वैशाख २० गते शनिबार अपराह्न ठिक ३.३० बजे रत्नपार्कको सडकपेटीमा राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको आयोजनामा वर्तमानमा गणतन्त्रका विरुद्धमा प्रतिगमनको दुस्साहस भइरहेको प्रति विरोध जनाउँदै सडक कविता वाचन गर्ने विशेष समारोहको आयोजना गरियो ।
सङ्घकी अध्यक्ष नर्मदेश्वरी सत्यालको अध्यक्षता र महासचिव डा.कृष्ण सुवेदीको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रगतिशील लेखक सङ्घ नेपालका अध्यक्ष डा.देवी दुलाल क्षेत्री, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारी, महासङ्घकी उपाध्यक्ष नमुना शर्मा र महासचिव आर.सी.न्यौपाने, वरिष्ठ स्रष्टा उमेश उपाध्याय, डा.गोविन्दप्रसाद आचार्य, रमेश पोखरेल, डा.हरि सिलवाल, डम्बर पहाडी, प्रलेस काभ्रेका अध्यक्ष रक्तिम लामा, सोमनाथ दाहाल, गीता सापकोटा, गोपालकुमार मैनाली, सङ्घका सुदूरपश्चिम प्रदेश संयोजक गङ्गाराम कँडेल, थरेन्द्र बराल, राधिका उपाध्याय, सृजना सरोवर उदयपुर, प्रमोद स्नेहीलगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
महासचिव डा.कृष्ण सुवेदीले सडक कविता आन्दोलनको थालनी २०३६ सालमा साहित्यकार भवानी घिमिरेको अगुवाइमा भएको थियो भने आवश्यकताका आधारमा २०३६ सालमा, २०४६ सालमा र २०६२÷६३ को आन्दोलनताका पनि सडक कविता अभियानले निरन्तरता पाएको इतिहास छ । वर्तमानमा जनताको त्याग र बलिदानले प्राप्त गरेको गणतन्त्रको विरुद्धमा र निरङ्कुशताको स्थापनाको कुत्सित मनसाय राखेर कथित आन्दोलनका नाममा अराजकता प्रदर्शन गर्ने हरकत देखिएको हुँदा हामी स्रष्टाले यो दुराशयप्रेरित दुस्साहसको विरोध आफ्ना सिर्जनाका माध्यमबाट गर्नुपर्दछ र जनतालाई सुसूचित गर्ने प्रयोजनका लागि सडकमै आउनुपर्छ भन्ने मान्यताका साथ आज ‘सडक कविता वाचन विशेष समारोह’को आयोजना गरिएको भन्ने उद्देश्यसमेतको जानकारी गराउनुभएको थियो ।
सङ्घकी अध्यक्ष नर्मदेश्वरी सत्यालले जनताको आन्दोलनले इतिहास नै समाप्त हुनेगरी किनारामा पुर्याएको निरङ्कुशताले यतिखेर गणतन्त्रकै विरुद्धमा फँणा उठाएको हुँदा हामी स्रष्टाले त्यस अराजक प्रवृत्तिको सिर्जनाका माध्यमबाट सशक्त विरोध गर्नुपर्ने आवश्यकता बोध गरी आजको यो विशेष समारोहको आयोजना गरिएको र यो विशेष समारोह आज प्रेस स्वतन्त्रता दिवसको विशेष दिन पारेर आयोजना गरिएको हो । हामी स्रष्टा पनि सदैव स्वतन्त्रताका पक्षमा कलम चलाउने भएकाले यो दिनको चयन गरिएको पनि उहाँले प्रकाश पार्नुभयो ।
उक्त विशेष समारोहमा नर्मदेश्वरी सत्याल, उमेश उपाध्याय, गीता सापकोटा, सोमनाथ दाहाल, डा.गोविन्दप्रसाद आचार्य, रक्तिम लामा, डम्बर पहाडी, वासुदेव अधिकारी पाँचथर, डा.हरि सिलवाल, गङ्गाराम कँडेल, तुलाराम ढकाल, गोपालकुमार मैनाली, डा.देवी दुलाल क्षेत्री, आर.सी.न्यौपाने, विश्वनाथ तामाङ, सञ्जय सोती, थरेन्द्र बराल, प्रमोद स्नेही, रमेश पोखरेल, नमुना शर्मा, सृजना सरोवर उदयपुर र डा.कृष्ण सुवेदीले आआफ्ना कविता, गीत, एलाक वाचन गर्नुभएको थियो ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घका निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारीले अहिलेको जनताको बलिदानले ल्याएको गणतन्त्रकै विरुद्धमा र निरङ्कुशताका पक्षमा अहिले हास्यास्पद आन्दोलन थालिएको मात्र छैन प्रतिगमनको दुस्साहससमेत गरिएको छ ! यस्तो प्रवृत्तिको हामी स्रष्टाले सशक्त विरोध गर्नु अत्यावश्यक थियो । त्यही अनुभूति गरेर महासङ्घको घटक सङ्गठन यस सङ्घले सडकमै उत्रेर प्रतिगमनका मतियारलाई चुनौती दिने यो कार्यक्रमको आयोजना गरिनु आफैँमा सराहनीय रहेको छ । साथै यस विशेष समारोहले जनतालाई पनि सुसूचित गर्ने हुँदा यो समारोह महत्त्वपूर्ण पनि रहेको छ भन्ने धारणा राख्नुभयो, विशेष समारोहको आयोजनाका लागि धन्यवाद पनि दिनुभयो ।
२० बैशाख २०८२, शनिबार २१:०६
