३६औं आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रम समापन

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सरकारका नव–नियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका सामान्य प्रशासन सेवा, प्रशासन समूहका अधिकृतहरुका लागि मिति २०७९ फागुन ३ गते शुभारम्भ भएको ६ महिने ३६औं आधारभूत प्रशासन प्रशिक्षण (Basic Administration Training) कार्यक्रमको आज मिति २०८० भाद्र ४ गते समापन गरियो । जस अन्तर्गत १५ महिला तथा ६५ पुरुषसहित कुल ८०  जना प्रशिक्षार्थीहरु दीक्षित  भए  ।

प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथिको आसनबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका  माननीय मन्त्री श्री अनिता देवीले तालिमबाट प्राप्त ज्ञान र सीपलाई जनताको हितमा प्रयोग गर्नका लागि निर्देशन दिनुभयो । उक्त दीक्षान्त समारोहमा आफ्नो मन्तव्य राख्ने क्रममा वहाँले प्रशिक्षार्थीहरुलाई ईमान्दारीताकासाथ सेवाग्राहीको कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । साथै वहाँले प्रशिक्षार्थीहरुलाई कसैको मोलाहिजा र प्रलोभनमा नपरी आफ्नो प्रतिभा, क्षमता र कार्यशैलीद्वारा छिटो र चुस्त सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिदै ३६औं आधारभूत प्रशासन प्रशिक्षणबाट दीक्षित प्रशिक्षार्थीहरुलाई बधाई,  शुभेच्छा एवं शुभकामना व्यक्त गर्नुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन सचिव डा.कृष्णहरि पुष्करले दीक्षित प्रशिक्षार्थीहरुलाई बधाई एवं शुभकामना व्यक्त गर्दै प्रशिक्षार्थीहरुलाई देशको बारेमा चिन्ता गर्दै निजामती सेवामा अनुचित कार्यहरु नगरी कुनै प्रभाव र दबावमा नपरी साधन श्रोतको उच्चतम प्रयोगद्वारा राष्ट्रसेवा गर्ने जिम्मेवारी सम्हाल्न तयार रहनुपर्ने बताउनुभयो । साथै देश र जनताको अपेक्षा बुझेर आदर्श शैली अपनाई सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

समापन मन्तव्य दिने क्रममा कार्यक्रमका सभाध्यक्ष नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमबाट दीक्षित सम्पूर्ण प्रशिक्षार्थीहरुलाई बधाई ज्ञापन एवं आगामी दिनहरुको लागि शुभकामना व्यक्त गर्नुभयो ।

स्वागत मन्तव्य राख्ने क्रममा प्रतिष्ठानको सार्वजनिक सेवा प्रशिक्षण विभागका प्रमुख एवं बरिष्ठ अध्ययन निर्देशक श्री त्रिलोचन पोखरेलले प्रशिक्षण कार्यक्रमलाई समय सापेक्ष परिमार्जन गरी कार्यक्रमलाई थप सहभागीतामूलक, प्रयोगात्मक, र व्यवहारिक बनाउन प्रयास गरिएको वताउनुभयो ।  यस आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमबाट दीक्षित हुने प्रशिक्षार्थीहरुको काँधमा थप जिम्मेवारी रहने विचार व्यक्त गर्दै जनताको अपेक्षा संबोधन गर्न प्रशिक्षार्थीहरुले आफ्नो तहबाट पूर्ण प्रयास गर्नुहुने विश्वास समेत वहांले व्यक्त गर्नुभयो । कार्यक्रम शुभारम्भमा प्रशिक्षार्थीहरुले सामुहिक रुपमा तयार गरिएको मूल्य र मान्यता प्रतिको प्रतिवध्दताहरुलाई दीक्षित भएका प्रशिक्षार्थीहरुले सामुहिक रुपमा वाचन गर्नुभएको र प्रतिवध्दताहरु जीवनपर्यन्त लागू गर्ने समेत व्यक्त गर्नुभएको थियो । प्रशिक्षार्थीहरुको तर्फबाट मन्तव्य व्यक्त गर्ने सिलसिलामा अञ्जली लिम्वु र केशव ज्ञवालीले आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको समग्र सिकाइ अनुभव एवं प्रशिक्षण कार्यक्रम सम्बन्धमा समीक्षा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *