मितिः २०७१/११/२९
नेपाल प्रज्ञा-प्रतिष्ठान परिसरमा विशेष समारोहको अयोजना गरी इतिहास शिरोमणि बाबुराम आचार्यको १२८ औँ जयन्ती मनाइयो ।
प्रज्ञा प्रतिष्ठान र इतिहास सम्बद्ध संस्थाहरूको संयुक्त आयोजना रहेको समारोहमा प्रामािणक नेपाली इतिहास लेखन कार्यमा आचार्यले दिनुभएको योगदानमाथि प्रकाश पारिएको थियो ।
प्रमुख अतिथिको आशनबाट कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली इतिहास र सभ्यताको विषद अध्ययन र अनुसन्धान कार्यमा हाम्रो विद्वत वर्ग जागरुक हुन आवश्यक छ भन्नुभयो । उहाँले आचार्य सम्बन्धी लेखरचना सम्प्रेषण गर्न आग्रह गर्दै एकेडेमीले ग्रन्थ प्रकाशित गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
प्रा.दिनेशराज पन्तले चोमोलोङमालाई सगरमाथा नामकरण गर्ने व्यक्ति बाबुराम आचार्य भएका बताउँदै चाकरी संस्कृतिका बीचमा पनि आचार्यले कहिल्यै चाकरी नगरेको तथ्य प्रस्तुत गर्नुभयो । पन्तको कथन थियो-‘आचार्य आफूलाई भेट्न आउनेहरूसँग कोशेलीपात होइन शिलापत्रहरू ल्याइदिन आग्रह गर्थे ।’
आचार्य बन्धु समाजका केशव आचार्यले बाबुरामका इतिहाससम्बन्धी कृति र लेख रचनाहरू प्रकाशन एवम् पुनर्मुद्रणको आवश्यकता रहेको बताउनु भयो । इतिहासविद डा. तुलसीराम बैद्यले नेपालको इतिहास लेखनमा आचार्यले दिनुभएको योगदानको समग्र मूल्याङ्कन गरिनु पर्ने बताउनु भयो ।
समारोहका सभाध्यक्ष नेपाल इतिहास सङ्घका डा. विजय मानन्धरले इतिहास लेखन सम्बन्धी इतिहासकै अग्रणी व्यक्तित्व रहेका बाबुराम आचार्य नेपाली इतिहासको इन्साइक्लोपेडिया हुन् भन्नु भयो ।
बाबुराम आचार्यको तस्विरमा माल्यार्पण गरि आरम्भ भएको समारोहमा इतिहास र संस्कृतिको क्षेत्रमा क्रियाशील बिद्वत वर्गको उल्लेख्य उपस्थिति रहेको थियो ।