काठमाडौँ, १३ कात्तिक
‘अविरल जनसाहित्य यात्रा’ १९औँ शृङ्खलामा आज प्रगतिशील कवि÷गीतकार खेम नेपालीको एकल कविता वाचनको आयोजना गरियो ।
जनसाहित्यिक मञ्च नेपालले आयोजना गर्दै आएको सो शृङ्खलामा राष्ट्रियता, जातीय भेदभाव तथा छुवाछूत, लैङ्गिक विभेद र श्रमिकको पीडासँग सम्बन्धित दुई दर्जन गीत÷कविता वाचन गरिएको थियो । नेपाली साहित्यकार, नाट्यकर्मीका साथै सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य पनि हुनुहुन्छ । उहाँले ‘श्रम चल्छ, सीप चल्छ, पानी चल्दैन…’ आदि बोलका गीत प्रस्तुत गर्नुभयो ।
सोही अवसरमा वरिष्ठ रङ्गकर्मीद्वय निशा शर्मा र घिमिरे युवराज, साहित्यकार अनिल पौडेल, गीतकार आकाश थापा, साजन राई, जङ्ग पहाडी र लक्ष्मी निरौलाले उहाँका गीत, गजल र कविता वाचनमा साथ दिनुभएको थियो ।
कार्यक्रममा पूर्वसामान्य प्रसाशनमन्त्री लालबाबु पण्डितले साहित्य सेवाबाट मुलुकको सेवामा लाग्नुभएका नेपालीका रचनाबाट जनजागरण सिर्जनामा बल पुगेको बताउनुभयो । उहाँले आफूले उठाउँदै आएको कर्मचारीले विदेशको नागरिकता लिन नहुने विषय नयाँ संविधानमा समावेश भएकाले अब विदेशका रहेका नेपाली युवाले स्वदेश फर्केर राष्ट्रोत्थानमा लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
वाचित कवितामाथि समीक्षा गर्दै साहित्यकार देवी नेपालले गीतकार नेपालीका कविताले नेपाली समाजमा व्याप्त समसामयिक विषयलाई समेटेको बताउनुभयो ।
कार्यक्रममा नेपाल सङ्गीत नाट्य प्रतिष्ठानका कुलपति सरुभक्त, उपकुलपति शम्भुजिजत बाँस्कोटा, सदस्य सचिव गणेश रसिक र नेपाल प्रज्ञा– प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरीले पनि स्रष्टा नेपालीको साहित्यधर्मिताबारे चर्चा गर्नुभएको थियो । मञ्का काेषाध्यक्ष यशाेदा अधिकारीले सञ्चालन गरेकाे उक्त कार्यक्रममा साहित्यकार, सांसद, नाट्टकरमि, कलाकार तथा चलचित्रकरमिहरुकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।
(तस्बिर र फोटो स्रोतः यसोदा अधिकारी)