जन साहित्यिक मञ्चले इटहरीमा स्रष्टाहरूको भव्य जमघट गरायो

रमेश पोखरेल
काठमाण्डु

जन साहित्यिक मञ्च,नेपालद्वारा हालै सुनसरीको इटहरीमा आयोजित विचार गोष्ठी, स्रष्टा सम्मान तथा कविगोष्ठी कार्यक्रमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि मोदनाथ प्रश्रितले “नेतृत्वको अदूरदर्शिताले गर्दा नेपाली समाज सङ्कीर्ण जातीय क्षेत्रीय घेरामा बल्झिन थालेको हुँदा यसबाट मुक्ति र अग्रगतिका लागि स्रष्टाहरूले निर्भीकतापूर्वक कलम चलाउनु पर्ने विचार व्यक्त गर्नु भयो । मञ्चका उपाध्यक्ष डा.बद्री विशाल पोखरेलको सभापतित्वमा आयोजित सोही कार्यक्रममा मञ्चका केन्द्रीय अध्यक्ष तथा विशिष्ट अतिथि डा.जीवेन्द्र देव गिरीले जन साहित्यिक मञ्च,नेपाल आन्दोलनको घेरा फराकिलो बनाउँदै समाजको सर्वाङ्गीण परिवर्तन गर्न र जनहितका असल विचार प्रक्षेपणमा प्रतिष्पर्धा गर्दै श्रेष्ठता हासिल गर्न चाहन्छ भन्ने धारणा अघि सार्नु भयो । कार्यक्रमको सफलताका निम्ति ने.क.पा.(एमाले) अञ्चल र जिल्ला पार्टीका साथै विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले शुभ कामना मन्तव्य दिनु भएको थियो ।

पूर्वाञ्चलका १६ वटै जिल्लाका साहित्यकार कलाकारको सहभागिता रहेको सो कार्यक्रममा वरिष्ठ स्रष्टाहरू चूडामणि रेग्मी,सरोज ओली, तेराख, अनिरुद्ध तिम्सिना, श्याम तमोट र सरण राईको अभिनन्दन गरिएको थियो भने खोलाघरे साइँलो, डी.एम.कन्दङ्वा, के.पी.ढकाल, मणि कुमार राई, अनिल पौडेल, राममणि पोखरेल, ऋतु आसिक, मधु पोखरेल, सोमराज अभय, तारा बहादुर बुढाथोकी, डी.बी.किराती, भीम प्रसाद घिमिरे, मिश्र वैजयन्ती, देवी पन्थी, डम्बर घिमिरे, वियोगी सापकोटा, पूर्ण बहादुर गुरुङ, सरस्वती गुरुङ र भवानी क्षत्रीलाई सम्मान गरिएको थियो । गण्डकी पुत्रको उद्घोषणमा सञ्चालित सो कार्यक्रममा अभिनन्दित र सम्मानित स्रष्टाहरूका साथै झाँक्रीखोले,सागर तिम्सिना, कृष्ण विनोद लम्साल, सीमा आभास लगायत ४० भन्दा बढी कविहरूले कविता वाचन गर्नु भएको थियो । सो गोष्ठी प्रारम्भ गर्नुअगि नेपाल ललित कला मञ्चले प्रतियोगितात्मक चित्रकला प्रदर्शनी आयोजना गरेको थियो जसमा अरबिन राईले प्रथम, मिलन राईले द्वितीय र गोपाल निरौलाले तृतीय पुरस्कार प्राप्त गर्नु भएको थियो । राष्ट्रिय जन सांस्कृतिक ्महासङ्घका पूर्वाञ्चल इन्चार्ज प्रेमनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न चित्रकला प्रदर्शनी कार्यक्रमको उद्घाटन बुद्ध, शान्ति र प्रगति सम्बन्धी चित्र कोरेर प्रमुख अतिथि प्रश्रितले गर्नु भएको थियो भने नेपाल ललित कला मञ्चका अध्यक्ष तथा विशिष्ट अतिथि प्राज्ञ शान्त कुमार राईले प्रदर्शनीको महत्त्वमा प्रकाश पार्नु भएको थियो ।

उक्त गोष्ठीको पहिलो दिन जन साहित्यिक मञ्चका अध्यक्ष डा.जीवेन्द्र देव गिरीको अध्यक्ष्यतामा सञ्चालित विचार गोष्ठीमा प्रा.डा.पशुपति नाथ तिमल्सेनाले “प्रगतिशील साहित्य लेखनका विद्यमान समस्या र चुनौती” तथा रविमान लम्जेलले “पूर्वाञ्चलको साहित्य लेखन ः उपलब्धि र कमजोरी”विषयक गोष्ठीपत्र प्रस्तुत गर्नु भएको थियो भने अनिरुद्ध तिम्सिनाले ती गोष्ठीपत्रमाथि टिप्पणी गर्नु भएको थियो । तिनमा सहभागीहरूद्वारा पनि विस्तृत छलफल सहित सुझाबहरू दिइएको थियो । जे.बी.थुलुङको उद्घोषणमा सञ्चालित सो कार्यक्रमका प्रमुख अतिथिका रूपमा मोदनाथ प्रश्रितले नेपाली समाजको बनोट, यहाँको भूगोल र इतिहासको चर्चा गर्दै राष्ट्रिय अखण्डता, जातीय सद्भाव र वर्गीय पक्षधरताका निम्ति साहित्यिक क्षेत्रले पुरा गर्नु पर्ने उत्तरदायित्वमाथि प्रकाश पार्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *