काठमाडौँ, १० भदौ २०७५
मध्यपूर्व इजरायलमा बसेर कविता सिर्जनाका साथसाथै साहित्य सेवा गरिरहेकी तेह्रथुमकी कवियत्री सुनिता राई कन्दङ्वा आफ्नो पहिलो कविता सङ्ग्रह ‘एक जुवा घाम’ लिएर आएकी छिन् । सानैदेखि कविता लेखनमा अभिरुचि भएकी उनका यसअघि विभिन्न पत्रपत्रिकामा फुटकर कविता प्रकाशित भएता पनि सङ्ग्रह भने पहिलो पटक प्रकाशन भएको हो । सङ्ग्रहमा ‘एक जुवा घाम’, ‘एक जीवित आत्मा’, ‘आमाको पुकार’, ‘ढाँडखोला भञ्ज्याङ र मेरी आमा’, र ‘कदेखि ज्ञसम्म’ समेत गरी जम्मा ६१ वटा कविताहरू समाविष्ट छन् ।
कवितामा कवियत्री सुनिताको उच्च काव्यचेत पोखिएको पाइन्छ । उनले ग्रामीण बिम्ब, प्रतीक र मिथकहरूको कुशल प्रयोग गरेर सरल र सम्प्रेष्य भाषामा कविता रचेकी छिन् । सङ्ग्रहभित्र प्रा.डा. गोविन्दराज भट्टराईको गहन भूमिका छ । भूमिकामा भट्टराईले सुनितालाई ‘समकालीन नेपाली कविता जगत्मा राम्रा कविता रच्ने एक स्पष्टवादी नारी स्रष्टा’ भनेका छन् । सङ्ग्रह विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले छापेको हो ।