स्रष्टा सम्मान एवम् हास्यव्यङ्ग्य सिर्जना वाचन

साहित्य सञ्जाल रौतहटद्वारा चन्द्रनिगाहपुरमा आयोजित साहित्यिक कार्यक्रम तथा प्रतिभा सम्मान समारोहबीच हेटौडाका हास्यव्यङ्ग्य स्रष्टा आर.सी.रिजाललाई सम्मान गरियो । समारोहमा पोखराका हास्यव्यङ्ग्यकार शेषराज भट्टराईको तेस्रो हास्यव्यङ्ग्य कृति ‘कहिले सासूको पालो कहिलो बुहारीको पालो’का साथै ‘हाम्रो मातृभूमि’ साहित्यिक पत्रिकाको रौतहट विशेषाङ्क लोकार्पण गरियो ।

 

समारोहमा प्रमुख अतिथिको रूपमा हास्यव्यङ्ग्य स्रष्टा एवम् सञ्चारकर्मी नरनाथ लुइँटेललाई निम्त्याइएको थियो । इन्द्रराज उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रमको पहिलो चरणमा स्रष्टा आर.रिजाललाई सम्मानपत्र, ढाका टोपी र दोसल्ला प्रदान गरिजुका साथै प्रमुख अतिथिबाट कृति लोकार्पण गरिएको थियो । नेपाली साहित्यका प्रतिभा सम्पन्न स्रष्टा राजधानीमा मात्रै होइन मोफसलमा पनि छन् तर राजधानीले यस्तो कहिल्यै सोच्न र देख्न नसकेको बताउँदै नरनाथ लुइँटेलले वर्तमान नेपाली हास्यव्यङ्ग्य नेपाली राजनीतिमा देखिएको विसङ्त पर्यावरण माथि प्रहार केन्द्रित गरिरहेको चर्चा गर्नुभयो ।

 

भट्टराईको लोकार्पित कृतिमाथि समीक्षात्मक मन्तव्य दिँदै स्रष्टा रमेश समर्थनले कृतिमा सङ्ग्रहित निबन्धहरूले राजनीतिक सामाजिक र आर्थिक एवम् सांस्कृतिक अनाचार र दुराचारमाथि कसिलो ढङ्गले व्यङ्ग्य गरिएको बताउनु भयो । त्यसैगरी सम्मानित स्रष्टा आर.सी रिजालको व्यक्तित्व र हास्यव्यङ्ग्य क्षेत्रमा उहाँको योगदान बारे स्रष्टा सितल गिरीले प्रकाश पानु भएको थियो ।

 

समारोहको दोस्रो चरणमा हास्यव्यङ्ग्य रचना वाचन गरिएको थियो । नेपाल र भारतका समेत स्रष्टाहरूको सहभागिता रहेको कार्यक्रममा नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा लेखिएका हास्यव्यङ्ग्य सिर्जना प्रस्तुत गरियो । रमेश समर्थन, कमल नेपाल कुमार दाहाल, श्याम बानियाँ मिखाइल रहबर, डा. वसी मिकरानी, एम.आर लक्की, महमद सेर ए. नेपाल, सलिम समदर्शी, आर.सी.रिजाल आदिले आआफ्ना हास्यव्यङ्ग्य रचना प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत अधिकांश रचनामा नेपालको वर्तमान प्रदुषित राजनीतिमाथि मनोरञ्जनपूर्ण व्यङ्ग्य गरिएको थियो ।

 

झण्डै साढे तीन घण्टासम्म अनवरत चलेको कार्यक्रममा सहभागी स्रोता एवम् स्रष्टाहरूलाई सञ्जालका सचिव हरिकृष्ण काफ्लेले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सागर नेपालले गर्नुभएको थियो ।

(तस्विर स्रोतः माधव काफ्ले, चन्द्रनिगाहपुर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *