नरनाथ लुइँटेल – काठमाण्डु



(तस्वीरः सरोज घिमिरे)
नेपाली हास्यव्यङ्ग्यका विराट व्यक्तित्व भैरव अर्यालको स्मृत्तिमा हेटौडा सिस्नुपानीले प्रदान गर्ने गरेको भैरव स्मृति सम्मानद्वारा यसपटक स्याङ्जाकी हास्यव्यङ्ग्य स्रष्टा गायत्री परिरोशनी सम्मानित हुनुभएको छ ।
भैरव अर्यालको जयन्तीका अवसरमा हेटौडामा आयोजित सम्मान समारोहमा प्रमुख अतिथि तथा हास्यव्यङ्ग्यका विशिष्ट शिल्पी मोहनराज शर्माले नगद रकम र कदरपत्र प्रदान गर्नुभएको थियो । वर्षभरि प्रकाशित भएका हास्यव्यङ्ग्य कृतिहरूमध्ये उत्कृष्ट कृति छनोट गरी यस वर्ष गायत्रीको ‘कलेजमा क्यान्सर’ नामक हास्यव्यङ्ग्यका कृतिकालागि उहाँलाई सम्मानित गरिएको हो ।
हेटौडा सिस्नुपानीका संस्थापक एवम् हास्यव्यङ्ग्य स्रष्टा आरसी रिजाललगायत हेडौडाका स्रष्टाहरूको सक्रियतामा पुष्पलाल स्मृति पुस्तकालयको परिसरमा भैरव अर्यालको शालिक स्थापना गरिएको छ । सम्मान समारोह असोज ५ गते शालिक परिसरमा सम्पन्न भएको थियो । समारोहमा हेटौडा सिस्नुपानीले काठमाडौँको सस्नुपानी नेपाल र अन्य केही विशष्ट स्रष्टाहरूलाई आमन्त्रण गरेको थियो ।
प्राध्यापक समालोचक एवम् हास्यव्यङ्ग्य शिल्पी मोहनराज शर्मा, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष एवम् रचनाका द्वैमासिकका सम्पादक रोचक घिमिरे, अभिव्यक्ति द्वैमासिकका सम्पादक नगेन्द्रराज शर्मा, भैरव अर्यालका काका बलराम अर्याल, भैरवका सुपुत्र प्रकाश अर्याल, आनन्दराम पौडेल, सिस्नुपानी नेपालका सल्लाहकार, नरनाथ लुइँटेल, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गामनागे, उपाध्यक्ष एवम् हास्यकलाकार मनोज गजुरेल, महासचिव टङ्क आचार्य, सचिव हरिकला उप्रेती, र पत्रकार तथा सञ्चारकर्मी सरोज घिमिरे, झापाका डम्बर घिमिरे विराटनगरका विवश पोखरेल सर्लाहीका रमेश समर्थन लगायतलाई आमन्त्रण गरिएको थियो ।
कार्यक्रममा हेटौडाका स्रष्टा, साहित्यकार, साहित्यिक सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी एवम् प्रतिष्ठित समाजसेवीहरूको उल्लेखनीय उपस्थिति थियो । भैरव अर्यालको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरी औपचारिक समारोह आरम्भ भयो । निमेश निखिलले फटाफट केही नाम उद्घोषण गर्नुभयो । सभाध्ययका निम्ति सिस्नुपानीका अध्यक्ष लक्ष्मण गामनागेलाई, प्रमुख अतथिका निम्ति मोहनराज शर्मालाई, अतिथिका निम्ति रोचक घिमिरे नगेन्द्र राजशर्मा पूर्णप्रसाद अर्याल, गायत्री परिरोशनी आदि आदिलाई ।
आरसी रिजालले स्वागतका छोटो फाँकी बोलेपछि पहिलो चरणमै गायत्रीको हास्यव्यङ्ग्यकार व्यक्तित्वमाथि बोल्न लगाइयो प्रेम लुइँटेललाई । उहाँले गायत्रीको हास्यव्यङ्ग्यकार व्यक्तित्वमाथि प्रकाश पारेपछि भैरव स्मृत्ति सम्मानस्वरूप प्रमुख अतिथि मोराशले परिरोशनीलाई कदरपत्र र नगद रकम हस्तान्तरण गर्नुभयो ।
बधाइका औपचारिक अभिव्यक्तिका बीचबीचमा हास्यव्यङ्ग्य कविता सिर्जनाको प्रस्तुति छँदै थियो । पुरूषोत्तम आचार्यको व्यङ्ग्यात्मक गजल गायनपछि स्रष्टा एस के निधनले व्यङ्ग्यात्मक सूत्रकथा प्रस्तुत गर्नुभयो । त्यसपछि क्रमशः स्पन्दन साइँला, रामकुमार एलन, माधव भण्डारी देवराज खरेल, पिंडालु पण्डित, आनन्दराम पौडेल र रमेश समर्थनले आ–आफ्ना हास्यव्यङ्ग्य रचना प्रस्तुत गर्नुभयो ।
पूर्णप्रसाद अर्यालले पुरस्कार प्रायोजकका तर्फबाट सङ्क्षिप्त मन्तव्य दिँदै भैरवको स्मृतिमा स्थापित सम्मान शृङ्खलालाई निरन्तर दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । भैरव अर्यालका काका बलराम अर्यालले भैरव बितेको ३७ वर्ष भइसकेछ तर उनलाई सम्झनेहरू अझै रहेछन् भन्ने थाहा पाउँदा खुशी लागेको बताउँदै सामयिक व्यङ्ग्य कविता सुनाउनुभएको थियो । त्यसपछि भैरवका सुपुत्र प्रकाश अर्यालले पिता भैरवको अन्तिम अवधिका बारेमा संस्मरण सुनाउनुभयो ।
त्यसपछि सञ्चारकर्मी सरोज घिमिरेको उद्घोषणमा सिस्नुपानीको प्रस्तुति आरम्भ भयो । सुरुमै झापाका डम्बर घिमिरेको हास्यव्यङ्ग्य प्रस्तुतिले स्रोतालाई राम्रैसँग हँसायो । हरिकला उप्रेती, नरनाथ लुइँटेल, तुलसी घिमिरे, टङ्कराज आचार्य र विवश पोखरेलले आ–आफ्ना हास्यव्यङ्ग्य कविता प्रस्तुत गरेपछि प्रस्तुतिको अन्तिम हसाइँ थियो मनोज गजुरेलको । मनोजको हास्यव्यङ्ग्य प्रस्तुतिले हेटौडालाई मज्जैसँग हँसायो ।
सम्मानित हास्यव्यङग्य स्रष्टा गायत्री परिरोशनीले यस सम्मानबाट आफूलाई हास्यव्यङ्ग्य लेखमा सक्रि रहन ऊर्जा प्राप्तभएको बताउनुभयो । बधाई मन्तव्यको क्रममा रोचक घिमिरेले भैरवलाई स्मरण गर्दै उनको स्मृतिमा स्थापित सम्मानले एउटी महिला हास्यव्यङ्ग्य स्रष्टालाई सम्मान गर्न पाउँदा सुखद अनुभूति भएको बताउनुभयो ।
त्यसैगरी प्रमुख अतिथि मोहनराज शर्माले आफ्नो बधाइ मन्तव्यका क्रममा हास्यव्यङ्ग्य सबैले मन पराउने विषय भएको उल्लेख गर्दै यस क्षेत्रमा महिला स्रष्टाहरूको उपस्थिति स्वागतयोग्य भएको बताउनुभएको थियो । लगातार ४ घण्टासम्म चलेको समारोहलाई लक्ष्मण गाम्नागेले हास्यव्यङ्ग्य कविताबाटै बिट मार्नुभएको थियो ।
सम्मानित स्रष्टा गायत्री पररोशनी स्थानीय स्तरका विभिन्न साहित्यिक संस्थाहरूमा सक्रिय रहनुका साथै ‘बोकापालन’, ‘बोक्सीमन्त्र’, ‘कलेजमा क्यान्सर’ जस्ता हास्यव्यङ्ग्य कृतिहरू र पत्रपत्रिकामा बाक्लै हास्यव्यङ्ग्य रचना प्रकाशित भएका छन् ।

