमका माध्यमबाट योगदान गर्नेहरूको इतिहास नलेखिएको पीडा अभिव्यक्त भएको; भोज हार्दिकता जनाउने स्थल हुनुपर्नेमा आडम्बर र ढोँग प्रदर्शन गर्ने स्थलका रूपमा विकसित भइरहेकोमा चिन्ता जाहेर गरिएको छ । माओको देशमा नक्कली, ढोँगी र छद्मभेषी नदेखिएका तर हामीकहाँ भने त्यो पीडा देश र जनताले भोगिरहेको अवस्थाका प्रति कटाक्ष गरिएको छ । मौरीको एकता, हार्दिकता र सहकार्यबाट पाठ सिक्नुको सट्टा स्वार्थ र फुटपरस्त शैली मौलाएकोमा चिन्ता जाहेर गरिएको छ । विदेशमा समेत आडम्बर प्रस्तुत गर्ने प्रवृत्ति मौलाएकोमा चिन्ता जाहेर गरिएको छ । कवि आफैँ वैचारिक, साङ्गठनिक अभियानका अभियन्ता भएका कारण विचार, शिल्प, कला र प्रस्तुतिको सुन्दर तालमेल कवितामा रहेको छ । सबै कवितामा समसामयिक युग बोलेको छ, कविताले गलत बाटोमा गएकालाई सही बाटोमा फर्काउने सन्देश सम्प्रेषण गर्न सफल भएका छन् । जीवनका आरोह–अवरोह र मानवमस्तिष्कका उपजलाई विषय बनाएर कविताको बान्की प्रदान गर्ने कुसुम ज्ञवालीको कवित्व शक्ति अनुकरणीय रहेको छ । सबै कवितामा प्रगतिवादी मानवतावाद, प्रगतिवादी राष्ट्रवाद सम्प्रेषित हुनुका साथै विदेशमा रहेर पनि मन र मुटुमा नेपाल र नेपाली, नेपाली राष्ट्रियता, नेपालको स्वाधीनताका पक्षमा कविले वकालत गरेका छन्, अर्थहीन लेखनको भ्रमका विरुद्धमा कवि कुसुम ज्ञवालीका कविता उभिएका छन् भन्ने धारणा राख्नुभयो ।


विशेष अतिथि प्रेमनाथ अधिकारीले लामो समयदेखि चलिरहेको ‘अविरल जनसाहित्य यात्रा’ केही समयदेखि रोकिएकोमा त्यसलाई अझ सशक्तरूपमा सञ्चालन गर्नेगरी जनसाहित्यिक मन्च, नेपालले निर्णय गरी आज सात समुद्रपारिको देशमा रहेर पनि नेपाली प्रगतिवादी साहित्यका क्षेत्रमा क्रियाशील भइरहनुभएका कवि कुसुम ज्ञवालीलाई प्रविधिका माध्यमबाट जोडेर अत्यन्त सुन्दर कविता श्रवण गर्ने अनि ती कवितामाथि गरिएको गहन समीक्षा पनि सुन्ने अवसर प्राप्त भयो । यो अवसरका लागि हार्दिक धन्यवाद दिन्छु र अब यसले निरन्तरता पाओस् भन्ने शुभकामना दिनुभयो र यही २०७८ चैत्र १९ र २० गते सङ्गठनको अधिवेशन हुने सूचना पनि दिँदै तयारीसमेतका लागि आग्रह गर्नुभयो ।


विशेष समारोहमा संसारभरिबाट जोडिनुभएका साहित्यानुरागी व्यकितत्वलाई धन्यवाद दिँदै मन्चका उपाध्यक्ष रमेश पोखरेलले २०५६ सालदेखि एक दशक साहित्य सन्ध्याका सचिवको रूपमा जिम्मेवारी बहन गर्नुभएका, जनसाहित्यिक मन्च नेपालका संस्थापक कोषाध्यक्ष कु्सुम ज्ञवाली नेपालमा रहँदा ज्यादै नै सक्रिय व्यक्तित्वका रूपमा स्थापित हुनुभएका र क्यानडामा गएपछि पनि नेपाली भाषा र साहित्यको जगेर्ना गर्ने उद्देश्यले ‘क्यालगरी रेडियो स्टेसन’ स्थापना गरेर त्यसैका माध्यमबाट नेपाली भाषा र साहित्यको सेवामा समर्पित भइरहनुभएके छ । नेपाली प्रगतिवादी साहित्यमा कविता, कथा, लघु कथा, निबन्ध विधामा निकै तिख्खर सिर्जना गर्ने ज्ञवाली आफ्ना सिर्जनामा विचार, कला र प्रस्तुतिको सुन्दर तालमेल गर्ने अत्यन्त सक्रिय स्रष्टा हुनुका साथै विदेशमा बसेर पनि नेपाली राजनीति, नेपाली जनजीवन, विपन्न वर्गका जनताले भोगेको पीडा, अभाव र विभेद अनि लोकतन्त्र भनिए पनि तल्लो वर्गका जनताले त्यसको अनुभूति गर्न नपाएको पीडालाई नजिकबाट अधययन गर्ने र आफ्नो लेखनमा त्यसलाई विषय बनाउने अनि रूपान्तरणका पक्षमा आबाज बुलन्द गर्ने स्रष्टा हुनुहुन्छ । उहाँ आपूm प्रविधिविज्ञ रहेकाले नेपाली साहित्यमा कलम चलाउने स्रष्टाले प्रविधिमैत्री हुनुपर्छ भनेर २०६४ सालमा आपूm अध्यापन गरिरहेको हिमालय कलेजको कम्प्युटर प्रयोगशालामा ६०–६५ जना साहित्यकारलाई भेला गराएएर प्रविधिको प्रयोगका बारेमा तालिमसमेत दिनुभएर सबैलाई सक्षम बनाउनुपर्छ भन्ने मान्यता राख्ने यस्ता गुणग्राही व्यक्तित्वलाई आजको यो विशेष समारोहमा प्रविधिकै माध्यमबाट जोड्न र उहाँका कविता सुन्न पाएकामा हार्दिक आभार व्यक्त गर्दछौँ । अर्काे महिनामा महामारीजन्य अवस्थामा थप सामान्यीकरण भएमा प्रत्यक्षरूपमा र नभए पनि यसैगरी प्रविधिका माध्यमबाट ६७ औँ अविरल जनसाहित्य यात्रा सम्पन्न गरिने छ र सो विशेष समारोहमा प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरीका एक दर्जन कविता श्रवण गर्नका लागि निम्ता गर्ने छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *