साहित्य सन्ध्याको ४६६ औँ शृङ्खलामा पाँच विशिष्ट व्यक्तित्व सम्मानित

विगत ४३ वर्षदेखि अविच्छिन्न रूपमा मासिक साहित्यिक गोष्ठी सञ्चालन गर्दै आएको साहित्य सन्ध्याले आफ्नो ४६६ औँ विशेष शृङ्खलामा पाँचजना विशिष्ट व्यक्तित्वलाई २०८१ सालका ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरेको छ। कार्यक्रम भदौ ७ गते शनिबार अपराह्न १ बजे पद्मकन्या क्याम्पस, बागबजारस्थित डेनिस हलमा सम्पन्न भएको थियो।

साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता तथा उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न समारोहका प्रमुख अतिथि साहित्यकार तथा शिक्षा मन्त्री माननीय रघुजी पन्त रहनुभएको थियो। विशेष अतिथिका रूपमा पूर्वमन्त्री तथा साहित्यकार शान्ता मानवीको उपस्थिति रहेको थियो। नेपाल प्रज्ञाप्रतिष्ठानका निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेती प्राविधिक कारणले उपस्थित हुन सक्नुभएन।

समारोहको उद्घाटन प्रमुख अतिथिले दीप प्रज्वलन गरी गर्नुभएको थियो भने सचिव जयन्ती स्पन्दनले उपस्थित अतिथिहरूलाई स्वागत गर्नुभएको थियो। सल्लाहकार वासुदेव अधिकारीको संयोजकत्वमा नमुना शर्मा र प्रशान्त खरेल सदस्य रहेको स्रष्टा चयन समितिले सम्मान तथा पुरस्कारका लागि व्यक्तित्व सिफारिस गरेको थियो।

नेपाली साहित्यमा चार दशकभन्दा बढी समयदेखि कथा, कविता, निबन्ध, समालोचना, बालसाहित्य र लोकसाहित्यमा सक्रिय योगदान पुर्‍याउँदै आउनुभएका प्रा.डा. कपिल लामिछानेलाई रु. २१,१०० राशिको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान २०८१’ प्रदान गरियो।

साहित्य सन्ध्याको मासिक गोष्ठीमा नियमित सहभागिता जनाउँदै रचना वाचन गर्ने स्रष्टा नवराज श्रेष्ठलाई रु. ५,००० राशिको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार’ अर्पण गरियो।

चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा उल्लेखनीय योगदान पुर्‍याउँदै नेपालकै पहिलो महिला अकुपन्चरिस्टका रूपमा पहिचान बनाएकी डा. मञ्जु दाहाललाई रु. १०,००० राशिको ‘साहित्य सन्ध्या–मन (मदनप्रसाद सत्याल–नर्मदेश्वरी सत्याल) पुरस्कार’ प्रदान गरियो।

विपन्न पृष्ठभूमिका प्रतिभावान विद्यार्थी सरोज अधिकारीलाई अध्ययनमा निरन्तर प्रेरणा मिलोस् भन्ने उद्देश्यले रु. १०,००० राशिको ‘साहित्य सन्ध्या–कृबा (कृष्णचन्द्र–बालकुमारी) पुरस्कार’ प्रदान गरियो।

नेपाली नियात्रा साहित्यमा निरन्तर सिर्जनात्मक योगदान पुर्‍याउँदै आएकी भवानी खतिवडालाई रु. १०,००० राशिको ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार’ अर्पण गरियो।

पुरस्कृत सबै व्यक्तित्वलाई अध्यक्ष राम विनयले माल्यार्पण गर्नुभएको थियो भने प्रमुख अतिथिले सम्मानपत्र र पुरस्कार राशि प्रदान गर्नुभएको थियो।

पुरस्कृत स्रष्टा प्रा.डा. कपिल लामिछानेले प्रगतिशील साहित्यका माध्यमबाट सामाजिक समानता र मानवताको पक्षमा निरन्तर लेख्दै आएको उल्लेख गर्दै साहित्य सन्ध्याप्रति आभार व्यक्त गर्नुभयो। डा. मञ्जु दाहालले स्वास्थ्य र शिक्षाका क्षेत्रमा गरेको योगदानलाई मूल्याङ्कन गरिएकोमा धन्यवाद प्रकट गर्नुभयो।

प्रमुख अतिथि शिक्षा मन्त्री रघुजी पन्तले चार दशकभन्दा बढी समयदेखि कुनै प्रायोजनविना निरन्तर साहित्यिक अभियान सञ्चालन गर्नु आफैँमा आन्दोलन भएको उल्लेख गर्दै साहित्य सन्ध्याको योगदानको प्रशंसा गर्नुभयो। साहित्यले समाजलाई संवेदनशील, विवेकशील र रूपान्तरणमुखी बनाउने भूमिका खेल्ने उहाँको धारणा थियो।

समारोहको समापन गर्दै अध्यक्ष राम विनयले साहित्य सन्ध्याले हालसम्म ७८ जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरिसकेको जानकारी दिँदै अभियानलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *