नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको गौरवमय ४०औं वार्षिकोत्सव सम्पन्न

असोज ११, २०७९

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको गौरवमय ४०औं वार्षिकोत्सव ललितपुरको जावलाखेलमा प्रतिष्ठानको दिक्षा सदन स्थित पृथ्वी हलमा असोज ११, २०७९ मंगलबारको दिन विशेष समारोह आयोजना गर्दै सम्पन्न भयो । उक्त्त वार्षिकोत्सव राष्ट्रियगान गायनका साथमा सुरूवात भएको थियो र कार्यक्रमको औपचारिक समुद्घाटन प्रतिष्ठानको प्रशिक्षण परिषद सदस्य तथा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाले पानसमा बत्ती बालेर गर्नुभएको थियो । प्रतिष्ठानका उप-कार्यकारी निर्देशक श्री विष्णुप्रसाद लम्सालले वार्षिकोत्सव कार्यक्रममा सहभागी अतिथिहरूको स्वागत गर्दै तथा प्रतिष्ठानको बार्षिक प्रगतिको समिक्षा प्रस्तुत गर्नु भएको थियो । यस अवधिमा विश्वव्यापी कोभिड-१९ महामारीको अवस्थामा पनि सूचना प्रविधिको उपयोग गर्दै नयाँ ढङ्गबाट प्रशिक्षण तथा अन्य कार्यक्रमहरू सफलतापूर्वक संचालन गर्नुका साथै पूर्वाधार विकास एवम् प्रतिष्ठानका प्राध्यापन र प्रशासन तर्फका कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि निरन्तर प्रयास गरिएको जानकारी गराउनु भयो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले प्रतिष्ठानले कार्यन्वयन गरिरहेको दोस्रो रणनीतिक योजनामा अवलम्वन गरिएका तथा प्रतिष्ठानका सबै कर्मचारीहरूले प्रतिवद्धता जनाएका पाँच ‘मूल्य मान्यताहरू—सत्यनिष्ठा, नव-प्रवर्तन, समूहभाव, जिम्मेवारी र  सेवाग्राही प्रति आदरभाव’ को औपचारिक सार्वजनिकीकरण गर्नु भएको थियो । कार्यक्रममा पूर्व कार्यकारी निर्देशक श्री पुण्यप्रसाद न्यौपाने तथा पूर्व अध्ययन उप-निर्देशक श्री प्रकाश बहादुर श्रेष्ठलाई प्रतिष्ठानका तर्फबाट सम्मान गरिएको थियो । त्यसैगरी  ३५ औं आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रममा सर्वोत्कृष्ट हुने प्रशिक्षार्थी अधिकृत श्री लोकेन्द्र बहादुर राईलाई ‘कार्यकारी निर्देशक स्वर्ण पदक’बाट पुरस्कृत समेत गरिएको थियो  ।

सोही कार्यक्रममा ४०औं वार्षिकोत्सवका सन्दर्भमा आयोजना गरिएका विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी भई प्रथम तथा द्वितीय स्थान हासिल गर्नुहुने कर्मचारीहरूलाई प्रमुख अतिथिज्यूद्वारा पुरस्कार र प्रमाणपत्र वितरण गरियो । साथै, प्रमुख अतिथिबाट गत आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गर्नुहुने कर्मचारीहरू श्री रन्ता पोडे, श्री विष्णुहरि बास्कोटा, प्रशासन तर्फ श्री झबिन्द्र भण्डारी र प्राध्यापन तथा अनुसन्धान तर्फ श्री प्रतिभा ढुंगानालाई पुरस्कृत गरिएको थियो ।  सो पश्चात मन्तव्य राख्दै प्रमुख अतिथि डा. बास्कोटाले सार्वजनिक क्षेत्रको क्षमता अभिवृद्धि प्रशिक्षण मात्र नभई अनुसन्धान र परामर्शद्वारा पुर्याएको योगदानको प्रसंशा गर्दै प्रतिष्ठानको रणनीतिक योजना अनुसार कार्यक्रमहरू तर्जुमा र कार्यन्वयन, संस्थागत र वित्तीय सुशासनको फल स्वरूप निरन्तर शुन्य वेरूजु कायम राख्ने संस्थाका रूपमा नेपाल सरकारबाट समेत प्रशंसित भएको प्रति उच्च सम्मान व्यक्त गर्नु भयो । कार्यक्रमका विशेष अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एवं प्रशिक्षण परिषदका सदस्य श्री अर्जुन पोखरेलले प्रतिष्ठानको चालीसौं वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानको सम्पूर्ण कर्मचारीहरुलाई शुभकामना प्रदान गर्दै प्रशिक्षण कार्यक्रमहरूको आवधिक मुल्यांकन गरी सुधार गर्दै जानुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रमको अन्त्यमा कार्यकारी निर्देशक डा. राजन खनालले प्रतिष्ठानले प्रशिक्षण, अनुसन्धान र परामर्श कार्यमा निरन्तर सफल अभ्यास गर्न सकेकोमा प्रतिष्ठानका सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्न हुँदै अहिले आँफुले चर्चा गर्न पाएको लाभ पूर्वजहरूको निरन्तर र अथक प्रयास र नेतृत्वको लाभांश रहेको उल्लेख गर्नु भयो । सबैको अथक र निष्ठापुर्ण प्रयासहरू बाह्य पक्षबाट पनि मुल्यांकन हुने र यसैको उदाहरणको रूपमा  हालै प्रतिष्ठानलाई ‘नीति अनुसन्धान प्रतिष्ठान’ ले प्रदान गर्ने ‘नीति सम्मान २०७९’ बाट पुरस्कृत गरिएकोमा प्रतिष्ठान गौरवान्वित भएको समेत चर्चा गर्नु भयो । चालिस (४०) वर्षको यो स्वर्णिम समयको उपलब्धी जोगाउनु प्रतिष्ठानका सबै सदस्यको कर्तव्य हुने बताउंदै सरकारले निरन्तर गरेको विश्वास र सहयोग प्रति कृतज्ञता व्यक्त गर्दै कार्यक्रम समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *