प्रगतिवादी कवि मसान उपासकका एक दर्जन कविता गुञ्जिए

पुस ९ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ७४ औँ शृङ्खलामा हेटौँडामा रहेर सक्रियताका साथ कलम चलाइरहेका प्रगतिवादी कवि मसान उपासकका एक दर्जन कविता गुञ्जिए ।


राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष एवम् सामाजिक रूपान्तरण अभियानका सङ्घर्षशील अभियन्ता प्रेमनाथ अधिकारी उपस्थित हुनुहुन्थ्यो भने युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, प्रा.केशव सुवेदी, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिव एवम् राष्ट्रिय जनसाहित्यिक सङ्घका इन्चार्ज राममणि ढुङ्गेल, प्रगतिशील लेखक सङ्घकी उपाध्यक्ष नमुना शर्मा, डा.गोविन्दप्रसाद आचार्य, नर्मदेश्वरी सत्याल, मकवानपुरका स्रष्टा एवम् सामाजिक रूपान्तरण अभियानका अभियन्ता गोपाल सञ्जेल अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।


राष्ट्रिय जनसाहित्यिक सङ्घका कार्यालय सदस्य ज्ञानु विद्रोहीको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा महासचिव प्रकाश सिलवालले कविनायक मसान उपासकको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नुहुँदै माता गोमाकुमारी सञ्जेल र पिता रामप्रसाद सञ्जेलका सुपुत्रका रूपमा मकवानपुरको बकैया ४ मा जन्मिएका मसान उपासक सिर्जना, सङ्गठन एवम् सञ्चार तथा जागरणका क्षेत्रमा अत्यन्त क्रियाशील स्रष्टा हुन् । दुइटा विषयमा स्नातक गरेका र गणित शिक्षकका रूपमा समेत क्रियाशील उपासकका ‘मानचित्रमा देश’ कवितासङ्ग्रह र ‘अक्षर आराधन’ गजलसङ्ग्रह प्रकाशित भएका छन् । साहित्यका प्राय: सबै विधामा कलम चलाइरहेका उपासक दर्जनभन्दा बढी सङ्घसंस्थामा समेत क्रियाशील रहेका छन् । रेडियो बुलेटिन मकवानपुरका समाचार प्रमुखका रूपमा समेत क्रियाशील उपासक राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको बागमती प्रदेश संयोजकसमेत रहेका छन् । सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने यिनै स्रष्टालाई आज हामीले अविरल जनसाहित्य यात्राको यस ७४ औँ शृङ्खलामा उपस्थित गराएका छौँ भन्नुभयो ।


समारोहको अध्यक्षता गर्दै राम विनयले छ वर्षअगाडिदेखि सञ्चालन गरिएको ‘अविरल जनसाहित्य यात्रा’ महामारीजन्य समयमा बिचमा केही समय रोकिएको थियो तर फेरि यसको उद्देश्यअनुसार एकजना प्रगतिवादी स्रष्टालाई यो विशेष समारोहमा उपस्थित गराई कविको व्यक्तित्व तथा कृतित्वका बारेमा समेत चर्चा गर्दै एक दर्जन कविता, गीत, गजल सुन्ने र ती रचनाको समालोचना गर्ने यो कार्यक्रमले स्रष्टालाई र समग्र नेपाली साहित्यमा केही न केही योगदान अवश्य पुग्छ भन्ने ठानेर थालनी गरिएको हुँदा यस्तो महत्त्वको शृङ्खलालाई निरन्तरता दिइएको छ । साहित्यमा पनि वर्गीय प्रेम हुन्छ र विनाभेदभाव सबैलाई समान अवसर प्रदान गर्दै सिर्जनामा रहेका कमीकमजोरी सुधार्ने उद्देश्यका साथ वाचित रचनामाथि विशेषज्ञ व्यक्तित्वद्वारा समीक्षा गर्ने प्रचलन रहेको छ । आजको शृङ्खलामा नेपाली प्रगतिवादी साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियानमा र सङ्गठनका माध्यमबाट पनि प्रगतिवादी वैचारिकता सम्प्रेषण गर्दै सामाजिक रूपान्तरण अभियानमा सशक्तढङ्गले सक्रियता देखाइरहेका मसान उपासकलाई प्रस्तुत गरिएको धारणा राख्नुभयो । कविनायकलाई प्रमुख अतिथिले माल्यार्पण गर्नुभयो ।


कविनायक मसान उपासकले विगत छ वर्षदेखि अविरल सञ्चालन भइरहेको यो विशेष महत्त्वको विशेष समारोहमा आज आपूm प्रस्तुत हुने अवसर पाएकोमा कृतज्ञता जाहेर गर्दछु । मैले कविता सिर्जना गरेको चाहिँ स्पष्टत: सामाजिक रूपान्तरण अभियानलाई सघाउनका लागि नै हो । जब जब समाजमा, देशमा देखिएका बेथितिले मलाई दुखाउँछन् तब मैले सिर्जना गर्ने र त्यही सिर्जनामार्फत आपूmलाई अभिव्यक्त गर्ने गरेको छु भन्नुहुँदै कवितासिर्जनाको अन्तरगर्भको जानकारीका साथ आपूm एक्लैले ‘जानुअघि सहरतिर’, ‘विरुद्धमा विरुद्ध’, ‘नयाँ संविधान’, ‘काजल खातुन’, ‘कविहरू’, ‘जेब्राक्रसमा एक छिन्’ शीर्षकका छओटा अत्यन्त सुन्दर एवम् सशक्त कविता पहिलो चरणमा वाचन गर्नुभयो । दोस्रो चरणमा ‘सोच’, ‘क्वारेन्टाइन’, ‘छोरीको नाममा’, ‘..र त्यसपछि छोरालाई अरब बेचेँ’ ‘प्रियसीप्रति’ र ‘देशप्रति’ शीर्षकका छओटा त्यस्तै सुन्दर कविता वाचन गर्नुभयो ।
पहिलो चरणका छओटा कविता वाचनपछि नर्मदेश्वरी सत्यालले कविनायकलाई शुभकामना व्यक्त गर्दै सामाजिक रूपान्तरण अभियानका अत्यन्त सक्रिय एवम् प्रतिभाशाली कविलाई आजको यो विशेष समारोहमा उपस्थित गराइएको छ । रूपान्तरणको थालनी पहिले आपूm र आफ्नो परिवारबाट गरिनुपर्दछ, समभावको व्यवहार एवम् आचरण प्रदर्शन गरिनुपर्दछ भन्ने ठानेर तपाईँको लेखन एवम् सक्रियता अझ चुलिँदै जाओस् भन्नुभयो ।


वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै डा.रमेश शुभेच्छुले अविरल जनसाहित्य यात्राको यो अभियान ७४ औँ शृङ्खलामा पुगेको र यो अभियानमा आज म आपूm पनि कवि मसान उपासकका कविता सुन्न र कवितामाथि टिप्पणी गर्न उपस्थित हुँदा गौरवबोध भएको छ । खास नाम मीनप्रसाद सञ्जेल भए पनि साहित्यमा मसान उपासकका नामबाट निरन्तर नेपाली साहित्यका विविध विधामा कलम चलाइरहेका अत्यन्त सक्रिय, थोरैमा धेरै भन्न्सकियो भने कविता सुन्दर र सशक्त हुन्छ भन्ने मान्यतालाई आत्मसात गर्ने स्रष्टाका गाउँका, तराईकेन्द्रित, द्वन्द्वको प्रतिनिधित्व गर्ने, सहरका, महामारीजन्य समयका, लैङ्गिकताका, युवापलायनका, हार्दिक प्रेमका र राष्ट्रप्रेमका विषय समेटिएका कविता आज वाचित भएका छन् । कवितामा सहर संवेदनाशून्य हुँदै गएको र गाउँ शून्य हुँदै गएकामा चिन्ता जाहेर गरिएको छ । मिथकीय विम्बको प्रयोग कवितामा गरिएको छ । जनताले बाँचेको कारुणिक एवम् पीडाजन्य अवस्थाको सुन्दर एवम् सशक्त चित्रण कवितामा गरिएको छ । पहिचानको स्वर कवितामा उनिएको छ । तीन वर्षकी बालिकाको हत्याको कारुणिक मार्मिक दृष्टान्तका माध्यमबाट नारीहरू असुरक्षित रहेको अनि राज्यले दायित्व पूरा नगरेकोप्रति चिन्ता जाहेर गरिएको छ । सत्तामा कुरूपकै उपस्थिति भइरहेको अवस्थाका प्रति शालीन आक्रोश व्यक्त गरिएको छ । झन्डाभन्दा विचार माथि हुन्छ र हुनुपर्छ भन्ने वैचारिकताको सम्प्रेषणसहित कर्मशील जीवनको अपेक्षा कवितामा गरिएको छ । जनताको स्वास्थ्यप्रति सरकार गैरजिम्मेवार भइरहेकोप्रति चिन्ता गरिएको छ । राज्यले जनतामाथि कर थोपर्दा थोपर्दा नागरिक बाँच्ननसक्ने तहमा पुगेका र शरीरको किडनी बेच्न बाध्य हुनुपरेको मर्मान्त प्रस्तुति गरिएको छ । यसैगरी जनजीविका नै अत्यन्त कठिन भएपछि युवा पलायन हुन र बेचिन बाध्य हुनुपरेको वर्तमान दुरावस्थाका प्रति चिन्ता जाहेर गरिएको छ । देशमा विद्यमान रहेका यावत समस्या कवितामा उजागर गरेर समग्र समस्यामा रूपान्तरण तत्कालको आवश्यकता हो भन्ने शंखघोष गरिएको छ । नेपाली अनुहारका विदेशी एजेन्टसँग हामी नागरिकले होसियार रहनुपर्ने खबरदारीको सन्देश पनि कवितामा सम्प्रेषित भएको छ । वर्तमानमा वर्गीय चरित्र फेरिएको, नेतृत्व अविश्वसनीय भइरहेको प्रति पनि चिन्ता जाहेर गरिएको छ । समग्रमा कविताले वर्तमान विसङ्गत समाजको यथार्थ चित्र खिचेका छन् र रूपान्तरणका पक्षमा वकालत गरेका छन् भन्ने धारणा राख्नुभयो ।


प्रमुख अतिथि महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले अविरल जनसाहित्य यात्राको यो अभियान कला, साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियान हो । महासङ्घका सबै घटकहरूले सिर्जनात्मक सक्रियता देखाउन् भन्ने अभिप्रायले छ वर्ष अगाडि थालनी भएको यो विशेष समारोहले निरन्तरता पाइरहेको छ । यसका लागि राष्ट्रिय जनसाहित्यिक सङ्घलाई म धन्यवाद दिन्छु । आजको यो विशेष समारोहमा सुन्दर, चोटिला कविता सुन्ने अवसर प्राप्त भएको छ । आज अत्यन्त सक्रिय स्रष्टाका सामाजिक रूपान्तरणको चेतनाले भरिएका कविता वाचित भएका छन् र वाचित कवितामाथि मसिनोढङ्गले समीक्षासमेत भएको छ । आज हामीले सुनेका देशभक्तिपूर्ण कविताले हामीलाई नै झकझकाएका छन् । वर्गीय चेतना कमजोर पार्ने कुनै पनि प्रवृत्तिका विरुद्धमा स्रष्टाले सिर्जना गर्नु आवश्यक छ । स्वार्थी प्रवृत्ति मौलाएकोप्रति सशक्त प्रहार आवश्यक छ । समग्र त्याग र समर्पण बिर्सेर स्वार्थमै मात्र केन्द्रित हुने प्रवृत्तिलाई सिर्जनाका माध्यमबाट निर्मम प्रहार गरिनु आवश्यक छ । सांस्कृतिक विकृतिका विरुद्धमा पनि हामी स्रष्टाका सिर्जना सोझिनु आवश्यक छ भन्ने धारणा राख्नुभयो ।


विशेष समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्वलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले वैचारिक दृढताले युक्त, सङ्गठनमा आबद्ध, सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने र आफ्ना सिर्जनामा प्रखर राष्ट्रवादी चेतना सम्प्रेषण गर्ने मसान उपासकले आफ्ना सिर्जनामा जनजीवनका सम्पूर्ण भोगाइको, बेथितिको, अन्याय अत्याचारको, विभेदको जीवन्त चित्रण गरेका; सबै सिर्जनामा सामाजिक रूपान्तरणको स्पष्ट आग्रह रहेको, नेपाली राजनीतिमा र विशेषगरी नेतृत्वमा देखिएको विचार र व्यवहारमा तालमेल नदेखिएको अवस्थाका प्रति अत्यन्त मार्मिक अभिव्यक्ति कवितामा भएको, सामाजिक उत्पीडन र शोषणको जीवन्त चित्रण गर्दै रूपान्तरणको स्पष्ट आग्रह गरिएको, लोकतन्त्रको आडमा स्वार्थी र पदलोलुपको बढोत्तरी भएको, क्रान्तिकारी खोल ओढेर राष्ट्रघातको लम्पसारवादी प्रवृत्ति मौलाएको, सत्ता स्वार्थलिप्साको घनचक्करमा रुमल्लिएको, गरिब दु:खीको जीवनस्तर नबदलिएको बरु ग्रिबको जीवन झनै कष्टकर भइरहेको अवस्थाकाप्रति चिन्ता जाहेर गरिएका मध्यम आयामका सुन्दर कविता सुन्न पाइयो । सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने प्रखर कवि मसान उपासकका बारेमा हामीले सुन्यौ, कविता सुन्यौँ, परिचर्चा गर्यौँ । अर्काे महिनामा ७५ औँ ‘अविरल जनसाहित्य यात्रा’मा प्रगतिवादी साहित्यमा योगदान गरिरहनुभएका, प्रविधिका माध्यमबाट हाम्रा गतिविधिलाई संसारभर पुर्याउन सक्रिय भूमिका निर्वाह गरिरहनुभएका गुणग्राही एवम् प्रखर प्रगतिवादी कवि प्रशान्त खरेललाई हामी प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *