२०७५ चैत्र १ गते शुक्रवारका दिन प्रज्ञा भवन, कमलादी, काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी साहित्यकार भीमनिधि तिवारीको १०८औँ जन्मजयन्ती मनाइयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठान र भीमनिधि तिवारी साहित्य समितिद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रममा बोल्दै प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले साहित्यकार भीमनिधि तिवारी नेपाली साहित्यका विशिष्ट साधक भएको बताउनुभयो । उहाँले नेपाली साहित्यमा विशिष्ट योगदान दिने तिवारीको जन्मथलोलाई सरकार तथा सम्बन्धित सङ्घसंस्थाले सङ्ग्रहालयका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पितृपुर्खाको थातथलोलाई भुल्नु हुँदैन । सङ्ग्रहालय बनाई साहित्यिक पर्यटनको केन्द्र बनाउनुपर्छ ।”
प्रज्ञा–प्रतिष्ठान, समालोचना र निबन्ध विभागका प्रमुख प्राज्ञ प्रा.डा. गोपिन्द्र पौडेलले नेपाली साहित्यमा तिवारीको योगदानबारे प्रकाश पार्दै समाजका सूक्ष्मतम् पक्षहरूलाई आफ्नो लेखनको विषय बनाउने स्रष्टा तिवारीले गहनतम् रचनाहरू दिएर नेपाली साहित्यको भण्डारलाई पूर्ण पार्न यथेष्ट योगदान दिएको बताउनुभयो ।
सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले सरल, सरस र सम्प्रेषणीय साहित्य सृजना गरी नेपाली साहित्यलाई धनी तुल्याउने स्रष्टा तिवारीको जन्मजयन्तीका अवसरमा हरेक वर्ष प्रज्ञा–प्रतिष्ठानले कार्यक्रम गर्दै आएको बताउनुभयो ।
समितिका उपाध्यक्ष प्रा.डा. विष्णुराज आत्रेयको सभापतित्वमा सम्पन्न कार्यक्रममा समितिका सचिव तथा तिवारीपुत्री डा. बेन्जु शर्माले तिवारीका समग्र पक्षबारे प्रकाश पार्नुभएको थियो भने गायिका लोचन भट्टराईले तिवारीको छन्दकविता ‘जब सात वर्षको थिएँ’ गाएर सुनाउनुभएको थियो ।
उक्त अवसरमा प्रा.डा. ढुण्डिराज पहाडीलाई नगद पच्चिस हजार राशिको ‘भीमनिधि तिवारी पुरस्कार’ उपकुलपति डा. गुरुङद्वारा प्रदान गरिएको थियो । यसका साथै तिवारीबारे शोध गरेवापत् रवीन्द्र अधिकारीलाई सम्मान गरिने घोषणा गरिएको थियो । पुरस्कृत प्रतिभाबारे समालोचक ज्ञानु अधिकारीले प्रकाश पार्नुभएको थियो । समारोह सुरु हुनुअघि प्रज्ञा परिसरमा रहेको तिवारीको प्रतिमामा माल्यर्पण गरी श्रद्धा व्यक्त गरिएको थियो ।