‘शान्ति स्मारिका’को लोकार्पण गर्दै शान्ति टोल सुधार समितिको नवौँ वार्षिक साधारणसभा सम्पन्न

वैशाख १४ गते शनिबार बिहान ११ बजे शान्ति टोल सुधार समितिको नवौँ वार्षिक साधारणसभा समितिकी अध्यक्ष क्ष्न्दु सापकोटाको अध्यक्षतामा र महासचिव सुनिता सिवाकोटीको सञ्चालनमा सम्पन्न भयो । आठाँैँ साधारसभाबाट पूरै महिलाको नतृत्वमा गठन भएको समितिको कार्यसमितिले सफलताका साथ आफ्नो कार्यकाल पूरा गरेको थियो । समितिका संस्थापक अध्यक्ष शिवप्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न सभामा पूर्व अध्यक्षहरू त्रिविक्रम कर्माचार्य, झपटबहादुर बोहरा, भरतबहादुर के.सी., छिमेकी टोल सुधार समितिका मोहनकुमार पराजुली, मणि नेपाल, कृष्णमुरारी कोइराला, अधिवक्ता सानुराज पोखरेल, नेपाल सरकारका सचिव ईश्वर नेपाल, काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, सहयोगी युवा क्लबका अध्यक्ष बैजहरि भट्टराई, योगगुरु नरेन्द्र खतिवडा, टोलवासी कामेश्वर मण्डल उपस्थित हुनुहुन्थ्यो ।

सबै अतिथिहरूलाई समितिकी उपाध्यक्ष शान्ता भण्डारीले स्वागत गर्नुभएको थियो भने सबै अतिथिहरूले समितिको नवौँ वार्षिक साधारणसभाको सफलताको कामना गर्नुका साथै टोलसमाजको हितमा काम गर्नसक्ने, सक्रिय र इमान्दार नेतृत्व चयनका लागि पनि शुभकामना दिनुभएको थियो ।

२०६४ सालमा समितिले स्मारिका प्रकाशित गरेको थियो र त्यो कार्य अरू टोल सुधार समितिका लागि पनि उदाहरणीय बनेको थियो । यस वर्ष पनि रमेश पोखरेलको प्रधान सम्पादकत्वमा ‘शान्ति स्मारिका २०७६’ प्रकाशित भएको थियो । उक्त स्मारिकाको सबै अतिथहिरूले सामूहिकरूपमा लोकार्पण गर्नुभएको थियो । लोकार्पित स्मारिकाका सङ्क्षिप्त विशेषताका बारेमा प्रधान सम्पादक रमेश पोखरेलले प्रकाश पार्नुभएको थियो ।

सभामा समितिले आफ्नो झण्डै साढे दुई वर्ष लामो कार्यकालको नौ पृष्ठ लामो प्रगतिप्रतिवेदन समितिका तर्फबाट महासचिव सुनिता सिवाकोटीले प्रस्तुत गर्नुभएको थियो भने तीनओटा आर्थिक वर्षको लेखापरीक्षणसहितको आर्थिक प्रतिवेदन कोषाध्यक्ष लक्ष्मी ओझाले प्रस्तुत गर्नुभएको थियो । साधारणसभाले ती दुबै प्रतिवेदन सर्वसम्मतिले पास गरेको थियो ।

प्रतिवेदनहरू पारित भइसकेपछि अध्यक्षता गरिरहेकी समितिकी अध्यक्ष इन्दु सापकोटाले आफ्नो कार्यकालमा सहयोग गर्ने सबै सबैलाई हार्दिक धन्यवाद दिँदै कार्यसमिति विघटन भएको घोषणा गर्नुभयो र अधिवक्ता सानुराज पोखरेलको संयोजकत्वमा भरतबहादुर के.सी. र बिन्दुरेखा पोखरेल सदस्य रहेको निर्वाचन मण्डलको प्रस्ताव गर्नुभयो । निर्वाचन मण्डलले निर्वाचनसम्बन्धी सबै कार्यक्रम सार्वजनिक गर्दा समितिको नयाँ कार्यसमितिका लागि पदाधिकारीको हकमा सर्वसम्मति बन्यो भने सदस्यमा थोरै सङ्ख्या बढी भएपछि निर्वाचनकै प्रक्रियामा जानुभन्दा सहमति कायम गरौँ भनी धनपति सापकोटा, त्रिविक्रम कर्माचार्य, रमेश पोखरेल र लक्ष्मी ओझाले सहजीकरण गरेपछि सर्वसम्मति कायम भई निम्नानुसार निर्वाचित हुनुभएको घोषणा निर्वाचन मण्डलले गर्यो ः
१. श्री इन्दु सापकोटा –अध्यक्ष
२. श्री भरतबहादुर खड्का –उपाध्यक्ष
३. श्री सुनिता सिवाकोटी –महासचिव
४. श्री रिता ढुङ्गाना –सचिव
५ श्री अग्निप्रसाद भट्टराई –कोषाध्यक्ष
६. श्री उर्मिला दाहाल –सदस्य
७. श्री उर्मिला अवाले –सदस्य
८. श्री रिता अधिकारी –सदस्य
९. श्री तारा थापा अधिकारी –सदस्य
१०. श्री होमनाथ (कमल) गौतम–सदस्य
११. श्री रामचन्द्र वासी –सदस्य
सबै नवनिर्वाचित पदाधिकारीलाई संस्थापक अध्यक्ष शिवप्रसाद ढकाल र निर्वाचन मण्डलकी सदस्य विन्दुरेखा पोखरेलले टीका लगाइदिनुभयो भने निर्वाचन मण्डलका सदस्य भरतबहादुर के.सी.ले खादा लगाइदिएर स्वागत गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त सानुराज पोखरेलले बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै सफल कार्यकालको कामना गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष इन्दु सापकोटाले पहिलेको कार्यकालमा जस्तै अबको कार्यकालमा पनि टोलवासीको सहयोग, सुझाव र सद्भाव पाउने अपेक्षा गर्नुभयो । समुदायको हितका लागि र टोलको विकासका लागि हरतरहले लाग्ने र इमान्दार प्रयत्न गर्ने दृढता व्यक्त गर्नुहुँदै कार्यसम्पादनका दौरानमा कतै कमीकमजोरी हुन गए औँल्याइदिनसमेत आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *