गौरव–वसन्तको एल्बमको कृतिपूजा गरियो

काठमाडौँ, २ फागुन ।

कुनै पनि सर्जक तथा स्रष्टाले आफ्नो कृति सार्वजनिक गर्दा त्यसलाई विमोचन, लोकार्पण वा सार्वजनिकीकरण भन्ने शब्दावली प्रयोग गर्ने गरिन्छ तर सोमबार राजधानीमा सार्वजनिक गरिएको गीति एल्बमको भने ‘कृतिपूजा’ गरियो ।

_MG_6685
नेपाली वाङ्मय परिषद्द्वारा आयोजित कृतिपूजा समारोहमा गीतकार गौरव गुरुङको शब्द र सङ्गीतकार वसन्त मुकारुङको सङ्गीत रहेको एल्बम ‘मीतज्यू’को पूजन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति एवम् वरिष्ठ कवि बैरागी काइँलाले नेपाली सङ्गीतको इतिहासमा गौरव–वसन्तको साङ्गीतिककृति ‘मीतज्यू’ कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । उनले भने, ‘यो जोडीको सहकार्यले इतिहास रच्ने कुरामा मलाई विश्वास छ । यसभित्रका गीत, सङ्गीत र स्वर सबै सुन्दर रहेको मैले पाएँ ।’

_MG_6691
प्राज्ञ श्रवण मुकारुङले गीतकार गौरव र सङ्गीतकार वसन्तको साङ्गीतिक यात्राको चर्चा गर्दै ‘मीतज्यू’ एल्बमभित्रका सबै सिर्जनाहरू अब्बल रहेको दावी गरे । एल्बमबारे वरिष्ठ गीतकार चेतन कार्की, सङ्गीतकार सुरेश अधिकारी, नेपाली वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बू, सञ्चारकर्मी नरेश भट्टराईले पनि एल्बममाथि बोलेका थिए ।

_MG_6688
एल्बमभित्र समाज, संस्कृति, भूगोल, प्रकृति, मायाप्रेम र विरह, वेदनाजस्ता विषयमा रचित ६ गीत समाविष्ट छन् । जसमा ‘कहिले भेडी गोठैमा रोधी गाउन पुग्छु म’मा सुनिता थेगिम लिम्बू, ‘झुल्केको घामसँगै यो मन उडिरहन्छ’मा अशोक मुकारुङ र लासमित राई, ‘रुम्जाटारे सोल्टी कहाँ जान हिँड्यौ मन गह्रौँ पारेर’मा रिमा गुरुङ होडा, ‘पानी त चिसो तीनधारेको बोली मिठो टारेलीको’ बोलमा अञ्जु पन्त तथा ‘धेरैपछि भेटेको यो मनलाई राख्ने ठाउँ देऊ’मा भीषण मुकारुङ र सुनिता थेगिमको स्वर रहेको छ । सङ्गीत संयोजन फणिन्द्र राईले गरेका छन् ।
कार्यक्रममा गायिका सुनिता थेगिमले एल्बमको शीर्षक गीत ‘कहिले भेडी गोठैमा…’ गाएकी थिइन् भने ‘झुल्के घामसँगै..’ र ‘धेरैपछि भेटेको…’ बोलको गीतमाथि निर्मित दुई म्युजिक भिडियो प्रदर्शन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *