वरिष्ठ प्रगतिवादी साहित्यकार, कवि प्रा.डा.बद्रीविशाल पोखरेलको एकल कविता वाचन सम्पन्न

रमेश पोखरेल, काठमाडौं

साउन १४ गते शुक्रवार अपराह्न ठिक ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घको आयोजना तथा जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा अविच्छिन्न रूपमा सम्पन्न भइ रहेको ‘अविरल जन साहित्य यात्रा’को २८ औँ शृङ्खला सम्पन्न गरियो । वरिष्ठ प्रगतिवादी साहित्यकार, कवि प्रा.डा.बद्रीविशाल पोखरेलका एक दर्जन कविता वाचन गर्ने र ती कवितामाथि टिप्पणी समेत गर्ने उक्त उद्देश्यमूलक विशेष समारोहको अध्यक्षता जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव विनोद मञ्जनले गर्नु भएको थियो । नेकपा एमालेका अध्यक्ष एवम् सम्माननीय प्रधान मन्त्री के.पी.शर्मा ओलीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा विशिष्ट अतिथि एवम् समीक्षकका रूपमा एमाले सचिव एवम् साहित्यकार प्रदीप ज्ञवाली, वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् संस्कृतिविद् डा.मोदनाथ प्रश्रित, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती उपस्थित हुनु हुन्थ्यो । त्यसै गरी अतिथिहरूमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरी, समालोचक निनु चापागाई, शरदचन्द्र वस्ती, प्रा.डा.टङ्क न्यौपाने, प्राज्ञहरू प्रा.दिनेशराज पन्त, नर्मदेश्वरी सत्याल, मातृका पोखरेल, हेमनाथ पौडेल, प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’, सानु पहाडी र गायत्री विष्ट हुनु हुन्थ्यो । त्यसै गरी प्रा.डा.देवी गौतम, प्रा.केशव सुवेदी, प्रा.डा.कृष्णप्रसाद घिमिरे, राष्ट्रिय जन सांस्कृतिक महासङ्घका का.वा.महासचिव प्रेमनाथ अधिकारी, सहकोषाध्यक्ष जङ्ग पहाडी, प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्ष प्रा.डा.यादबप्रकाश लामिछाने, वरिष्ठ कवि अनिल पौडल र उमेश उपाध्याय, सांस्कृतिक संस्थानका अध्यक्ष उद्योग राई, प्राज्ञ माधव प्रधान, डा.भोलानाथ पोखरेल, के.पी.ढकाल, डा.नन्दिश अधिकारी, डम्बर पहाडी र नायक कविकी जीवन सङ्गिनी मिथिला पोखरेल उपस्थित हुनु हुन्थ्यो ।
हरेक महिनाको दोस्रो शुक्रवार ठिक ३ बजे उपत्यका र बाहिर रहेर नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्ने एक जना प्रगतिवादी साहित्यकारका एक दर्जन कविता सुन्ने र ती कवितामाथि टिप्पणी गर्ने, स्रष्टाको व्यक्तित्व उजागर गर्ने, सिर्जनामा निखार ल्याउने उद्देश्यका साथ थालनी गरिएको यो अभियानको अट्ठाइसौँ शृङ्खला सञ्चालन गर्न लागिएको जानकारीका साथ यो विशेष समारोहको प्रमुख आतिथ्य ग्रहण गरि दिनका लागि सम्माननीय प्रधान मन्त्री के.पी.शर्मा ओलीज्यूलाई अनुरोध गरिएको र आइ दिनु भएर हौसला प्रदान गरि दिनु भएको हुँदा प्रमुख अतिथि सम्मानीय प्रधान मन्त्री के.पी.शर्मा ओलीज्यूलाई नै समारोहका कवि नायक प्रा.डा.बद्रीविशाल पोखरेललाई सम्मान पत्र अर्पण गरि दिन र माल्यार्पण गरि दिएर सम्मान गरि दिन आग्रह गर्नु भयो ।
कवि प्रा.डा.बद्रीविशाल पोखरेलको व्यक्तित्वमाथि चर्चा गर्नु हुँदै जन साहित्यिक मञ्च, नेपाल काव्य विभाग संयोजक डा.विन्दु शर्माले २०१० सालमा भोजपुरमा जन्मिएका डा.पोखरेलले २०२५ देखि साहित्य सिर्जना गरेका र त्यसमा पनि कविता उनको लेखनको ज्येष्ठ विधा रहेको र ‘अचेतनका मनहरू’ कविता सङ्ग्रह प्रकाशित भएको, समसामयिक राजनीतिक विषय वस्तु कवितामा आएको, अभिव्यक्तिमा व्यञ्जनात्मकता देखिएको, त्यसै गरी ४ ओटा समालोचनात्मक कृति प्रकाशित भएका, यिनमा माक्र्सवादी सिद्धान्तको विश्लेषण देखिएको, प्रगतिवादी कविता लेखनका आधारहरू उल्लेख गरिएको, गुण र दोषको सन्तुलित विवेचनाका साथ निर्णयात्मकता समेत देखा परेको छ । त्यसै गरी निबन्धमा वैचारिक समुन्नत समाज निर्माणको स्पष्ट आधार प्रस्तुत भएको पाइन्छ । त्यसका अलावा उनको कथाकार व्यक्तित्व समेत प्रभावी देखा परेको धारणा राख्नु भयो ।

image

समारोहका कवि नायक प्रा.डा.बद्रीविशाल पोखरेलले समाज दिन प्रतिदिन विद्रुप बन्दै गएको, नायक मानेकाहरू नै वैचारिक रूपमा स्खलित हुँदै गइ रहेका, आफैँभित्रको कुरुपता समेत समाप्त पार्नु पर्ने आवश्यकता बोध भइ रहेको, अब श्रीपेच उखेलेर फाल्यौँ भनेको त झन् सबै सबैका टाउकामा श्रीपेच देखा पर्न थालेको हुँदा हामी स्रष्टाले देखिएको कुरा अलि बढी स्पष्टताका साथ राख्नु पर्ने देखेर आफू कविता सिर्जनामा लागि रहेको धारणा राख्नु हुँदै ‘हिमाल’, ‘ऐना नहेर्ने गर’, ‘मलाई काठमाडौँ कोक्याउँछ’, ‘कामरेडसँग मेरो केमेस्ट्री मिल्दैन’, ‘कागदूत’, ‘शिशुपाल’, ‘हाँडी फुटे झैँ फुट्नु हुँदैन’, ‘कुल्चिएको सवाधीनता’, ‘पेन्डुलम बोल’ शीर्षकका सशक्त कविता र केही सशक्त मुक्तकहरू वाचन गर्नु भयो । वाचन सहयोगी कवि घनश्याम खतिवडाले ‘दुर्याेधन’ शीर्षकको निकै शक्तिशाली कविता वाचन गर्नु भयो ।

वाचित कवितामाथि टिप्पणी गर्दै साहित्यकार प्रदीप ज्ञवालीले अग्रज स्रष्टाका कविताको समालोचनाका लागि आफू अमिल्दो पात्रको छनोट आयोजकले गर्नु भएको भन्नु हुँदै प्रा.डा.बद्रीवि
शाल पोखरेल निरन्तर रूपमा साधना गर्ने र समसामयिक विषयमा लेखि रहने आस्थाका कवि हुन् । उनका कवितामा कला र विचारको सन्तुलन रहेको पाइन्छ । सबै कविताले आजको कालखण्डलाई प्रतिनिधित्व गरेका छन् । राजनीतिका नायक मानेकाहरूको वैचारिक स्खलन भएको पक्षलाई कविले सशक्त रूपमा उजागर गरेका छन्, राष्ट्रियतामाथि हुने गरेका प्रहारप्रति आक्रोश अभिव्यक्त भएको छ । समयका प्रतिनिधि चेतलाई कविताले बोकेका छन्, जब मान्छे सम्झौतापरस्त हुने अवस्थामा पुग्छ त्यति वेला ऊ स्खलित हुन्छ र यो डरलाग्दो पक्ष पनि हो । यही सत्यलाई कविताले उजागर गरेका छन् । त्यसै गरी आस्था स्खलित भएपछि टिप्पणी र आक्रोश बढी नै हुन्छ, कवितामा पनि कवि त्यही रूपमा देखिएका छन् र तिम्रो आस्था स्खलित भयो भन्ने आँट गर्नु निकै चुनौती पूर्ण कुरा हो जुन कविले गरेका छन् । हिमाललाई विम्ब बनाएर समाजको विद्रुपताको चिरफार कवितामा गरिएको छ, वर्गीय विभेद न्यूनीकरण हुनुको सट्टा झनै रङ समेत छुट्याएर देखाउँदै डरलाग्दो रूपमा देखा पर्दै छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय जुवाडेबाट सावधान हुन आग्रह गरिएको छ । त्यसै गरी क्षणभङ्गुर कृत्रिम सौन्दर्यको विरोध गर्दै आन्तरिक सौन्दर्यका पक्षमा कवितामा वकालत गरिएको छ । अहिलेको सङ्क्रमणको समयमा केही नयाँपन पनि छ र केही विचित्र सङ्केतहरू देखिएका छन् र यी मुलुकका लागि अहितकर छन् भन्ने पक्षलाई कवितामा सशक्त रूपमा उजागर गर्ने कार्य गरिएको छ । परिवारको अस्मिता लुटेर रमाउनेप्रति कवितामा कठोर प्रहार गरिएको छ । समग्रमा कविता निकै सशक्त छन् भन्ने धारणा राख्नु भयो ।
राष्ट्रिय जन सांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राईले अविरल जन साहित्य यात्राको अविच्छिन्नताको प्रशंसा गर्नु भयो र आजको दिन सार्थक पारि दिने कवि प्रा.डा.बद्रीविशाल पोखरेललाई बधाई दिनु भयो ।

image

समालोचक निनु चापागाईँले एकल कविता वाचनको पहिलो अनुभूति आफूले गरेको, वाचित कवितामा उल्लेख गरिएका विसङ्गतिहरू साझा हुन् र कतिपय कुराहरू अतिशयोत्ति पूर्ण पनि छन् । फरक विचार राखेका कारण ग्रहणशीलता र अभिव्यक्ति फरक हुन सक्छ तापनि कविको सिर्जनात्मक क्षमताको विकास होस् भन्ने शुभ कामना व्यक्त गर्नु भयो ।

विशिष्ट अतिथि वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् संस्कृतिविद् डा.मोदनाथ प्रश्रितले सम्माननीय प्रधान मन्त्रीको अन्यत्रको व्यस्त कार्यक्रमका बिचमा पनि आइ दिनु भयो र बिचैमा जानु पर्ने अवस्था आयो त्यसैले कार्यक्रम खण्ड खण्ड जस्तो हुन गयो । यतिखेर गाउँबाट काठमाडौँ र यहाँबाट अमेरिका भन्ने प्रवृत्ति बढेको छ, विभाजन र गुटको पनि बाहुल्यता छ, राजनीतिलाई पुरै कविता सुनाउनु पर्ने अवस्था छ तर त्यसो हुन सकि रहेको छैन । आज वाचित डा.पोखरेलका कवितामा विद्यममान समाजिक विद्रुपताको राम्रो चित्र खिचिएको छ तर पनि कविको अभिव्यक्ति क्षमता कवितामा भन्दा निबन्धमा बढी बेजोड लाग्छ मलाई । वैचारिक र दार्शिनिक कृतिहरू उहाँबाट आउन सक्छन् र आउन् किनभने हाम्रो देश हिमवत् खण्डको प्रकृति भएको देश भएकाले यहाँ प्रकृतिको विविधता छ, प्राकृतिक सुन्दरताका हिसाबले यो विचित्रको देश हो यद्यपि राजनीतिक क्षेत्रबाट सङ्कीर्णता आइ रहेको छ, त्यसलाई स्रष्टाको वैचारिक र दार्शनिक चेतना र अभिव्यक्तिले हटाउन सक्ने हुँदा त्यतातर्फ ध्यान केन्द्रित होस् भन्ने आग्रह गर्नु भयो ।

प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष एवम् सम्माननीय प्रधान मन्त्री के.पी.शर्मा ओलीले कवि प्रा.डा.बद्रीविशाल पोखरेलको एकल कविता वाचन गरिएको आजको यो कार्यक्रम निकै महत्त्वपूर्ण रहेको आफूले महसुस गरेको हुँदा कविलाई बधाई र शुभ कामना दिन्छु । सम्मान योग्य पात्रलाई आजको यो विशेष कार्यक्रममा प्रस्तुत गर्नु भएको छ र उहाँलाई सम्मान गर्न पाउँदा मलाई खुसी लागेको छ । बलियाहरूलाई अलि झोँक चल्छ तर हामी आफ्नो लक्ष्य र उद्देश्यमा लागि रहन्छौँ । आफूले पनि डा.मोदनाथ प्रश्रितहरूको सङ्गतका कारण कहिले काहीँ कविता लेखेको तर जागोउन नसकेको स्मरण गर्नु हुँदै जीवनको बाटो देखाउने र सत्यका पछि लाग्ने प्रेरणा दिनेहरूसँग आफू अनुगृहित रहेको; गीत, सङ्गीत र नाट्यको थोरबहुत चेत आफूलाई पहिलेदेखि नै रहेको भन्नु हँुदै २०४१ तिर जेलमा रहँदा आफूले सिसा कलमले लेखेको र भन्ज्याङ पत्रिकाले छापेको ‘खर्पन’ शीर्षकको निकै सुन्दर कविता समेत वाचन गर्नु भयो ।

सभाध्यक्ष राम विनयले प्रशासक, वैचारिक सङ्गठक, साहित्यिक अभियानका अभियन्ता आदि विविध क्षेत्रमा सक्रिय रूपमा समर्पित हुँदै प्रगतिवादी साहित्यका फाँटमा सिर्जना कर्मका माध्यमबाट आफूलाई सशक्त रूपमा उभ्याउन सफल साहित्यकार, कवि, प्रखर समालोचक प्रा.डा.बद्रीविशाल पोखरेलका एक दर्जन कविता सुन्ने र उहाँको साहित्यकार व्यक्त्त्विका बारेमा समेत चर्चा गर्ने सोद्देश्यमूलक यो विशेष समारोहमा निम्ता स्विकारेर आइ दिने प्रमुख अतिथि सम्माननीय प्रधान मन्त्री एवम् नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा.ओलीज्यू, सचिव एवम् साहित्यकार प्रदीप ज्ञवालीज्यू, विशिष्ट अतिथि, अतिथिज्यूहरू, उपस्थित विद्वान व्यक्तित्व सबै सबैलाई हार्दिक स्वागत गर्नु भएको थियो ।

धन्यवाद सहित कार्यक्रमको समापन गर्दै जन साहित्यिक मञ्च नेपालका उपाध्यक्ष रमेश पोखरेलले आफूलाई लागेका कुरा अत्यन्त निर्भीकताका साथ व्यक्त गर्न सक्ने, समाजका विद्रुपताका विरुद्धमा कठोर अभिव्यक्ति दिने, कोही कसैसँग मोलाहिजा नगर्ने कवि, समालोचक, निबन्धकार व्यक्तित्व मात्र प्रा.डा.बद्रीविशाल पोखरेलको नभएर उहाँ कुशल साहित्यिक सङ्गठक पनि हो । निष्ठा र स्वाभिमानसँग सम्झौता नगरी राष्ट्रियताका पक्षमा, वर्गीय पक्षधरतामा निकै खरो रूपमा प्रस्तुत हुने मात्र होइन सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने उहाँका कवितामा वैचारिक दृढता रहेको पाइन्छ । आफ्नो क्षमताले स्थापित हुनु भएका यस्ता प्रखर व्यक्तित्वलाई आज हामीले यो शृङ्खलामा प्रस्तुत गर्यौँ । हाम्रो निम्ता स्विकारेर आइ दिनु हुने प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, अतिथिज्यूहरू र विद्वान व्यक्तित्वमा हामी हार्दिक आभार व्यक्त गर्दछौँ भन्नु हुँदै आगामी उनन्तिसौँ शृङ्खलामा नेपाली प्रगतिवादी साहित्यका क्षेत्रमा विशिष्ट योगदान गरि रहनु भएका गुरु प्रा.घनश्याम कँडेललाई प्रस्तुत गरिने जानकारीका साथ कार्यक्रमको समापन भएको व्यहोरा निवेदन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *