रमेश पोखरेल, काठमाण्डु जेठ १, २०७८
साहित्य सन्ध्याको बन्दाबन्दीका कारणले खुलारूपमा गर्ननसकिएको नियमित मासिक ४१६ औँ शृङ्खला जेठ १ गते शनिबार अपराह्न १ बजे जुम एपको माध्यमबाट प्रविधिमैत्री राष्ट्रिय गोष्ठीका रूपमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो ।
साहित्य सन्ध्याका सल्लाहकार विधान आचार्यको प्रविधि व्यवस्थापन तथा सदस्य जयन्ती स्पन्दनको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहका प्रमुख अतिथि वरिष्ठ पत्रकार एवम् जीवित इतिहास भैरव रिसाल हुनुहुन्थ्यो भने नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव प्रा.जगत्प्रसाद उपाध्याय विशिष्टि अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । अतिथिहरूमा पूर्व मन्त्री एवम् साहित्यकार शान्ता मानवी, प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष एवम् साहित्य सन्ध्याका सल्लाहकार प्रा.डा.जीवेन्द्र देव गिरी, नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त शिक्षाध्यक्ष प्रा.डा.भीम खतिवडा, त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्रमुख प्रा.डा.कृष्णप्रसाद घिमिरे, प्राज्ञ लक्ष्मी माली, पारिजात स्मृति केन्द्रका अध्यक्ष स्नेह सायमि, प्राज्ञ नन्दु उप्रेती, प्राज्ञ हरि तिमिल्सिना, सन्ध्याका सल्लाहकारद्वय वासुदेव अधिकारी र विधान आचार्य, अग्रज स्रष्टाहरू प्रा.डा.खेमनाथ दाहाल, डा.राजेन्द्रप्रसाद अधिकारी, पुण्यप्रसाद खरेल झापा, सीताराम नेपाल, डा.बालचन्द्र मिश्र, डा.कृष्ण सुवेदी (भारद्वाज मित्र), गायत्रीकुमार चापागाईँ, डिल्लीराज अर्याल र गोपाल बराल, बलिदान चलचित्रका निर्माता श्याम सापकोटा, वरिष्ठ गजलकार बूँद राना, साहित्यकार गङ्गा कर्माचार्य पौडेल र भेरी साहित्य समाजका सचिव प्रभात सुवेदी उपस्थित हुनुहुन्थ्यो ।
प्रमुख अतिथि वरिष्ठ पत्रकार एवम् जीवित इतिहास भैरव रिसालले आफैँमा एउटा इतिहास बनिसकेको साहित्य सन्ध्याले माया गरेर मलाई मैले देखेको विगत र भोगेको वर्तमानका बारेमा मेरा केही अनुभूति राख्ने अवसर प्रदान गर्नेगरी आज प्रमुख अतिथिकै रूपमा आमन्त्रण गरेकोमा मलाई गौरवबोध भइरहेको छ । गौरवपूर्ण संस्था भएका कारण विगतमा मलाई नबोलाउँदा पनि म साहित्य सन्ध्याका वार्षिक समारोहमा आफैँ पुगेको छु । विगतमा पनि भूकम्प, सरुवा रोग आदिका धेरै महामारी देखियो, भोगियो तर अहिलेको कोरोनामहामारी झनै डरलाग्दोरूपमा देखिएको छ । यो महामारीमा परेर साहित्य सन्ध्याका अध्यक्ष राम विनय स्वयम् सिकार हुनुभएको छ तर साहित्य सन्ध्या, राम विनयका शुभचिन्तक तपाईँ–हामीले जित्यौँ र उहाँ फर्केर आउनुभएको छ । मेरो विचारमा प्रकृतिलाई मान्छेले जित्नखोजेको, प्रकृतिको सम्मान नगरेका कारण अहिलेको महामारी देखिएको छ अर्थात् यस्ता खाले महामारी देखिने गरेका छन् । प्रकृतिलाई अनावश्यक हस्तक्षेप होइन, दोहन होइन आत्मसात गर्नुपर्छ, सबैले गरौँ भन्ने मेरो धारणा रहेको छ । अहिले यो दुनियाँ सारा संसार विपत्तिमा छ, झन्झटमा छ । विपन्न राष्ट्र र व्यक्ति मात्र होइन सम्पन्न राष्ट्र र व्यक्तिहरू पनि विपत्तिमा छन् । यस्तो अवस्थामा साहित्यका माध्यमबाट कसरी समाधान, न्यूनीकरण गर्नसकिन्छ ? कसरी सन्त्रस्त मानवलाई ढाडस प्रदान गर्नसकिन्छ भन्ने विषयमा साहित्यले चिन्तन गर्ने, सोच्ने र स्रष्टाले लेख्ने समय आएको छ, यस्तो प्रयत्न आवश्यक देखिएको छ । हाम्रा निरक्षर पुर्खाले कला, संस्कृति, संस्कार, सभ्यता, इतिहास निर्माण गरेका छन् अहिले हामी बौद्धिक वर्गले तिनको जगेर्ना गर्नु, अस्तित्व रक्षा गर्नु आवश्यक रहेको छ । आजै पनि हामी नयाँ प्रविधिका माध्यमबाट जोडिएका छौँ । यस्तै खाले आविष्कार वा प्रविधिको प्रयोगका माध्यमबाट मानवजीवनले भोगिरहेको अहिलेको कठिन समय वा महामारीजन्य चुनौतीको सामना गर्नु आवश्यक छ । मानवले जहिल्यै पनि प्रकृतिसँग लडाइँ लडिरहे पनि हामीले प्रकृतिको अतिदोहन होइन सम्मान चाहिँ गर्नै पर्दछ । चाहे मानवलाई होस्, चाहे प्रकृतिलाई होस् माया आवश्यक हुन्छ किनभने मायामा बल वा शक्ति हुन्छ । हाम्रा सबै खाले प्रयत्न मानवजीवनको रक्षामा केन्द्रित हुनुपर्छ । म कविता नलेख्ने र वास्तवमा कविता पढ्न पनि नजान्ने मान्छेलाई साहित्य सन्ध्याको आजको यति गरिमामय समारोहमा आमन्त्रण गरिदिनुभयो र मैले भोगेका केही अनुभूति सुनाउने अवसर दिनुभयो म हार्दिक आभार व्यक्त गर्दछु भन्नुभयो ।
गोष्ठीमा चरित्रा शाह नेपालगन्ज, गायत्री लम्साल, प्रमोद स्नेही, प्रकाश सिलवाल, महेशराज खरेल, रश्मि रिमाल, राममणि ढुङ्गेल, डा.राजेन्द्रप्रसाद अधिकारी, भरतबहादुर रानाभाट नेपालगन्ज, देबु लुइटेल, रमेश गौतम ‘पाल्पाली’, नर्मदेश्वरी सत्याल, प्रा.डा.कृष्णप्रसाद घिमिरे, वासुदेव अधिकारी, श्याम सापकोटा, उर्मिला पन्त पाण्डेय, ललिता दोषी, गोपाल नेपाल, ईश्वरी रिजाल, रामकुमार पण्डित, हरि तिमिल्सिना नेपालगन्ज, पुण्यप्रसाद खरेल झापा, प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’, डा.कृष्ण सुवेदी (भारद्वाज मित्र), लक्ष्मी माली, स्नेह सायमि, परशुराम पराशर, प्रभात सुवेदी, जीवनहरि शर्मा, दर्शिला निरौला सुनसरी, बेनीबहादुर थापा, राजेन्द्र सर्वहारा सङ्खुवासभा, गोपाल बराल, मीना बराल नेपालगन्ज, गायत्रीकुमार चापागाईँ विराटनगर, श्रीभद्र सुवेदी कोहलपुर, बूँद राना रुपन्देही, गङ्गा कर्माचार्य पौडेल, गोविन्द घिमिरे वेदमणि, डा.खेमनाथ दाहाल, बालकृष्ण लामिछाने इलाम, विधान आचार्य, पुष्कर रिजाल, डा.भीम खतिवडा धरान, प्रशान्त खरेल र जयन्ती स्पन्दनले आआफ्ना कविता, गजल, गीत, हाइकु, लघु कथा वाचन गर्नुभएको थियो । वाचित सिर्जनामाथि टिप्पणी गर्नुहुँदै प्राज्ञ नन्दु उप्रेतीले साहित्य सन्ध्याको आजको यो विशेष समारोहमा उपस्थित आदरणीय स्रष्टाहरूले आज वाचन गर्नुभएका रचना शक्तिशाली र सुन्दर छन् । समयबोधका, कोरोनात्रासदीका, मातृभक्तिका, राष्ट्रप्रेमका, सामाजिक विसङ्गतिका, राज्यका विसङ्गत हर्कतका, हार्दिक प्रेमका रचना आज वाचन भएका छन् । सतचालिसओटा सिर्जना वाचन भएकाले यी सिर्जनामा विषयको पर्याप्त विविधता रहेको पाइन्छ । केही सिर्जनाले सोझो अभिव्यक्ति सम्प्रेषण गरेका छन् भने धेरै सिर्जना ध्वन्यार्थका, राष्ट्रप्रेमका, सद्भावपूर्ण सामाजिक अवस्थाको जीवन्त चित्रणमा केन्द्रित रहेका छन् भने नागरिकका प्रतिको दायित्वबोध नगर्ने सत्ताको खेलका प्रति भने सिर्जनामा आक्रोश व्यक्त गरिएको छ । मानवले झेलिरहेको वर्तमानका सबै पीडाको मुक्तिको कामना, अपेक्षा सिर्जनाले गरेका छन् । समग्रमा आजको गोष्ठी निकै उत्कृष्ट रहेको छ भन्ने धारणा राख्नुभयो ।
गोष्ठीका अध्यक्ष राम विनयले आजको यो विशेष समारोहमा ‘विगतदेखि कोरोना महामारीसम्मका महामारी र साहित्यको भूमिका’ विषयमा अत्यन्त अनुभूतिपरक जानकारी दिनुहुने वरिष्ठ पत्रकार एवम् जीवित इतिहास भैरव रिसालज्यू, वाचित सिर्जनामाथि आफ्ना विचारसहित चिरफार गरिदिनुहुने प्राज्ञ नन्दु उप्रेतीज्यू, हामीले एक वर्षदेखि प्रविधिमैत्री गोष्ठी गरेको एक वर्ष पूरा भएको छ र यसमा योगदान गर्ने साहित्य सन्ध्याका सल्लाहकार विधान आचार्यज्यू, हाम्रो आमन्त्रण स्वीकार गरी सुदूर पूर्वको इलाम, झापा, इटहरी, विराटनगर हुँदै पश्चिमको बर्दिया, नेपालगन्ज, कोहलपुरसम्मका सम्पूर्ण उपस्थित आदरणीय स्रष्टाहरू सबै सबैमा हार्दिक आभार व्यक्त गर्दछु । कोरोनामहामारीका कारण समसामयिक विषयमा बहस गराउने सन्ध्याको प्रयत्न अवरुद्ध भएकोमा अघिल्लो गोष्ठीदेखि फेरि हामीले प्रारम्भ गरेका छौँ । अर्काे महिना पनि यस्तै कुनै समसामयिक विषयमा बहससहित सिर्जनावाचनका लागि निमन्त्रणा गर्ने नै छौँ । आजको साहित्य सन्ध्याको यो विशेष समारोहका माध्यमबाट हाम्रा सल्लाहकार एवम् नेपाली प्रगतिवादी साहित्य तथा संस्कृतिका शिखर व्यक्तित्व डा.मोदनाथ प्रश्रित तथा विद्वान् साहित्यकार प्राध्यापक राजेन्द्र सुवेदीज्यू कोरोनासङ्क्रमण पर्नुभएको जानकारी प्राप्त भएकाले हामी शिघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।