‘अविरल जन साहित्य यात्रा–२२’ मा प्रखर प्रगतिवादी युवा कवि आर.एम.डङ्गोलका प्रतिनिधि कविता वाचन

रमेश पोखरेल

माघ ८ गते शुक्रवार अपराह्न ठिक २.३० बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घको सभाकक्षमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घको आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा ‘अविरल जन साहित्य यात्रा–२२’ सम्पन्न भयो । हरेक महिनाको दोस्रो शुक्रवार पारेर ठिक २.३० बजे महासङ्घको सभाकक्षमा वरिष्ठदेखि हालसम्मका साहित्यकारका एकल रचना वाचन गर्ने विशेष कार्यक्रम निरन्तर रूपमा सम्पन्न गर्ने यो अभियानको आज बाइसौँ शृङ्खला सम्पन्न गर्न लागिएको जानकारी सहित जन साहित्यिक मञ्च, नेपालकी कोषाध्यक्ष यशोदा अधिकारीले कार्यक्रमको सञ्चालन गर्दै उक्त विशेष समारोहको अध्यक्षताका लागि जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयलाई आग्रह गर्नु भयो । प्रमुख अतिथिका रूपमा प्रा.राजेन्द्र सुवेदी, विशेष अतिथिमा नेकपा एमाले केन्द्रीय सदस्य एवम् राष्ट्रिय जन सांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई उपस्थित हुनु हुन्थ्यो भने अतिथिहरूमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरी, प्राज्ञ डा.अमर गिरी, नेकपा एमाले केन्द्रीय लेखा समिति सदस्य गोपाल बराल, प्राज्ञ उपेन्द्र पागल, सांसद तथा महासङ्घकी उपाध्यक्ष मधु गुरुङ, प्राज्ञ गायत्री विष्ट, वरिष्ठ साहित्यकार रामप्रसाद प्रदीप, साहित्यकार श्रीहरि फुयाल, राष्ट्रिय जन सांस्कृतिक महासङ्घका का.वा.महासचिव प्रेमनाथ अधिकारी, जन साहित्यिक मञ्च काभ्रेका अध्यक्ष लक्ष्मण सापकोटा, महासङ्घका सचिव कृपाराम धमला र सहकोषाध्यक्ष जङ्ग पहाडी उपस्थित हुनु हुन्थ्यो ।

प्रमुख अतिथि प्रा.राजेन्द्र सुवेदीले आजको कार्यक्रमका प्रमुख नायक प्रखर प्रगतिवादी युवा कवि आर.एम.डङ्गोललाई सम्मान पत्र अर्पण गर्नु भयो, विशेष अतिथि खगेन्द्र राईले टीका लगाइ दिनु भयो भने सभाध्यक्षले माल्यार्पण गरी समारोहमा स्वागत गरियो । त्यसै गरी उहाँलाई कविता वाचनमा सहयोग गर्ने कविहरू डा.विष्णु के.सी., टङ्क उप्रेती, प्राज्ञ शशी लुमुम्बु, प्रोल्लास सिन्धुलीय, पुरु लम्साल, शकुन्तला जोशी र कवि आर.एम.डङ्गोलकी जीवन सङ्गिनी सन्तुलाई मञ्चमा आसन ग्रहण गराइयो र विशेष अतिथिले सहयोगी कविहरूलाई टीका लागाएर स्वागत गर्नु भयो ।

समारोहका नायक आर.एम.डङ्गोलको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै जन साहित्यिक मञ्च, नेपालका उपाध्यक्ष रमेश पोखरेलले मूलतः कवि त्यसपछि समालोचक र निबन्धकार आर.एम.डङ्गोलको व्यक्तित्वलाई तिन भागमा बाँड्न सकिन्छ भन्नु हुँदै उहाँको पहिलो र प्रमुख व्यक्तित्व भनेको कवि व्यक्तित्व हो । उहाँका ‘राशिफल हेरेको मान्छे’ २०५७, ‘दशगजावारि’ २०६२ कविता सङ्ग्रह प्रकाशित भएका र ‘चौध वर्षपछि’ २०७२ प्रज्ञा प्रतिष्ठानको कविता महोत्सवमा पुरस्कृत ५ जना कविका कविताको संयुक्त सङ्ग्रह प्रकाशित भएको छ, अर्काे कविता सङ्ग्रह आउँदै गरेको र केही लामा कविता पनि उहाँले लेख्नु भएको छ । २०४५÷४६ सालतिर साहित्य सन्ध्यामा कविता सुनाउँदा पनि उहाँले स्रोता पुरस्कार पाउनु भएको; आफ्ना कवितामा राष्ट्र, राष्ट्रियता, ग्रामीण जन जीवनका दुख, कष्ट, पीडा मर्म र व्यथालाई उजागर गर्ने र रूपान्तरणको स्पष्ट सन्देश सम्प्रेषण गर्ने; ग्रामीण जनबोलीको र ग्रामीण विम्बको सुन्दर संयोजन गर्न सक्ने, विचारलाई रूपान्तरणको बीज मानेर कलात्मक बान्की दिन सक्ने, सुन्दर तर निर्भीक अभिव्यक्ति सम्प्रेषण गर्ने; शोषण, उत्पीडन, अन्याय, अत्याचारको विरोध गर्दै निमुखा र उत्पीडित वर्गका पक्षमा वकालत गर्ने, कवितामा विषयको विविधता प्रस्तुत गर्ने विशेषता उहाँमा विद्यमान रहेका हुँदा उहाँको कवि व्यक्तित्व सफल रहेको छ ।

त्यसै गरी १२ वर्षदेखि अविच्छिन्न प्रकाशित भइ रहेको ‘शब्द संयोजन’ साहित्यिक मासिकको स्थापना कालदेखि नै सम्पादकको भूमिका र केही वर्ष कार्यकारी सम्पादकको भूमिका निर्वाह गरी १० वर्ष योगदान गर्नु भएकाले उहाँको साहित्यिक पत्रकारको व्यक्तित्व पनि स्थापित भएको छ । प्रगतिशील लेखक सङ्घको काठमाडौँ जिल्ला अध्यक्ष हुँदै हाल केन्द्रीय सचिव; ‘स्रष्टा चैत्र ३०’, ‘प्रगतिशील प्राध्यापक सङ्गठन’, ‘कपन साहित्य समाज’ जस्ता सङ्घसंस्थामा संलग्न रहेर सङ्गठक व्यक्तित्वको पुष्टि गर्नु भएको छ । त्यसै गरी मिलनसार व्यक्तित्वका रूपमा पनि हामीबिच परिचित हुनु हुन्छ, सबै पक्ष र विचारका सँग मिलेर काम गर्न सक्नु उहाँको विशेषता हो । उाँका यी सबै व्यक्तित्वको एकमुष्ठ उद्देश्य नै सामाजिक रूपान्तरण अभियानलाई बल पुर्याउनु हो, जुन उहाँले गरि रहनु भएको छ भन्नु भयो ।

विशेष समारोहका आकर्षण आर.एम.डङ्गोलले राष्ट्रिय जन सांस्कृतिक महासङ्घ र यसको सक्रिय घटक संस्था जन साहित्यिक मञ्च, नेपालले चलाइ रहेको यो गरिमामय अभियानमा अत्यन्त अग्रज साहित्यकार एवम् सामाजिक रूपान्तरणको अभियानमा समर्पित विशिष्ट व्यक्तित्वका माझ उपस्थित भएर कविता वाचन गर्ने यो अवसर आफ्नालागि ऊर्जामय भएको; यो विशिष्ट कार्यक्रम कविता, वाचन र व्यक्तित्वको परीक्षणको कार्यक्रम समेत भएको विचार व्यक्त गर्दै कविता लेखनको पृष्ठभूमिको जानकारी समेत गराउँदै ‘अन्तर’ ‘म माझी’, ‘अखबारमा देश’, ‘घर बनाउँदै गर्दा’, ‘घडी समय’ र ‘जिन्दगीको उकालो’ शीर्षकका छ ओटा सुन्दर र शक्तिशाली कविता वाचन गर्नु भयो । सहयोगी कविहरू पुरु लम्सालले ‘जुनको कथा’ शीर्षकको, शकुन्तला जोशीले ‘यस्तो एउटा अवसर’ शीर्षकको, डा.विष्णु के.सी.ले ‘जीवन सङ्गीत’ शीर्षकको, टङ्क उप्रेतीले ‘ढोका बनाएर आफैँलाई’ शीर्षकको, प्राज्ञ शशी लुमुम्बुले ‘लामो लाममा लामबद्ध भएर’ शीर्षकको, प्रोल्लास सिन्धुलीयले ‘गुनासा’ शीर्षकका मझौला आकारका तर शक्तिशाली कविता वाचन गर्नु भयो ।

वरिष्ठ प्रगतिवादी साहित्यकार, प्रगतिशील लेखक सङ्घका अध्यक्ष एवम् प्राज्ञ डा.अमर गिरीले राष्ट्रियताका पक्षमा वकालत गर्दै समकालीन राजनीतिक विकृति र विसङ्गतिमाथि कवितामा सशक्त प्रहार गरिएका, जातीय र लैङ्गिक विभेदमाथि प्रहार गर्दै रूपान्तरणको आग्रह गरिएका कविताहरू काव्यात्मक संवादका दृष्टिले अब्बल छन् । आर.एम.डङ्गोल जीवनका कवि हुन्, परिवर्तनका कवि हुन् र स्वप्नका कवि हुन् । नेपाली समाजका अँध्यारा पक्षले चिमोटेपछि कवितामा गम्भीरतापूर्वक प्रस्तुत गर्ने अनि नेपाली समाजको समग्र रूपान्तरणको आग्रह गर्ने उहाँको शैली निकै प्रखर छ । जीवनप्रतिको दार्शनिक दृष्टिकोण सजीवताका साथ कवितामा प्रस्तुत भएको छ । समकालीन यथार्थता तथा जटिलतालाई वा हामीले भोगेको कठोर वर्तमानलाई सशक्त ढङ्गले उजागर गर्ने र रूपान्तरणको आग्रह गर्ने काम कविले इमान्दारिताका साथ गर्नु भएको छ । कविताको भाषाशैली आकर्षक छ, सुन्दर विम्ब प्रतीक र अलङ्कारको प्रयोग गरिएको छ भन्ने धारणा राख्नु भयो ।

प्रमुख अतिथि प्रा.राजेन्द्र सुवेदीले प्रतिनिधिमूलक विज्ञको उपस्थिति रहेको यो शालीन र भद्र विशेष समारोहमा कविताको विषय, शिल्प र प्रस्तुति जस्ता कविता सशक्त पार्न आवश्यक तत्त्वलाई तालमेल मिलाएर कविले प्रस्तुत गरेका, प्रस्तुति निकै शक्तिशाली रहेको, कवितामा कविको प्रवाह टुङ्गिनु पर्छ भन्ने कुरामा कवि डङ्गोलले हेक्का राखेका छन् । वास्तवमा कविले कविता वाचन गरि सकेपछि पाठक वा स्रोता सक्रिय हुन्छ त्यसो भयो भने मात्र कविता शक्तिशाली हुन्छ । आफूल भोगेको सम्वेदनालाई शिल्पमा सजाउन सक्नु कविको क्षमता हो । देशबाट युवा पलायन हुनु भनेको देशको सामाजिक सांस्कृतिक अधोगति हुनु हो । यस्तो गम्भीर पीडालाई पनि कविले कवितामा सुन्दर ढङ्गले व्यक्त गरेका छन् भन्ने धारणा सहित थप्नु भयो –‘वर्तमान अत्यन्त जटिल छ, हामी मानव बन्ने प्रयत्न गरौँ ।’

वैचारिक सङ्गठन, साहित्यिक पत्रकारिता, प्राध्यापन क्षेत्रलाई आफ्नो पेसा बनाउँदै प्रगतिवादी साहित्यका फाँटमा आफूलाई सशक्त कविका रूपमा स्थापित गर्न सफल कवि आर.एम.डङ्गोलका कविता सुन्न उपस्थित भइ दिनु भएका सबै साहित्यकारहरूलाई धन्यवाद सहित विशेष समारोहको समापन गर्दै सभाध्यक्ष राम विनयले फागुन महिनाको कार्यक्रममा मिश्र बैजयन्ती र देवी नेपालमध्ये कुनै एकलाई प्रस्तुत गरिने जानकारी सहित कार्यक्रमको समापन गर्नु भयो ।

गोष्ठीमा जन साहित्यिक मञ्च, नेपालको काव्य विभागकी संयोजक डा विन्दु शर्मा तथा मञ्चका सल्लाहकार डा.नेत्र एटमका बुबाको देहावसान भएकोमा हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *