धादिङका तीन साहित्यकारलाई अलि मियाँ सम्मान

धादिङ, १२ जेठ

धादिङ जिल्लामा जन्मिएर नेपाली भाषा साहित्यका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने तीन जना साहित्यकार आईतवार धादिङबेसीमा सम्मानित भएका छन् ।

 

अलि मियाँ लोकवाङमय प्रतिष्ठान पोखराको वार्षिकोत्सव तथा आदिकवि भानुभक्त आचार्यको दुई शतवार्षिकोत्सवको अवसर पारेर अलि मियाँ लोकवाङमय प्रतिष्ठान पोखराले धादिङका तीन अग्रज साहित्यकारलाई सम्मान गरेको हो ।

 

प्रतिष्ठानबाट सम्मानित हुने साहित्यिक स्रष्टाहरूमा डिल्लीरमण शर्मा अज्र्याल, हरि खनाल र दामोदर नलाङी रहेका छन । वि.सं. १९८८ सालमा धादिङको नलाङमा जन्मिएका डिल्लीरमण शर्मा अज्र्यालका भाषा, साहित्य, छन्द र खोजमुलक विषयमा २५ वटा कृत्ति प्रकाशित भइसकेका छन् । अज्र्याल धादिङ साहित्य समाजका संस्थापक एवम् वर्तमान अध्यक्ष समेत हुन । यसैगरी अर्का सम्मानित व्यक्ति हरि खनाल नेपाल सरकारका उपसचिव पदमा कार्यरत भए पनि बालकथाकारका रूपमा अलग्गै परिचय बनाएका छन् । खनालका कथा, उपन्यास लगायत चौधवटा कृत्ति प्रकाशित भइसकेका छन भने केही कृत्ति प्रकाशोन्मुख रहेको खनालले बताए । त्यसैगरी सम्मानित हुनेमध्येका दामोदर (तिमिल्सिना) नलाङ्गी साहित्यमा छन्द संरक्षणका लागि जिल्लामा सक्रिय रहँदै आएका छन । नलाङ्गीका पनि दुईवटा कृत्ति प्रकाशित भईसकेका छन् ।

 

अलि मियाँ लोकवाङमय प्रतिष्ठानका अध्यक्ष एवम् मियाँका जेठा छोरा हनिफ मियाँको अध्यक्षतामा आयोजित साहित्यकार सम्मान कार्यक्रममा प्रा.डा. रविलाल अधिकारीको प्रमुख आतिथ्य, लोकगायिका हरिदेवी कोइराला र स्वतन्त्र पत्रकार सङ्घ नेपालका अध्यक्ष कृष्णप्रसाद बाँस्तोलको विशेष आतिथ्य रहेको थियो । साहित्यकारहरूलाई प्रतिष्ठानका अध्यक्ष मियाँ र कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. रविलाल अधिकारीले दोसल्ला र कदरपत्र प्रदान गरी सम्मान गरेका थिए । सम्मान कार्यक्रमसँगै धादिङ जिल्लाका साहित्यसर्जकहरूले आ–आफ्नो सिर्जना प्रस्तुत गरेका थिए । कार्यक्रममा कोमल स्वरकी धनी लोकगायिका हरिदेवी कोइरालाले ‘आकाशमा बादलु डम्मै छ, मनमा के छ भन्नेलाई सम्मै छ’, ‘पाइन खवर’, ‘स्वर राम्रो कोइलीको’, ‘मेरो माया विदेशमा हुनाले’, ‘झिमझिम सितारा’ लगायत बोलका गीतहरू गाएकी थिइन् ।

 

धादिङ साहित्य समाजको सह–आयोजनामा सम्पन्न कार्यक्रममा अघिल्लो पुस्ताका साहित्यकारहरुको भने उपस्थिति निकै कम रहेको थियो ।

 

(तस्विरमाः सम्मान ग्रहण गर्दै धादिङका साहित्यकारहरू । सम्मान गर्दै अलि मियाँ लोकवाङमय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ र प्रा.डा. रविलाल अधिकारी ।)

(तस्विर स्रोतः केशव अधिकारी, धादिङ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *