अविरल जनसाहित्य यात्रा– ६७ मा वरिष्ठ भाषाविद्, समालोचक एवम् कवि प्रा.डा.जीवेन्द्र देव गिरीका एक दर्जन गीत-कविता गुञ्जिए

शनिबार, बैशाख १७, २०७९

रमेश पोखरेल, काठमाण्डु

वैशाख १७ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ६७ औँ शृङ्खलामा वरिष्ठ भाषाविद्, लोकसाहित्यका अन्वेषक, समालोचक एवम् कवि प्रा.डा.जीवेन्द्र देव गिरीका एक दर्जन गीत-कविता गुञ्जिए ।


राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा अग्रज साहित्यकार, एमाले स्थायी समिति सदस्य तथा संस्कृति विभाग प्रमुख रघुजी पन्त उपस्थित हुनुहुन्थ्यो भने राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । अतिथिहरूमा पूर्व मन्त्री एवम् साहित्यकार शान्ता मानवी, त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्रमुख प्रा.डा.कृष्णप्रसाद घिमिरे, प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष डा.मधुशूदन गिरी, प्रा.डा.ध्रुवप्रसाद घिमिरे, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका उपाध्यक्ष डा.फणीन्द्रराज निरौला, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष आर.सी.न्यौपाने र सचिव राममणि ढुङ्गेल, डा.षडानन्द पौडेल, वरिष्ठ स्रष्टा बूँद राना, प्राज्ञ माधव प्रधान, वरिष्ठ स्रष्टा भक्तबहादुर पण्डित, प्रलेस काठमाडौँका अध्यक्ष ज्ञानु विद्रोही, व्रिष्ठ स्रष्टाहरू रेशम विरही र धीरकुमार श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो । सहयोगी कवि तथा गायकका रूपमा प्राज्ञ नर्मदेश्वरी सत्याल, सुशीला प्रधानाङ्ग, आकाश थापा, जीतेन्द्र चौधरी, रूपक चौधरी उपस्थित हुनुहुन्थ्यो ।


देबु लुइटेलको सञ्चालनमा सम्पन्न भएको उक्त समारोहका अध्यक्ष राम विनयले छ वर्षअगाडिदेखि सञ्चालन गरिएको ‘अविरल जनसाहित्य यात्रा’ बिचमा केही समय रोकिएको थियो तर गत महिनादेखि फेरि यसको उद्देश्यअनुसार एकजना प्रगतिवादी स्रष्टालाई यो विशेष समारोहमा उपस्थित गराई कविको व्यक्तित्व तथा कृतित्वका बारेमा समेत चर्चा गर्दै एक दर्जन कविता सुन्ने र ती कविताको समालोचना गर्ने यो कार्यक्रमले स्रष्टालाई र समग्र नेपाली साहित्यमा केही न केही योगदान अवश्य पुग्छ भन्ने ठानेर थालनी गरिएको हुँदा यस्तो महत्त्वको शृङ्खलालाई निरन्तरता दिनुपर्छ भनेर अगाडि बढाइएको छ । आजको यो विशेष शृङ्खलामा भने प्राध्यापनका माध्यमबाट, भाषा र साहित्यका माध्यमबाट, सङ्गठनका माध्यमबाट र नेतृत्वका माध्यमबाट सामाजिक रूपान्तरणको अभियानमा सक्रियताका साथ लिगिरहनुभएका अभियन्ता प्रा.डा.जीवेन्द्र देव गिरीलाई प्रस्तुत गरिएको छ । उहाँका एक दर्जन गीत र कविता सुन्ने यो विशेष समारोहमा हाम्रो निमन्त्रणा स्वीकार गरी उपस्थित भइदिनुहुने प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरू र साहित्यमर्मज्ञ सबै सबैमा म हार्दिक स्वागत अभिवादन गर्दछु, र यो गरिमामय उपस्थितिका लागि हार्दिक आभारसमेत व्यक्त गर्दछु भन्नुभयो ।


‘अविरल जनसाहित्य यात्रा’को उद्देश्य तथा आजको यो विशेष समारोहका कविनायक प्रा.डा.जीवेन्द्र देव गिरीको व्यक्तित्वमाथि प्रकाश पार्दै राष्ट्रिय जनसाहित्यिक सङ्घका महासचिव प्रकाश सिलवालले वि.सं.२००९ असार ८ गते सुर्खेत जिल्लाको सिम्तामा जन्मनुभएका जीवेन्द्र देव गिरीले ‘सिम्ताली भाषाको भाषा वैज्ञानिक अध्ययन’ विषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको; सिङ्गो जीवन प्राध्यापनमा, लोकसाहित्यको अनुसन्धानमा, नेपाली समालोचनाका क्षेत्रमा समर्पित गर्नुभएको; नेपाल प्रज्ञाप्रतिष्ठानको सदस्य सचिवका रूपमा भूमिका निर्वाह गरिसक्नुभएको; प्रगतिशील लेखक सङ्घ नेपालको केन्द्रीय अध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभएको अनि कुशल सङ्गठकको परिचय स्थापित गर्नुभएका शालीन व्यक्तित्व गिरीले २०५२ देखि हालसम्म दर्जनौँ कृति नेपाली साहित्यमा भण्डारण गरिसक्नुभएको छ । राष्ट्रिय जनसाहित्यिक सङ्घको मासिक साहित्यिक अभियान ‘अविरल जनसाहित्य यात्रा’को आजको ६७ औँ शृङ्खलामा उहाँका एक दर्जन गीत र कविता वाचनको यो विशेष समारोह आयोजना गरिएको व्यहोरा जानकारी गराउनुभयो ।


कविनायक प्रा.डा.जीवेन्द्र देव गिरीले सुरु सुरुमा कविता निकै लेखिएको भए पनि तत्कालीन निरङ्कुश सत्ताका त्रासले ती सामग्री नष्ट भएका, राजनीतिक जीवनकै सिलसिलामा एक वर्ष बाँकेमा भूमिगत जीवन बिताएको, पछि पछि भाषासाहित्य र समालोचनाका क्षेत्रतिर बढी क्रियाशील भएकाले कविता कम लेखिएको, तीन वर्षको उमेरदेखि आपूmलाई मावलकी बज्यैले हुर्काउनुभएको पृष्ठभूमिसमेत जानकारी दिँदै ‘किसानको गीत’, ‘बज्यै’ (शिखरिणी छन्दको), ‘श्रद्धाञ्जली त्यो विलुप्त बालकप्रति’ र ‘जबज प्यारो’ शीर्षकका अत्यन्त प्रखर कविता वाचन गर्नुभयो भने सहयोगी कविहरू नर्मदेश्वरी सत्यालले ‘राम विनय दाइ’ शीर्षकको (राम विनय कोरोनाको चपेटामा परी अस्पतालमा जीवनसँग सङ्घर्ष गरिरहेको अवस्थामा लेखिएको) र ‘बाबा विदेश जानुभो’ शीर्षकको बालकविता वाचन गर्नुभयो । सुशीला प्रधानाङ्गले ‘झिलिमिली बिजुली’ शीर्षकको बालकविता वाचन गर्नुभयो । ज्ञानु विद्रोहीले ‘सुन्दर’ शीर्षकको शार्दूल विक्रीडित छन्दको कविता वाचन गर्नुभयो । देबु लुइटेलले ‘समर्पण’ शीर्षकको अनुष्टुप छन्दको कविता वाचन गर्नुभयो भने जीतेन्द्र चौधरी र रूपक चौधरीले ‘हा हा कहो न’ शीर्षकको थारु भषामा अनुवाद गरिएको गीत गाउनुभयो । आकाश थापाले ‘जाँदै छ रातको कालो’ बोलको गीत गाउनुभयो भने प्राज्ञ माधव प्रधानले ‘झुल्के घाम’ बोलको गीत गाउनुभयो ।


वाचित कविता तथा गीतमाथि टिप्पणी गर्नुहुँदै प्रा.डा.कृष्णप्रसाद घिमिरेले बहु आयामिक व्यक्तित्व जीवेन्द्र देव गिरीसँग तीन दशकदेखि सङ्गत गरेको भए पनि देशको संस्कृति र सभ्यताका अध्येताहरूको गुणात्मक उपस्थिति रहेको आजको यो विशेष समारोहमा कवि जीवेन्द्र देव गिरीका रूपमा उहाँ प्रस्तुत हुनुभएको छ र म उहाँका कविता तथा गीतमाथि चर्चा गर्न उपस्थित भएको छु । सदैव प्रसन्न मुद्रामा प्रस्तुत हुने, भावुक एवम् सरल हृदयका व्यक्ति, जहिल्यै पनि सकारात्मक चिन्तन राख्ने, काममा लागेपछि लागेको लाग्यै गर्ने जीवेन्द्र देव गिरी भाषा र समालोचनाका हस्ती त सशक्त कवि पनि पो हुनुहुँदो रहेछ ! उहाँका कविताहरू शालिग्रामजस्ता कुँदिएका छन्, सशक्त छन्, सरल र सम्प्रेष्य छन् । उहाँका कविता केही शुद्ध कविता छन्, केही नाट्यकविता छन् भने केही आख्यान कविता रहेका छन् । लय चाहिँ पूर्व र पश्चिममा केही फरक पाइन्छ । कविता सुनिसकेपछि तत्काल स्रोतालाई प्रभाव पार्ने गुण उहाँका कवितामा पाइन्छ । कवितामा सहरिया जीवनको पनि चित्रण गरिएको छ तापनि नेपाली ग्राम्य जीवन बढी सशक्तरूपमा चित्रण गरिएको छ । नेपाली ग्राम्य जीवन अहिले पनि उत्पीडनमा छ भन्ने यथार्थको उद्घाटन उहाँका कविताले गरेका छन् । प्रगतिवादी कवितामा सन्देश सम्प्रेषणको अपेक्षा राखिन्छ र गिरीका कविताले अन्तमा रूपान्तरणको स्पष्ट सन्देश सम्प्रेषण गरेका छन् । सङ्केतात्मक मिथकका माध्यमबाट विचार सम्प्रेषण गरिएको छ जस्तै –गोठाटारको घटना, सुर्खेतको घटना, कोरोना महामारीले आक्रान्त पारेका राम विनयको स्वास्थ्यलाभको कामना तथा आत्मबल दरो पार्ने सन्देशका वा भनौँ मानवीय संवेदना जगाउने कला उहाँका कवितामा पाइन्छ । उहाँका सिर्जनामा निरन्तरता र गतिशीलता पाइन्छ । सरलताभित्र गम्भीर भाव सम्प्रेषण गर्ने क्षमताका साथ कलात्मकरूपमा महत्त्वपूर्ण विचारको सम्प्रेषण पनि उहाँका कवितामा गरिएको पाइन्छ । कवितामा वीर रस, करुण रसको प्रयोग भएको छ । भविष्यमा अझ परिष्कारका साथ कवि गिरीका कविता आउन सकुन् हार्दिक हार्दिक शुभकामना छ भन्नुभयो ।


विशेष अतिथि प्रेमनाथ अधिकारीले लामो समयदेखि चलिरहेको ‘अविरल जनसाहित्य यात्रा’ कोरोना महामारीपछिको दोस्रो शृङ्खलाका रूपमा भौतिक उपस्थितिमा आज सम्पन्न भएको छ । महासङ्घका ऐतिहासिक व्यक्त्त्विहरू जीवेन्द्र देव गिरी र राम विनय आजको यो विशेष समारोहका कविनायक र सभाध्यक्षका रूपमा रहनुभएको छ । महामारीजन्य समयमा पनि प्रविधिका माध्यमबाट अविच्छिन्न गोष्ठीहरू सम्पन्न भएका छन् र सङ्घको सक्रियता देखिएको छ । आपूm सङ्गठनको मान्छे भएकाले साहित्यजस्तो सरस नभएर केही रुखो छु किजस्तो पनि लाग्छ तर कलम चल्ने तपाईँहरूजस्ता भविष्यद्रष्टाले यो मुलुकको निर्माणका लागि आवश्यक पर्ने सिर्जना लेखिदिनुहोस् र स्रष्टा मरेपछि पनि उसको सिर्जना बाँचोस् भन्ने ठानेर सरकारले नभए पनि हाम्रो पार्टीकै विशेष पहलमा सिर्जनालाई प्रविधिका माधयमबाट जोगाउने काम हामी गर्नसकौँ भन्ने पक्षमा मेरो क्रियाशीलता रहने छ । स्रष्टाका सिर्जना कमजोर भए भने आन्दोलन कमजोर हुन्छ भन्ने पक्षमा स्रष्टाको पनि ध्यान जाओस् । आजको यो विशेष समारोहमा मनोहारी कविता वाचन तथा गायन भए, समारोह भव्य रह्यो, म हार्दिक धन्यवाद दिन चाहन्छु भन्नुभयो ।


प्रमुख अतिथि रघुजी पन्तले कवि जीवेन्द्र देव गिरीका आज बालकविता, छन्दोबद्ध कविता, गीतिकविता, गद्य कविता वाचित भए । मूलतः जीवेन्द्रजी भाषा, साहित्य, लोकसाहित्य र समालोचनाका स्थापित व्यक्तित्व हुनुहुन्छ र कुशल सङ्गठक पनि हुनुहुन्छ । उहाँले सिम्ताली भाषाको अध्ययन गरेर विध्यावारिधि गर्नुभयो र जन्मस्थानको गुन पनि तिर्नुभयो । कवितामा चाहिँ विचार, भाव, रूप पक्षको सन्तुलन भयो भने कविता उत्कृष्ट हुन्छ । बालक निर्दाेष भएजस्तै बालसाहित्य पनि निर्दाेष हुनुपर्छ । आज वाचित भएका कविता तथा गाइएका गीतमा बालकविता बढी सुन्दर लागे । यस हिसाबले हेर्दा कवि जीवेन्द्रभित्र बालसाहित्यको सम्भावना बढी भएको देखेँ मैले । हाम्रा सिर्जनाले अब केकस्ता विषय उठाउनुपर्छ भन्ने तहमा पनि सोचिनुपर्छ, आजको यो समारोह सार्थक भएको छ भन्नुभयो ।


विशेष समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरू, टिप्पणीकार, साहित्यानुरागी व्यक्तित्वलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले निस्वार्थता, इमान र निष्ठाका प्रतीक; वैचारिक दृढताले युक्त, सङ्गठनमा आबद्ध सबैको व्यक्त्त्वि उठाउन लागिपर्ने र भरोसा गर्ने, समर्पणभावका साथ कार्यसम्पादन गर्नुपर्छ भन्ने मान्यता राख्ने, विचार र व्यवहारको तादात्म्य राख्ने आदरणीय अग्रजका एक दर्जन गीत र कविता आज सुनियो । हाम्रो आग्रहलाई सहजरूपमा सवीकार गरी उहाँ यो विशेष समारोहमा उपस्थित भइदिनुभयो, हामी हार्दिक आभार व्यक्त गर्दछौँ । अर्काे महिनामा ६८ औँ ‘अविरल जनसाहित्य यात्रा’मा चितवनमा रहेर नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहनुभएका किसान प्रेमीलाई हामी प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता-गजल श्रवण गर्नका लागि निम्ता गर्ने छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *