अनुपममा शब्द सिर्जना : तेइसौँ शृङ्खलामा

काठमाडौं, ०७१ वैशाख
अनुपम सिर्जना प्रतिष्ठानको नियमित मासिक रचना वाचन कार्यक्रमको तेइसौँ शृङ्खला गत शनिबार एड मार्क कलेज परिसर कलङ्कीमा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा हुनुहुन्थ्यो आख्यानकार प्राज्ञ माया ठकुरी । कवि एवं अनुपम सिर्जनाका प्रतिष्ठानका सदस्य भुवनहरि सिग्देलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम प्रमुख अतिथिद्वारा दीप प्रज्वलन तथा प्रतिष्ठानका महासचिव नवराज पहाडीको स्वागत मन्तव्यपछि सुरुभएको थियो ।

image

कार्यक्रममा दुई दर्जन साहित्यिक स्रष्टाहरूले आफ्नो प्रस्तुति दिएका थिए । सहभागी स्रष्टाहरूमा कालिक चेतनाको प्रतिच्छाया देख्न सकिन्थ्यो । प्रस्तुतिमा कविता, गीत, गजल, मुक्तक, हाइकुलगायतका साहित्यिक प्रस्तुतिहरू सुन्न पाइयो ।

छन्द संरचनामा आफ्ना कविता सिर्जना वाचन गर्नेहरूमा पूर्णप्रसाद पन्त, सूर्यवदना पंडित, सूर्यकुमार पंडित, भाग्यशाली अधिकारी, दुर्गा रिमाल, भुवनहरि सिग्देल र राजेन्द्रप्रसाद ढुङ्गाना हुनुहुन्थ्यो । त्यसैगरी विनुबाबा घिमिरे, रामशरण खड्का, ब्रह्मप्रिय प्रेमस्वरूप, डा. जीवन अधिकारी, जितु खड्का र राजेश चोछेले मुक्त लय संरचनाका कविता वाचन गर्नुभएको थियो । गजल सिर्जना प्रस्तुतिमा अनिश बिष्ट हुनुहुन्थ्यो । हरि खनाल र भगवती रोका भूमिकाले चाहिँ गीति सिर्जना प्रस्तुत गर्नुभएको थियो । नवराज पहाडीले मुक्तक अनि मुरारी सिग्देलले हाइकु सिर्जना पस्किनुभएको थियो ।

प्रमुख अतिथि माया ठकुरीले मन्तव्यका क्रममा कलङ्की क्षेत्रमा स्थापित यो साहित्यिक संस्था आफ्नो गतिविधिद्वारा उन्नतिको बाटोमा अघि बड्दै गएकोमा संस्थालाई बधाई ज्ञापन गर्नु भयो । मन्तव्यसँगै उहाँले आफ्नो कथा सिर्जना पनि सुनाउनुभयो । कार्यक्रमका अध्यक्ष कवि भुवनहरि सिग्देलले धन्यवाद मन्तव्य व्यक्त गर्दै आफ्नो छन्दोवद्ध कविता सुनाउनु भएको थियो । करिब तीन घण्टासम्म चलेको उक्त कार्यक्रमको सञ्चालनमा हुनुहुन्थ्यो प्रतिष्ठानका सचिव जितु खड्का ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *