रमेश पोखरेल
मिति: २०६९।२।६
आज शनिवार बिहान ८ बजे अछाम जिल्लाका कथाकार घनश्याम शर्माको तेस्रो कथा सङ्ग्रह छिरिङ डोल्मा र अनाम सहिदहरू कथाकारकै निवास घट्टेकुलोमा विमोचन गरियो । २०२३ सालमा अछाम जिल्लामा जन्मेका कथाकार घनश्याम शर्मा पेसाले इन्जिनियर हुन् । घरबाट भक्तपुर स्थित कार्यालय जाने सिलसिलामा एक वर्षअघि तिनकुनेमा आफूले रातो बत्तीमा रोकेर राखेको मोटरसाइकललाई एउटा जिपले ठक्कर दिएपछि बाँसबारी स्थित न्यूरो अस्पतालमा ७२ दिन राख्दा पनि ठिक नभएर अहिले चिकित्सककै निगरानीमा निवासमै कोमामा रहेका छन् र चिकित्सकले जीवित वनस्पतिको संज्ञा दिएका छन् ।
कथाकार शर्माको पहिलो कथा सङ्ग्रह २०६० सालमा धुलोमा उडेका सपनाहरू प्रकाशित भएको थियो भने दोस्रो कथा सङ्ग्रह अभिशप्त समय २०६४ सालमा प्रकाशित भएको थियो । पूर्व प्रकाशित दुइटै कथा सङ्ग्रहमा २३÷२३ ओटा कथा समावेस भएका छन् । हाल साझा प्रकाशनले प्रकाशित गरेको तेस्रो कथा सङ्ग्रह छिरिङ डोल्मा र अनाम सहिदहरूमा बाइस ओटा कथा सङ्ग्रहित रहेका छन् ।
कोमामा रहेका कथाकार घनश्याम शर्माका बुबाको पहिले नै देहान्त भइ सकेको छ । आमा हाल छोराको हेरचाहमा नै हुनु हुन्छ । दुई दाजुभाइमा उनी जेठा हुन् र उनका दुई दिदी बहिनी छन् । जीवन सङ्गीनी सरिता शर्मा न्यौपाने र छोराहरू जेठो भारतमा इन्जिनियरिङ अध्ययनरत रहेका र कान्छोले हालै कक्षा १२ को परीक्षा दिएको पारिवारिक अवस्था छ । कथाकारकै घरको कौसीमा आयोजित आजको विमोचन समारोहमा दुई छोराले स्टे«चरमा राखी माथि ल्याएपछि पुस्तकको घुम्टी जीवन सङ्गिनीले खोलि दिएर हातमा राखि दिई कथा सङ्ग्रहको विमोचन कथाकारकै हातबाट गरिएको थियो । सङ्क्षिप्त कार्यक्रम भए पनि कथाकारका आफन्त, कर्मचारी साथीहरू, साहित्यकार तथा शुभ चिन्तकको ठुलो उपस्थिति रहेको (७५ जना) थियो र कौसी खचाखच भएको थियो ।
विमोचन समारोहको आयोजना बसिबियाँलो कार्यक्रमले गरेको थियो र अध्यक्षता उक्त कार्यक्रमका सञ्चालक अनिल पौडेलले गर्नु भएको थियो । रमेश पोखरेलले सञ्चालन गरेको उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तित्वहरू पहिलेको हट्टाकट्टा, रसिक, उत्साही र सक्रिय स्रष्टा घनश्याम शर्मा अहिले कोमामा रहेको दर्दनाक अवस्था देख्दा मर्माहत भएका थिए । उपस्थित आदरणीय व्यक्तित्वलाई कथाकारकी जीवन सङ्गिनी सरिता शर्मा न्यौपानेले स्वागत गर्नु भएको थियो । सहकर्मी कर्मचारीका तर्फबाट प्रकाश उपाध्यायले कथाकार घनश्याम शर्माको अहिलेको अवस्थाप्रति भाव विभोर हुँदै ज्यादै ऊर्जावान्, इमान्दार, जस्तोसुकै समस्या पनि निराकरण गर्न सक्ने, जाँगरिलो र फुर्तिलो सहकर्मी जो कामबाट फर्केर आउँदा कथा तयार पारि सक्थ्यो’को आज यस्तो अवस्था आएकोमा चिन्ता व्यक्त गर्नु भयो । कवि एवम् साहित्यकार गोविन्द घिमिरे ‘वेदमणि’ ले ज्यादै प्रतिभाशाली कथाकारको भौतिक अवस्था देखेर भाव विभोर भएको धारणा राख्नु भयो । कथाकार शर्माका तिनै ओटा कथा सङ्ग्रहको कभर डिजाइन गर्ने साहित्यकार तथा रेडियो नेपालको साहित्यिक कार्यक्रमका सञ्चालक रमेश पौडेलले अत्यन्त भाव विभोर हुँदै कथाकारको जाँगर, प्रतिभा र लेखकीय क्षमताका बारेमा प्रकाश पार्नु भयो । कथाकारका बालसखा तथा जिल्लाबासी गजलकार एवम् प्राज्ञ ललिजन रावलले सानैदेखि प्रतिभावान घनश्याम सुरुसुरुमा ‘घनश्याम कोपिला’का नामबाट कविता लेख्ने मेधावी थिए । कागजमा उमेर पु¥याउँनु पर्ने कारणले २०२३ सालमा जन्मेका भए पनि एस.एल.सी.दिनका लागि २०२१ सालको जन्म लेखाइएको, मिहिनेत गर्न कत्ति पनि पछि नहट्ने, कथा लेखेर पनि साथीभाइसँग छलफल गर्ने, सूक्ष्मभन्दा सूक्ष्म विषय वस्तुलाई अत्यन्त जीवन्त रूपमा कथामा उतार्न सक्ने क्षमता भएका विलक्षण प्रतिभा रहेको चर्चा गर्नु भयो ।
कथाकार शर्माका दुइटा कथा सङ्ग्रह धुलोमा उडेका सपनाहरू र अभिशप्त समयका बाइस ओटै कथाका बारेमा समालोचक भागवत आचार्यले टिप्पणी गर्नु हुँदै ज्यादै प्राविधिक लाग्ने विषयलाई पनि अत्यन्त जीवन्त पाराले कथामा उतार्न सक्नु, सरलताभित्र गम्भीर भाव सम्प्रेषण गर्न सक्ने, अत्यन्त सुगठित र कोमल भाषाको प्रयोग गरिएका कथाहरू निकै जीवन्त मात्र रहेका छैनन् पढ्ने पाठक कथासँगै तत्तत् ठाउँमा पुगेको अनुभव गर्न बाध्य हुन्छ र यो कौशल प्रदर्शन गर्नमा कथाकार शर्मा खप्पिस देखा पर्छन् भन्नु भयो ।
आज विमोचित कथा सङ्ग्रह छिरिङ डोल्मा र अनाम सहिदहरूमा समाविष्ट बाइस ओटा कथाका बारेमा साहित्यकार, समालोचक एवम् शब्द संयोजन साहित्यिक मासिक पत्रिकाका प्रधान सम्पादक वासुदेव अधिकारीले चर्चा गर्दै विषयको विविधता, प्रस्तुतिको नवीन शैली, प्रवाहपूर्ण एवम् सशक्त भाषा, अत्यन्त सुन्दर बिम्ब विधान, पढ्ने पाठकलाई मन्त्रमुग्ध पार्ने कौशल, समाज र समाजका निम्न वर्गमा मान्छेले भोगेका नियति उजागर गरी त्यसमा स्पष्ट रूपान्तरणको वैचारिक सङ्केत, सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्न सक्ने क्षमता कथाकार शर्माले आफ्नो यो कथा सङ्ग्रहमा ज्यादै सशक्त रूपमा प्रस्तुत गरेका छन् भन्नु भयो र कथाकारको अहिले बाँचेको यो जीवनले स्वास्थलाभ गरोस् भन्ने आशावादी कामना गर्नु भयो ।
समारोहका अध्यक्ष अनिल पौडेलले कथाकार शर्माको इच्छा आफ्नो कथा सङ्ग्रह साझा प्रकाशनले गरि देओस् भन्ने रहेको हुँदा प्रकाशनको प्रयत्न गरिएको र उहाँकै हातबाट विमोचन गर्दा उहाँको आत्माले शान्ति प्राप्त गर्छ कि र उहाँको अन्तरमनको चाहनाले सचेत जीवनमा फिर्ता ल्याउँछ कि भन्ने हाम्रो पनि अन्तरमनको विश्वासका कारण यो कार्यक्रमको आयोजना गरिएको बताउनु हुँदै ज्यादै सुन्दर कलमका धनी ऊर्जावान स्रष्टाले भोगेको यो नियतिका प्रति परिवारजनको शान्त्वनाका लागि पनि र विपतमा परिवारजन मात्र होइन आफन्त र शुभचिन्तक पनि साथै हुन्छन्, छौँ भन्ने देखाउन पनि यो कार्यक्रमको आयोजना गरिएको जानकारी दिनु भयो र निम्ता स्वीकार गरेर आउनु भएका आफन्तजन, सहकर्मी, सञ्चार कर्मी तथा साहित्यकार शुभ चिन्तक सबैलाई धन्यवाद व्यक्त गर्नु भयो ।