नेपाल सरकारका १५३ नवनियुक्त राजपत्रांकित तृतीय श्रेणीका अधिकृतहरु दीक्षित

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा प्रतिष्ठानका कार्यकारी निर्देशक श्री पुण्यप्रसाद न्यौपानेको अध्यक्षता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री माननीय लालबाबु पण्डितको प्रमुख आतिथ्य तथा संघीय संसद सचिवालायका सचिव श्री हिमलाल सुवेदी, उपमहालेखापरीक्षक श्री ईश्वर नेपाल लगायत विभिन्न मन्त्रालयका सह-सचिवहरुको उपस्थितिमा नेपाल सरकारका नवनियुक्त राजपत्रांकित तृतीय श्रेणीका अधिकृतहरुका लागि मिति २०७४ पौष १७ गतेदेखि संचालित ३२औं आधारभूत प्रशासन प्रशिक्षण (तीन महिने कार्यक्रम) समापन समारोह आज मिति २०७५ बैशाख ०४ गते सम्पन्न भयो | उक्त कार्यक्रमको संचालन प्रतिष्ठानका अध्ययन निर्देशक श्री तुलसी शरण सिग्देलज्यूले गर्नुभएको थियो |

 

कार्यक्रममा तीन महिने प्रशिक्षणका दौरानमा खिचिएको वृतचित्र प्रदर्शन गरिएको थियो l ३२औं आधारभूत प्रशासन प्रशिक्षणका सहभागीहरुद्वारा निर्माण एवं हस्ताक्षर गरिएको “मूल्य-मान्यता” प्रतिको प्रतिबद्धतालाई सहभागीहरुको तर्फबाट प्रतिनिधिको रुपमा श्री सीता पोखरेलबाट वाचन पश्चात सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरुलाई माननीय मन्त्रीज्यूका बाहुलीबाट हस्तान्तरण गरिएको थियो | उक्त कार्यक्रममा प्रशिक्षार्थी अधिकृतहरुको रचनाको संगालो ‘सृजनाका फूलहरु‘ माननीय मन्त्रीज्यूले विमोचन गर्नुका साथै दीक्षित सबै सहभागीहरुलाई माननीय मन्त्रीज्युले प्रमाणपत्र वितरण गर्नुभयो |

कार्यक्रममा सहभागी प्रशिक्षार्थीको तर्फबाट बोल्दै श्री मेघराज अर्यालले “इतिहास भजाएर होइन बनाएर जानुपर्छ” भन्दै “प्रतिष्ठानले व्यवस्थापकीय कौशलताका साथ संचालन गरेको यो प्रशिक्षणको अनुभवलाई व्यवहारमा लागु गर्दै हामी आफ्नो हठ र जिद्दीले होइन मन बचन र कर्मले सेवा प्रवाह गर्नेछौं” भन्दै उहाँहरु नेपालको जुनसुकै कुनामा पनि गएर कार्य गर्न तयार रहेको कुरा ब्यक्त गर्नुभयो |

त्यसै गरी अर्का सहभागी प्रशिक्षार्थी सीता पोखरेलले प्रतिष्ठानमा छोटो समयमा “धेरै र व्यवहारिक ज्ञान सिकेका छौं”, भन्दै “निजामती सेवालाई हामी बदनाम हुन दिनेछैनौ” भन्ने कुरामा बिशेष जोड दिनुभयो l प्रशिक्षणका सबै मोडुल्स  र क्रियाकलापहरु अत्यन्तै राम्रा र कार्यसम्पादनमा सहयोगी रहेको कुरा बताउनुभयो |

प्रशिक्षण कार्यक्रमको समीक्षा गर्दै प्रतिष्ठानका वरिष्ठ निर्देशक तथा सार्वजनिक सेवा प्रशिक्षण विभागका विभागीय प्रमुख श्री नारायण गोपाल मलेगोज्यूले प्रशिक्षणको पाठ्यक्रममा रहेका विभिन्न मोडुल्स, क्रियाकलाप र विषयवस्तुको बारेमा प्रकाश पार्नुभयो | उहाँले सबैको सक्रिय सहभागितामा प्रशिक्षण कार्यक्रम सफलतापुर्वक समापन भएको छ भन्नुहुदै सिकेका कुरा कसरी व्यवहारमा लागु गर्नुहुनेछ, सफलता त्यसैमा निर्भर रहन्छ र मूल्य-मान्यता प्रतिको प्रतिबद्धता अत्यन्त स्वागतयोग्य छ भन्दै त्यसलाई व्यवहारमा लागु गर्न सक्नुहोस भन्ने कामना गर्नुभयो |

मन्तव्यको क्रममा संघीय संसद सचिवालयका सचिव श्री हिमलाल सुवेदीज्यूले मूल्य-मान्यताप्रतिको प्रतिबद्धता हृदयको आवाज हो कि वाध्यताको औपचारिकता हो छुट्टयाउनुपर्ने बताउदै सैद्धान्तिक ज्ञान प्रतिष्ठानमा सिकेर व्यवहारिकतामा खरो उत्रिनु पर्दछ र कार्यक्षेत्रमा डटेर कार्य गर्दै समाजले अपेक्षा राखेको सहज प्रक्रिया सहितको छिटो र स्वच्छ सेवा प्रदान गर्दै व्यवहारिक रुपान्तरण आवश्यक रहेको बताउनुभयो |

मन्तव्यको क्रममा उपमहालेखापरीक्षक श्री ईश्वर नेपालज्यूले नेपाल सरकारको समृद्धि र सुशासनको दृस्टीकोण र प्रशिक्षार्थीहरुद्वारा निर्मित मूल्य-मान्यताप्रतिको प्रतिबद्धता एक अर्काका परिपुरक हुन् भन्दै सेवा र सेवाग्राही प्रति सधै समर्पित र प्रतिबद्ध रहनुहोस भन्ने शुभकामना व्यक्त गर्नुभयो |

माननीय मन्त्री लालबाबु पण्डितज्यूले मन्तव्यको क्रममा निजामती क्षेत्र सबैभन्दा आकर्षणको क्षेत्र रहेको र यो क्षेत्र सक्षम पनि रहेको बताउनुहुदै “जम्मा गर्ने र जम्मा बुझाउने” कार्य नगर्नुहोला, हिम्मत नहार्नुहोला, गलत कार्यको विरुद्ध निरन्तर लागिरहनुहोला, आफूलाई खुम्च्याउने कार्य कहिले नगर्नुहोला भन्दै निजामती पुरस्कार पाउने तालिकामा यहाँहरु धेरैको नाम पर्न सकोस् भन्ने शुभकामना दिनुभयो |

कार्यक्रमको समापन गर्दै प्रतिष्ठानका कार्यकारी निर्देशक श्री पुण्यप्रसाद न्यौपानेज्यूले यहाँ सिकेका कुराहरु व्यवहारमा लागु गर्नुहुनेछ, जनताको अपेक्षा र सेवा प्रवाहबिच वर्तमानमा रहेको खाडल पुर्ने कार्य गर्नुहुनेछ, राष्ट्रका संरचना क्रियाशिल भैरहेको अवस्थामा सबै पक्ष खटिए जस्तै तपाईहरु पनि क्रियाशिल हुनुहुनेछ भन्ने विश्वास र शुभकामना व्यक्त गर्नुभयो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *