‘चित्रभित्र लुकेका शब्द’ बाल कविता विमोचित

 – रमेश पोखरेल

आज साउन २५ गते बिहीवार अपराह्न १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा छोरी बालकवि विज्ञता कार्कीका एघार चित्र र आमा कवि गायत्री विष्टका एघारै ओटा कविता रहेको ‘चित्रभित्र लुकेका शब्द’ बाल चित्र कविताको विमोचन गरियो ।


बाल साहित्य समाजका अध्यक्ष एवम् साहित्यकार विजय चालिसेको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष कार्यक्रमको प्रमुख आतिथ्य ललित कला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव एवम् वरिष्ठ चित्रकार के.के.कर्माचार्यले गर्नु भएको थियो भने अतिथिहरूमा चिनियाँ दूताबासकी रुवान वि र उनकी दोभाषे छोरी विली, प्राज्ञ द्वय सुलोचना मानन्धर र बूँद राना, जन साहित्यिक मञ्च नेपालका अध्यक्ष डा.जीवेन्द्र देव गिरी, विज्ञताकी हजुर आमा मिश्रीमैया विष्ट, एम्बिसन एकेडेमीका प्रधानाध्यापक विष्णु घिमिरे, सोही संस्थाका सञ्चालक श्री देवी घिमिरे, नाट्यकर्मी कृष्ण शाह यात्री, जन साहित्यिक मञ्च नेपालका महासचिव रमेश पोखरेल, साहित्य सन्ध्याका अध्यक्ष राम विनय, बाल संसारका अध्यक्ष तेजप्रकाश श्रेष्ठ, साहित्यकार शान्ता मानवी, प्राज्ञ नर्मदेश्वरी सत्याल, तरेली साहित्यिक प्रतिष्ठानका पूर्व अध्यक्ष प्रवाह श्रेष्ठ उपस्थित हुनु हुन्थ्यो ।


साहित्यकार विनोद मञ्जन तथा गायत्री विष्टकी छोरी विज्ञता कार्कीको एघारौँ जन्म दिनको अवसर पारेर एघार कविता तथा एघारै चित्र समावेस गरी आमा–छोरीको संयुक्त शब्द तथा चित्र समेटी सङ्ग्रहको रूपमा चित्र कविता प्रकाशित गरिएको उक्त कृतिको लोकार्पण ललित कला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्री के.के.कर्माचार्यले गर्नु भएको हो ।


समाजमा पश्चिमी संस्कृति हावी भइ रहेको र विभिन्न तामझाम तथा तडकभडकमा अनावश्यक र अनुत्पादक खर्च गर्ने प्रवृत्ति बढेको अवस्थामा विनोद र गायत्रीले भने छोरीको पहिलो जन्मदिनदेखि नै सिर्जना कर्मद्वारा छोरीको जन्म दिन मनाउने परम्पराको थालनी गरेका, गत वर्ष दशौँ जन्म दिन मनाउँदा विनोद मञ्जनका दशै ओटा निबन्ध सङ्ग्रह प्रकाशित भएका र यस वर्ष त झन् छोरीलाई समेत साहित्यमै समेटी आमाछोरीको संयुक्त प्रयास सिर्जनाका माध्यमबाट उजागर भएकाले यस्तो सिर्जनात्मक सत्कर्म सबैका लागि प्रेरणा भएको भन्ने प्रशंसाा गर्दै विज्ञतालाई शुभ कामना दिनेहरूमा चिनियाँ दूताबासकी रुवान वी तथा उनकी छोरी दोभाषे, डा.जीवेन्द्रदेव गिरी, प्राज्ञ बूँद राना, एम्बिसन एकेडेमीका विष्णु घिमिरे, तेजप्रकाश श्रेष्ठ, शान्ता मानवी, गायक सानु पहाडी र सभाध्यक्ष विजय चालिसे हुनु हुन्थ्यो ।


विज्ञता कार्कीको सञ्चालन, विनोद मञ्जनको स्वागत र गायत्री विष्टको धन्यवाद मन्तव्यमा सम्पन्न भएको कार्यक्रममा छोरी विज्ञता कार्कीको प्रस्तुति निकै रोचक रहेको थियो । चित्र कविताको प्रयोग नौलो र सुन्दर रूपमा गरिएको भन्दै नाट्यकर्मी कृष्ण शाह यात्रीले कविताका बारेमा टिप्पणी गर्नु भएको थियो भने प्रमुख अतिथि के.के. कर्माचार्यले कलाको सुन्दर संयोजन गर्नुका साथै चित्र अनुसारकै कविताका शब्द पनि रहेकाले आमा छोरी दुबै सफल स्रष्टाका रूपमा देखिएको धारणा राख्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *