‘अविरल जन साहित्य यात्रा-८’ मा वरिष्ठ प्रगतिवादी कवि जगन्नाथ आचार्यका प्रतिनिधि कविता वाचन

रमेश पोखरेल, काठमाडौं
मितिः २०७१।७।१४

कार्तिक १४ गते शुक्रवार अपराह्न ठिक ३.० बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घ, बागबजारको सभाकक्षमा महासङ्घकै आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा ‘अविरल जन साहित्य यात्रा-८’ सम्पन्न भयो । हरेक महिनाको दोस्रो शुक्रवार पारेर ठिक ३ बजे महासङ्घको सभाकक्षमा वरिष्ठदेखि हालसम्मका साहित्यकारका एकल रचना वाचन गर्ने विशेष कार्यक्रम निरन्तर रूपमा सम्पन्न गर्ने यो अभियानको आठौँँँैँ शृङ्खला भएको जानकारी सहित राष्ट्रिय जन सांस्कृतिक महासङ्घका महासचिव राजेश थापाले कार्यक्रमको सञ्चालन गर्दै उक्त विशेष समारोहका नायक वरिष्ठ प्रगतिवादी कवि जगन्नाथ आचार्यलाई मञ्चमा आसन ग्रहणका लागि अनुरोध गर्नु भयो । उहाँलाई कविता वाचनमा सहयोग गर्ने कविहरू इन्दु अंशु, यदुनाथ वसन्तपुरे, शशीनाथ आचार्य, जगत् वाशिष्ठ, रूपक अलङ्कार र दीलबहादुर कार्की अनि टिप्पणीकारका रूपमा कवि भागवत आचार्यलाई पनि मञ्चमा आसन ग्रहणका लागि अनुरोध गर्नु भयो ।  

image

उक्त विशेष समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरी, प्राज्ञहरू भरत नेपाली, पवित्रा घर्ती, सानु पहाडी, गायत्री विष्ट, दार्शनिक गोपीरमण उपाध्याय, सभासद् शान्ता मानवी, कवि वासुदेव अधिकारी, बलिदान सिनेमाका निर्माता श्याम सापकोटा, राष्ट्रिय जन सांस्कृतिक महासङ्घका सचिव प्रेमनाथ अधिकारी, कोषाध्यक्ष भूमिका सुब्बा, सहकोषाध्यक्ष जङ्ग पहाडी, वरिष्ठ कवि कणाद महिर्षि, कवि द्वय अनिल पौडेल र खेम नेपाली, पूर्व सभासद सुवास कर्माचार्य, वरिष्ठ साहित्यकार रामप्रसाद प्रदीप, पीताम्बर भण्डारी, जयन्ता पोखरेल, होमराज श्रेष्ठ अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।

उपस्थित सबैलाई राष्ट्रिय जन सांस्कृतिक महासङ्घकी उपाध्यक्ष एवम् सभासद् मधु गुरुङले स्वागत गर्नु भयो । विशेष समारोहका नायक जगन्नाथ आचार्यलाई डम्बरकुमारी खादा ओडाएर सम्मान गर्नु भयो । त्यसै गरी कविलाई साथ दिने कविहरूलाई पनि टीका लगाएर सम्मान गर्नु भयो । नेपाली समाजमा विद्यमान रहेका विकृति र विसङ्गतिलाई निर्ममतापूर्वक उजागर गर्ने एवम् रूपान्तरणका लागि सरल, सम्प्रेष्य कविता तथा गीतका माध्यमबाट रूपान्तरणको सन्देश सम्प्रेषण गर्ने अभियानका सफल अभियन्ता एवम् जननेता मदन भण्डारीका साहित्यिक सहयात्री वरिष्ठ स्रष्टा जगन्नाथ आचार्यलाई आजको यो विशेष प्रस्तुतिमा उभ्याइएको र यो अभियान निरन्तर रूपमा अगाडि बढि रहने जानकारी सहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भयो ।

वरिष्ठ कवि जगन्नाथ आचार्यको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै जन साहित्यिक मञ्च, नेपालको काव्य विभागकी संयोजक डा.विन्दु शर्माले सामाजिक रूपान्तरणको अभियानमा होमिदा २०२८ सालदेखि केही वर्ष भूमिगत तथा अर्ध भूमिगत जीवन बिताएका; उनका कवि, राजनीतिज्ञ र सम्पादक व्यत्त्वि रहेका; राजनीतिक व्यक्तित्व पुष्पलाल र जननेता मदन भण्डारीबाट प्रशिक्षित रहेकाले उहाँहरूका प्रति उच्च श्रद्धाभाव रहेको, पेसाप्रतिको निष्ठा र इमान्दारिता आफ्ना सिर्जनामा अभिव्यक्त गर्ने, सरल र अनुभूतिमय लेखन भएका, आफ्ना सिर्जनामा अत्यन्त स्पष्टताका साथ युग चेतना र द्वन्द्वका घाउ प्रकटीकरण गर्ने, क्रान्तिप्रतिको निष्ठा रहेको, बनारसमा बस्दा मिर्मिरे र लालुपाते जस्ता पत्रिकाको सम्पादन गरेका, एउटा कविता सङ्ग्रह प्रकाशित भएको र अन्य तिन(चार ओटा कृति प्रकाशित गर्न मिल्ने रचना पाण्डुलिपिमै सीमित रहेका कवि आचार्य दुखी गरिबका पक्षमा र रूपान्तरणका पक्षमा कलम चलाउने सशक्त कवि हुन् भन्ने धारणा राख्नु भयो ।

विशेष समारोहका आकर्षण वरिष्ठ कवि जगन्नाथ आचार्यले महासङ्घ र मञ्चले मासिक रूपमा आयोजना गर्ने गरेको यो विशेष डबलीमा उपस्थित हुन पाउनुमै आफूले गौरव बोध गरेको, आफूले यो विशेष समारोहमा द्वन्द्व, आन्दोलन र जनताका पीडा अनि श्रमका, किसानका उत्पीडनका कविता सुनाउने धारणा सहित विश्वनाथ उपाध्याय, भर्तृहरि, मदन भण्डारी, लक्ष्मीप्रसाद देवकोटा, युद्दप्रसाद मिश्र र केवलपुर किसानको सम्मानमा उहाँहरूकै एक एक श्लोक कविता वाचन गरी विशेष कार्यक्रमको शुभारम्भ गर्नु भयो र ‘किसान’, ‘वधि र सिर्जना’, ‘लोक संस्कृति’, ‘किसानसँगको संवाद’, ‘खडेरी’, ‘समय सान्त्वना’ र ‘युवा भरोसा’ शीर्षकका छन्दका सशक्त कविताहरू उत्कृष्ट स्वरमा वाचन गर्नु भयो । उहाँलाई साथ दिने कविहरू यदुनाथ वसन्तपुरेले ‘माटो र मान्छे’ शीर्षकको, इन्दु अंशुले ‘किसान व्यथा’ शीर्षकको, शशीनाथ आचार्यले ‘समय स्वर’ शीर्षकको, जगत् वाशिष्ठले ‘बाँचुन् सखा युगभरि’ शीर्षकको, रूपक अलङ्कारले ‘चेलीबेटी बेचबिखनको पीडा’ शीर्षकको र दीलबहादुर कार्कीले विभिन्न वरिष्ठ कविहरूका स्वर निकालेर क्यारिकेचर शैलीमा ‘पुग्नु छ विज्ञानमा’ शीर्षकको त्यत्तिकै शक्तिशाली कविता वाचन गर्नु भयो ।

वाचित कवितामाथि समीक्षक भागवत आचार्यले समीक्षा गर्दै आफ्ना कविताका माध्यमबाट पाठकसम्म पुगेर संवाद गर्ने र विचार निर्माण गर्ने, वर्गीय आन्दोलनबाट मात्र समाज रूपान्तरण हुन सक्छ भन्ने ठम्याइ राख्ने कवि आचार्य जीवन, सिर्जना र प्रस्तुतिका संयोग भएका; नेपाली जीवनका जन जिन्दगीलाई नजिकबाट नियाल्ने र अभिव्यक्त गर्ने, श्रमको सम्मान गर्ने, अग्रजहरूको सम्मान गर्ने, लोक गायनलाई शास्त्रीयता प्रदान गर्न सक्ने विलक्षण क्षमता रहेका, समाजमा विद्यमान वर्गीय विभेदको अन्त्यको आग्रह आफ्ना हरेक सिर्जनामा अभिव्यक्त गर्ने, देशमा लोकतन्त्र आयो भनिए पनि जनताको जीवन स्तरमा परिवर्तन नभएको, युवा पलायन रोक्नेतर्फ राज्यको ध्यान आकर्षित नभई गाउँ युवा विहीन भइ रहेको, सामाजिक सुरक्षा अवधारणा राज्यले लागु नगरेका कारण वृद्धहरू अपहेलित भइ रहनु परेको, कृषि प्रधान देशका किसान सदैव उत्पीडित रहेका समेतका अवस्था प्रति कवितामा सशक्त विरोध गरिएको र आशावादी जीवन दृष्टि सम्प्रेषित भएको, उनको शिष्टता र मिष्टता ज्यादै अनुकरणीय रहेको धारणा राख्नु भयो ।

कवि जगन्नाथ आचार्यका समेत गुरु दार्शनिक गोपीरमण उपाध्यायले कवि आचार्यको आजको यस प्रस्तुतिले बनारसको तत्कालीन बसाइ र मदन भण्डारीको सङ्गतको स्मरण गराएको, पुष्पलालबाट दार्शनिक शिक्षा लिएका कवि आचार्य  कविता लेखनमा त्यही वेला अब्बल रहेका, पुष्पलालको प्रशिक्षणको प्रभाव ग्रहण गरी आफूले ४० वर्ष लगाएर ‘प्राकृतिक भौतिकवाद’ शीर्षकको कृति प्रकाशित गरेको, त्यो वेलामा नै मदन भण्डारी भने सबै विधा र क्षेत्रमा अब्बल रहेका, कवि जगन्नाथले कविता सिर्जनाका माध्यमबाट पुष्पलाल र मदन भण्डारीले लगाएको गुन तिर्न सक्नु भएको हुँदा यो यात्रा अविच्छिन्न रहि रहोस् भन्ने शुभ कामना दिनु भयो ।

उपस्थित सबै साहित्यकारहरूलाई धन्यवाद सहित सभाध्यक्षको अनुमतिले विशेष समारोहको समापन गर्दै जन साहित्यिक मञ्च, नेपालका का.वा.अध्यक्ष रमेश पोखरेलले सबै खाले निरङ्कुशताको विरुद्धमा आफ्ना सरल सिर्जनाका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्न सक्ने, पुष्पलाल र मदन भण्डारीबाट प्रशिक्षित, निरङ्कुशताका विरुद्ध सशक्त प्रहार गर्ने, इमान र निष्ठाका शीर्षस्थ धरोहर कवि आचार्य निम्न वर्गीय दुखी, पीडित जनताका पक्षमा कलम चलाउने; ग्रामीण, सरल तर सशक्त विम्बको प्रयोग गर्ने; ऐस, आराम र सुखभोगको कहिल्यै अपेक्षा नगर्ने व्यक्तित्व हुन् । यस्ता अग्रज स्रष्टालाई अविरल जन साहित्य यात्रा (८ मा उपस्थित गराउन सकिएकोमा र उहाँले सिन्धुपाल्चोकदेखि यहाँसम्म आइ दिनु भएर सहयोग गर्नु भएर अरू स्रष्टालाई प्रेरणा प्रदान गर्नु भएकोमा हार्दिक आभार व्यक्त गर्नु भयो । यो कार्यक्रम सम्पन्न गर्न ब्यानर लेखि दिएर सहयोग गर्ने, निम्ता स्विकारेर आइ दिने सबै सबैलाई हार्दिक धन्यवाद दिँदै अर्काे महिनाको कार्यक्रममा वरिष्ठ साहित्यकार वासुदेव अधिकारीलाई प्रस्तुत गरिने जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *