हास्यव्यङ्ग्य चित्रकार रविन सायमी सम्मानित

ललितपुर, २३ भदौ

लामो समयदेखि व्यङ्ग्य चित्र (कार्टुन कला) मार्फत हास्यव्यङ्ग्य क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएका रविन सायमीलाई यस वर्षको वासुदेव लुइँटेल हास्यव्यङ्ग्य पुरस्कार प्रदान गरिएको छ ।

image

वासुदेव(विद्यादेव लुईंटेल गुठीद्वारा यहाँ आज आयोजित कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशी, चित्रकार शशी शाह, साहित्यिक पत्रकार रोचक घिमिरे, डा.भीष्मराज प्रसाइँ र यादव खरेलले संयुक्त रुपमा सो नगद पुरस्कारसँगै कदरपत्र, सम्मान सूचक दुबोको माला र प्रतीक चिन्ह सायमीलाई प्रदान गर्नुभएको हो । पुरस्कारको राशि रु. एक लाख ११ हजार १११ रहेको छ ।

वि.सं. २०५० मा स्थापित सो संस्थाले आफ्नो स्थापना कालदेखि उक्त हास्यव्यङ्ग्य साहित्य, अभिनय र व्यङ्ग्य चित्र गरी तीन क्षेत्रका व्यक्तिलाई छनोट गरी पालै पालो यस पुरस्कारद्वारा सम्मान गर्दै आएकामा यस वर्ष व्यङ्ग्य चित्रकार सायमीलाई सम्मानित गरिएको हो ।

image

सो संस्थाले स्थापनाकालदेखि अहिलेसम्म सायमीसहित १३ विशिष्ट हास्यव्यङ्ग्य स्रष्टा एवम् कलाकर्मीहरूलाई पुरस्कार प्रदान गरिसकेको छ ।

पुरस्कार ग्रहण गरेपछि मन्तव्यका क्रममा सायमीले पुरस्कार प्राप्त गर्नु आफ्नो लागि गर्व मात्र नभई यस कार्यले आफ्नो दायित्वलाई अझ फराकिलो पारेको बताउनुभयो ।

वासुदेव लुइँटेलको तस्विरलाई सभाध्यक्ष मानेर आरम्भ भएको समारोहमा डा. महेश अधिकारीले तस्विर अनावरव गर्नुभएको थियो भने रामकुमार पाँडेले तस्विरमा माला अर्पण गर्नु भएको थियो ।

image

सो अवसरमा गुठीका अध्यक्ष प्रा. डा. सुषमा आचार्यले वर्तमान अवस्थामा हास्यव्यङ्ग्य क्षेत्र समाज सुधार गर्ने गम्भीर दायित्व बोकेको विधा रहेको र अहिले यस विधा विश्वमै उत्कृष्ट बन्दै गएको बताउनु भयो ।

सोही अवसरमा संस्कृतिविद् जोशीले व्यङ्ग्य क्षेत्रले राजनीतिक, सामाजिक, आर्थिक पक्षलाई सुधार गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

समारोहमा संस्था स्थापना कालदेखि अघिल्लो कार्यकालसम्मका संस्थाका पूर्व अध्यक्षहरूलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।

समारोहमा डा. भीष्मराज उप्रेतीले पुरस्कार संस्थापक वासुदेव लुइँटेलसँगका अन्तरङ्ग संस्मरण प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि शशी शाहले कार्टुन कलालाई यसरी सम्मानित गरिनु यस क्षेत्रमा संलग्नहरूको निम्ति गौरवको कुरा हो भन्नु भयो ।

हास्यव्यङ्ग्यका पितामह वासुदेव लुइँटेललाई स्मरण गर्दै नरनाथ लुइँटेलले संस्थाका तर्फबाट अतिथि एवम् सहभागी सबै महानुभावप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सिस्नुपानी नेपालका सचिव टङ्क आचार्यले सञ्चालन गर्नुभएको समारोहको अन्तमा वासुदेव लुइँटेलको जीवन सन्दर्भमाथि प्रकाश पारिएको वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *