अविरल जनसाहित्य यात्रा–६८ मा प्रगतिवादी कवि÷गजलकार किसान प्रेमीका एक दर्जन गजल तथा कविता गुञ्जिए

जेठ १४ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ६८ औँ शृङ्खलामा चितवनका वरिष्ठ गजलकार एवम् कवि किसान प्रेमीका एक दर्जन गजल तथा कविता गुञ्जिए ।


राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा नेपाल प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति एवम् अग्रज साहित्यकार गङ्गाप्रसाद उप्रेती उपस्थित हुनुहुन्थ्यो भने राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । अतिथिहरूमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष आर.सी.न्यौपाने र सचिव राममणि ढुङ्गेल, प्रलेस काठमाडौँका अध्यक्ष ज्ञानु विद्रोही, वरिष्ठ स्रष्टा नर्मदेश्वरी सत्याल, टिप्पणीकार उपप्रा.रूपक अलङ्कार र कविनायककी जीवनसाथी गीता खाती उपस्थित हुनुहुन्थ्यो ।
सङ्घका महासचिव प्रकाश सिलवालको सञ्चालनमा सम्पन्न भएको उक्त समारोहका अध्यक्ष राम विनयले छ वर्षअगाडिदेखि सञ्चालन गरिएको ‘अविरल जनसाहित्य यात्रा’ बिचमा केही समय रोकिएको थियो तर फेरि यसको उद्देश्यअनुसार एकजना प्रगतिवादी स्रष्टालाई यो विशेष समारोहमा उपस्थित गराई कविको व्यक्तित्व तथा कृतित्वका बारेमा समेत चर्चा गर्दै एक दर्जन कविता, गीत, गजल सुन्ने र ती रचनाको समालोचना गर्ने यो कार्यक्रमले स्रष्टालाई र समग्र नेपाली साहित्यमा केही न केही योगदान अवश्य पुग्छ भन्ने ठानेर थालनी गरिएको हुँदा यस्तो महत्त्वको शृङ्खलालाई निरन्तरता दिनुपर्छ भनेर अगाडि बढाइएको छ । आजको यो विशेष शृङ्खलामा भने विगत साढे दुई दशकदेखि विशेष गरी चितवनमा रहेर नेपाली प्रगतिवादी साहित्यका माध्यमबाट, सङ्गठनका माध्यमबाट र नेतृत्वका माध्यमबाट समेत सामाजिक रूपान्तरणको अभियानमा सक्रियताका साथ लागिरहनुभएका अभियन्ता किसान प्रेमीलाई प्रस्तुत गरिएको छ । उहाँका एक दर्जन गजल र कविता सुन्ने यो विशेष समारोहमा हाम्रो निमन्त्रणा स्वीकार गरी उपस्थित भइदिनुहुने प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरू र साहित्यमर्मज्ञ सबै सबैमा म हार्दिक स्वागत अभिवादन गर्दछु, र यो गरिमामय उपस्थितिका लागि हार्दिक आभारसमेत व्यक्त गर्दछु भन्नुभयो ।
‘अविरल जनसाहित्य यात्रा’को उद्देश्य तथा आजको यो विशेष समारोहका कविनायक किसान प्रेमीको व्यक्तित्वमाथि प्रकाश पार्दै राष्ट्रिय जनसाहित्यिक सङ्घका महासचिव प्रकाश सिलवालले वि.सं.२०१९ वैशाख १२ गते माता पार्वती खाती र पिता दलबहादुर खातीका सुपुत्रका रूपमा बागलुङमा जन्मिएर चितवनलाई कर्मक्षेत्र बनाउनुभएका किसान प्रेमीले २०५२ सालमा पहिलो कविता प्रकाशित गरेर नेपाली साहित्यमा प्रवेश गरी ‘गाउँवस्ती रोइरहेछ’ कवितासङ्ग्रह २०५९, ‘गजब छ मान्छे’ गजलसङ्ग्रह २०६३, ‘चेतना’ खण्डकाव्य २०६९, ‘गजलपथका यात्रीहरू’ संयुक्त गजलसङ्ग्रह २०६१, ‘गजल विम्ब’ संयुक्त गजलसङ्ग्रह २०६२ प्रकाशित गरिसक्नुभएको छ भने ‘अन्जानमा गयौ कि’ गजलसङ्ग्रह प्रकाशोन्मुख अवस्था रहेको छ । विभिन्न सङ्संस्थामा सक्रिय सहभागिता जनाइरहनुभएका र साहित्यसिर्जना र संस्थाहरूमा रहेर देखाउनुभएको सक्रियताका लागि विभिन्न सम्मान तथा पुरस्कारद्वारा सम्मानितसमेत भइसक्नुभएका अग्रज स्रष्टा रहनुभएको जानकारी दिनुभयो ।


कविनायक किसना प्रेमीले सबै गजल तथा कविता आफैँले वाचन गायन गर्दै र पूर्व पृष्ठभूमिसमेत उल्लेख गर्दै ‘देशको माटो’, ‘सीमा देशको’, ‘बोल्दै नबोल्दा नि’, ‘अश्लील फोटो’, ‘लुकायौ नि साथी’, ‘बदले छन् अबको धार’, ‘आफ्नो आफ्नो गुट छ’, ‘बुढो हुने मौकै छैन’जस्ता सशक्त आठओटा गजलहरू र युवापलायनसँग सम्बन्धित र ‘खै कहाँ बदलियो नेपाल ?’ शीर्षकका अत्यन्त मार्मिक गीति कविता, ‘नारी अस्मिता र कानुनको ठेली’ शीर्षकको गद्य कविता र ‘कोल्टे परेको गाउँ’ शीर्षकको अर्काे गद्य कविता अत्यन्त उत्कृष्ट गायन र वाचनसहित प्रस्तुत गर्नुभयो ।


वाचित कविता तथा गजलमाथि टिप्पणी गर्नुहुँदै उपप्रा.रूपक अलङ्कारले असाध्यै सुन्दर, सूत्रात्मक, लयबद्ध गजल र कविता त्यत्तिकै आत्मविश्वासका साथ उत्कृष्ट गायनसहित प्रस्तुत भएका; गजललाई विषयले होइन संरचनाले बाँध्ने हो भन्ने सैद्धान्तिक मान्यतालाई समेत पालना गरिएको, प्रायः गजलमा देशको माटो र संस्कृति उनिएको, साहित्यको उच्चतम् अर्थ व्यञ्जना हो भन्ने मान्यतालाई आत्मसात गरेर गजलमा व्यङ्ग्य जोडिएको; सपाट, सार्थक र सरल सिर्जना वाचित भएका; मानवीय प्रवृत्ति कविता तथा गजलमा उजागर भएको, लय विधान निकै सुन्दर रहेको, नेपाली विकृत राजनीतिलाई गजलले छुरा हानेका, कवितामा कविमनको मात्र होइन समग्र नेपालीको भित्री पीडा मार्मिकरूपमा अभिव्यक्त भएको, शीर्षकैले कविताका विषयवस्तुको समग्र अभिव्यक्ति दिएको, कवितान्तमा रूपान्तरणको सन्देश सम्प्रेषित भएको, नारी उत्पीडनका ज्वलत्न अभिव्यक्ति सशक्तरूपमा आएको, विम्ब र प्रतीकको सुन्दर प्रयोग भएको, समसामयिक विषयलाई समेटिएको, कविता तथा गजलमा कविको हृदय सपाटढङ्गले अभिव्यक्त भएको, कविता तथा गजलमा विचार पक्ष पनि सशक्त अनि संरचनापक्ष पनि सुन्दर रहेको पाइन्छ । यद्यपि परिष्कार तथा परिमार्जनको पाटो त जहिल्यै पनि आवश्यक रहन्छ नै तर पनि समग्रमा सिर्जना उत्कृष्ट रहेका धारणा राख्नुभयो ।


विशेष अतिथि महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले सिर्जना कालजयी हुन्छ र हुनुपर्छ । स्रष्टाले देखेको कुरालाई र गलत कुरालाई उजागर गर्ने र रूपान्तरणका पक्षमा आबाज बुलन्द गर्ने काम गर्नुपर्छ । लोकतन्त्रको स्थापनापछि धेरै काम भएका छन्, विकासनिर्माणले गति लिएको छ, केही कामै नभएको चाहिँ होइन । हो, जनअपेक्षानुरूप काम हुनसकेनन् । तर पनि हाम्रा सिर्जनाले सकारात्मकताको खोजी गर्ने र आशावादी जीवन दृष्टि सम्प्रेषण गर्ने काम गर्नुपर्दछ र त्यसका लागि स्रष्टा सदैव सचेत हुनुपर्दछ । आजको यो विशेष शृङ्खलामा चितवनमा रहेर नेपाली प्रतिवादी साहित्यका माध्यमबाट समाजको रूपान्तरण अभियानमा संलग्न रहनुभएका किसान प्रेमीका अत्यन्तै सुन्दर गजल तथा कविता सारै मिठो लयमा वाचन गरेको सुन्ने अवसर प्राप्त भयो । उहाँको सिर्जनधर्मितालाई र आयोजक राष्ट्रिय जनसाहित्यिक सङ्घलाई हार्दिक धन्यवाद दिन्छु, यो अभियानले यस्तै सार्थक कार्यक्रम गरिरहोस् हार्दिक शुभकामना पनि दिन्छु भन्नुभयो ।


प्रमुख अतिथि माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले कवि किसान प्रेमीका आज आठओटा गजल र चारओटा कविता वाचित भए । महामारीले टुटाएको अविरल जनसाहित्य यात्रालाई जोड्ने यो विशेष समारोह सराहनीय छ । स्थापित प्रगतिवादी स्रष्टादेखि राजधानी बाहिरसम्म यो यात्रा पुगेको छ । स्थापितलाई थप क्रियाशील पार्ने र नयाँलाई प्रोत्साहन गर्ने यो अभियान महत्त्वपूर्ण छ । स्रष्टाको सिर्जनाको शक्तिले श्रेष्ठता र ज्येष्ठता स्थापित गर्दछ । साहित्यले समसामयिक यथार्थको बोध गराउँदै रूपान्तरणको सन्देश सम्प्रेषण गर्नुपर्दछ । सिर्जनामा विचार समाहित गरी समाज, त्यसको गतिलाई अभिव्यक्त गर्दै कलात्मकताका साथ रूपान्तरणको ध्वन्यार्थ सम्प्रेषण गर्नुपर्दछ । आजका कविता तथा गजलमा समसामयिक यथार्थबोध सशक्तरूपमा सम्प्रेषित भएको छ, देशभक्तिका कुरा, सिमाना रक्षाका कुरा, शोषण र विभेदका कुरा सिर्जनामा आएका छन् । चेत भएको सचेत स्रष्टाले समाज बिउँझाउने सिर्जना गर्दछ । सामाजिक तथा जातीय वर्गीकरणभित्र आपूmले पनि भोगेका भोगाइलाई सिर्जनामा सुन्दरढङ्गले अभिव्यक्त गरिएको छ । स्रष्टाले के लेख्ने भन्ने विषय चयन गर्ने र समाजभित्र पसेर, समाज बुझेर परिवर्तनका अवसर पुगे÷नपेगेका पक्षमा विचार गरी यथार्थपरक मूल्याङ्कन गर्नुपर्दछ । परिवर्तनको यात्रा सकारात्मक छ तर नकारात्मक मात्र टिप्पणी गरिनुहुन्न भन्ने मान्यतालाई साहित्यकारले आत्मसात गर्नुपर्दछ । राजनीति अलि सङ्क्रमणको अवस्थामा पुगेको वेलामा साहित्यकारले सकारात्मक भूमिका निर्वाह गर्नुपर्दछ । हाम्रो भौतिक विकासनिर्माणले निकै फड्को मारेको छ तर पनि समाजको गतिमा अवरोध ल्याउने, भएका केही नदेख्ने, निराशाको मात्र कुरा गर्नेहरूसँग सचेत भएर हाम्रो लेखनले समाजलाई दिशानिर्देश गर्नु आवश्यक छ । नेपाली साहित्यमा विधाकै रूपमा गजल स्थापित भएर विस्तारै सशक्तता थप्दै लगेको वर्तमानमा आज कविताभन्दा बढी गजल सुन्न पाइयो, सबै सिर्जना सुन्दर रहेका छन् । समग्रमा यो समारोह उत्कृष्ट भएको मलाई लागेको छ भन्ने धारणा राख्नुभयो ।


विशेष समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरू, टिप्पणीकार, साहित्यानुरागी व्यक्तित्वलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले निस्वार्थता, इमान र निष्ठाका प्रतीक; वैचारिक दृढताले युक्त, सङ्गठनमा आबद्ध, सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने र आफ्ना सिर्जनामा प्रखर राष्ट्रवादी चेतना सम्प्रेषण गर्ने किसान प्रेमीले आफ्ना सिर्जनामा जनजीवनका सम्पूर्ण भोगाइको जीवन्त चित्रण गर्नुभएको, सबै सिर्जनामा सामाजिक रूपान्तरणको स्पष्ट आग्रह रहेको, गेयात्मकता सशक्त देखिएको, नेपाली समाजमा समस्याका रूपमा रहेको युवापलायनले सिर्जिएको पीडाको अत्यन्त कारुणिक र मार्मिक अभिव्यक्ति कवितामा भएको, सामाजिक उत्पीडन र शोषणको जीवन्त चित्रण गर्दै रूपान्तरणको स्पष्ट आग्रह गरिएको, लोकतन्त्रको प्राप्तिपछि पनि समाज अपेक्षितरूपमा रूपान्तरण नभएको अनि गरिब दुःखीको जीवनस्तर नबदलिएको अवस्थाका प्रति चिन्ता जाहेर गरिएका उत्कृष्ट रचना सुन्न पाइयो । साढे दुई दशकदेखि सामाजिक रूपान्तरणको उद्देश्यले साहित्य सिर्जनामा रमेका प्रेमी जातीय सङ्कीर्णताबाट माथि उठेर सिर्जना गर्ने अब्बल चेतनाका धनी रहेको चर्चाका साथ हाम्रो आग्रहलाई सहजरूपमा सवीकार गरी उहाँ यो विशेष समारोहमा चितवनबाट उपस्थित भइदिनुभयो, हामी हार्दिक आभार व्यक्त गर्दछौँ । अर्काे महिनामा ६९ औँ ‘अविरल जनसाहित्य यात्रा’मा मोरङ जिल्लाको बेलबारीमा रहेर नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहनुभएकी तारा पराजुलीलाई हामी प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता÷गीत श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *