काठमाडौँ, १० फागुन, अविरल जनसाहित्य यात्राको ५४औँ श्रृङ्खलामा कवि तारा गाउँलेका एकल कविताहरु सुनिएका छन् । नेकपाका वरिष्ठ नेता रघुजी पन्तको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा कवि गाउँलेले १२ वटा जनवादी कविताहरु सुनाएका थिए ।
एक लाइने कविता (एलाक) अभियन्ता डम्बर पहाडी, नन्दु उप्रेती र अनिता लामाले कवि गाउँलेलाई कविताहरु वाचन गर्न सहयोग गरेका थिए । गाउँलेको पूर्वप्रकाशित कविता संग्रह ‘उज्यालोतिर’ मा समावेश भएको कविताहरु त्यहाँ वाचन गरिएको थियो ।
गाउँलेका कविताहरुले युगीन चेतना बोक्ने प्रमुख अतिथि तथा समालोचक रघुजी पन्तले बताए । २०४६ साल अघिका र त्यसपछिका कविता भनेर कविता संग्रहमै छुट्याइएको उल्लेख गर्दै पन्तले त्यो समयको आवाज कविताले बोलेको उल्लेख गरे । कविताका केही अंशहरु वाचन गर्दै पन्तले सान्दर्भिकतालाई उठाउन ती अंशहरु काफी भएको बताए । यति हुँदाहुँदै पनि कविका कवितामा तारतम्यताको अभाव भएको उल्लेख गरे । युगीन चेतना बोक्न सक्ने र सामयिक विषयमा कलम चलाउन सक्ने भए पनि कवि गाउँलेले कवितामा निरन्तर अभ्यास नगरेको उनले बताए । उनले भने, ‘दुई चारवटा कविता लेख्दै फाल्दै गर्नुहोस्, तपाईंका कविता आफैँ उत्कृष्ट हुन्छन् ।’
जनसांस्कृतिक महासंघको हलमा भएको कार्यक्रमको सभापतित्व जनसाहित्य मञ्चकी उपाध्यक्ष नर्वदेश्वरी सत्यालले गरेकी थिइन् भने साहित्यकार तथा अन्वेषक शीतल गिरीले कार्यक्रमको सञ्चालन गरेका थिए ।
(स्रोत: aajakokhabar.com)