उषा र माधुर्य सार्वजनिक

काठमाडौ,

शब्दहार क्रियसन्सले प्रकाशन गरेको दुई गजल संग्रह शनिबार सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित कार्यक्रममा नियात्राकार प्रतिक ढकाल, फूलमान बल र कला अनुरागीले रमेश विमानको उषा र आर.के. शर्माको माधुर्य गजल संग्रह सार्वजनिक गरे । गजलकारद्वय भने कार्यक्रममा उपस्थित थिएनन् । रोजगारीको सिलसिलामा विमान कोरिया र शर्मा इजरायलमा छन् ।

usha madhurya

कार्यक्रममा बोल्दै नियात्राकार ढकालले विदेशिन बाध्य नेपालीहरु एकपछि अर्को गर्दै पुस्तक प्रकाशनमा आउनु सुखद रहेको बताए । उनले भने, नेपालबाट बाहिरिनुको दुःखले आफनो पहिचान सिर्जनामार्फत खोज्ने चेत पैदा भएको छ । यो निकै सकारात्मक कुरा हो । उनीहरुले कस्तो रचना गरे भन्ने त दोस्रो कुरा हो । उनले दुवै गजलकारले सिर्जनामार्फत आफ्नो माटोको सुवासलाई जीवन्त पारेकोले कृति पठनीय रहेको बताए ।

कार्यक्रममा शर्माको कृति माधुर्यमाथि साहित्यकार फूलमान बलले टिप्पणी गरेका थिए । उनले माधुर्यमा परदेशमा बस्दा गरिएका घरदेशको सम्झना, प्रेम, राजनीति र समसामयिक बिषयलाई स्रष्टाले गजलमा उनेको बताए । उनले भने, कृतिमा नेपाली जनजीवनका विभिन्न पाटालाई जीवन्त रुपमा चित्रण गरिएको छ । विदेशमा गएर पनि नेपाली परिवेशलाई स्रष्टाले राम्ररी पक्रिएका छन् ।

त्यस्तै विमानको कृति उषामाथि साहित्यकार कला अनुरागीले टिप्पणी गरे । उनले विमानले कृतिमा गजलका परम्परागत मान्यताबाट अघि बढेर जीवनका विभिन्न आयामलाई चित्रण गरेको बताए । उनले भने, विमानको कृतिमा परदेशिनुको पीडा, जीवनका विभिन्न उहापोह र उकालीओराली चित्रण छ । त्यस्तै समसामयिक परिवेशको जीवन्त्र चित्रणले विमानको कृति शाब्दिक क्यानभासमा कोरिएको वर्तमानको चित्र बनेको छ ।

प्रवासमा रहेर नेपाली साहित्य लेखिरहेका स्रष्टालाई प्राथमिकता दिदै आएकोले दुई प्रवासी गजलकारको कृति प्रकाशन गरिएको शब्दहार प्रकाशनका अध्यक्ष रमेश कडेलले बताए । उषाको मूल्य ८० र माधुर्य १२५ रहेको छ ।

usha madhurya 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *