निर्धन सहकारीको ‘सहकारीको सुसञ्चालनमा सेयरसदस्यको भूमिका’ विषयक विशेष तालिम कार्यक्रम सम्पन्न

रमेश पोखरेल, काठमाडौं
२०७५।११।५

निर्धन विकास बचत तथा ऋण सहकारी संस्था लि. एघार वर्ष पहिले स्थापना भएको संस्था हो । समाजमा छरिएर रहेको पु“जीलाई एकत्रित गरी समाजकै, संस्थाकै हितमा परिचालन गर्ने, छिटोछरितो सेवा प्रदान गर्ने, संस्थाका सदस्यलाई व्यावसायिक हितका लागि पु“जीको व्यवस्था गर्नेसमेतका विविध उद्देश्यले यस सहकारी संस्थाको स्थापना भएको हो । संस्थाका सदस्यहरूको आर्थिक, सामाजिक श्रीवृद्धि गर्ने मात्र नभई संस्थाका सदस्यका परिवारको स्वास्थ्य, शिक्षालगायतका विविध क्षेत्रमा समेत यस संस्थाले योगदान गर्ने उद्धेश्य राखेको छ । यसै उद्देश्यमुताविक संस्थाको श्रीवृद्धिमा सेयरसदस्यको अहम् भूमिका रहेको हुन्छ । आफ्ना सबै गतिविधि संस्थामार्फत गरिदिए, संस्था मेरो हो भन्ने भावनाका साथ, इमानका साथ सबै सदस्यले काम गरिदिए, सहयोग गरिदिए मात्रै संस्थाले अपेक्षित समृद्धि प्राप्त गर्ने हुँदा संस्थाका सेयरसदस्यलाई वेला वेलामा तालिमका कार्यक्रम सञ्चालन गर्नु आवश्यक हुने भएकाले हरेक वर्ष संस्थाले यस्ता कार्यक्रमको आयोजना गरिरहेको सन्दर्भमा यसपटक पनि यस्तो सेयरसदस्य तालिम विशेष समारोहको आयोजना गरिएको जानकारी संस्थाका सचिव रमेश पोखरेलले गराउनुभयो । यो तालिम दिने प्रयोजनका लागि काठमाडौँ महानगरपालिकाको सहकारी विभागका प्रमुख श्री नमराज ढकाललाई आग्रह गरिएको र उहाँले सहर्ष स्वीकार गरी आइदिनुभएकोमा संस्थाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै यस विशेष समारोहको थोरै औपचारिकताका लागि संस्थाका अध्यक्ष श्री झपटबहादुर बोहरालाई अध्यक्षताका लागि आग्रह गर्नुभयो । अतिथिआसनका लागि सहकारी विभागप्रमुख श्री नमराज ढकाल, संस्थाका सल्लाहकारहरू अधिवक्ता सानुराज पोखरेल, श्री जगदीश पोखरेल, श्री केशरबहादुर साउद, श्री भीमबहादुर थापालाई आग्रह गरियो ।

संस्थाको यो विशेष समारोहमा उपस्थित सबै व्यक्तित्वलाई संस्थाका उपाध्यक्ष नीकेन्द्रबहादुर रावलले स्वागत गर्नुभएको थियो । त्यसपछि प्रशिक्षणमूलक कार्यक्रमको थालनी गर्दै कामपा सहकारी विभागका प्रमुख नमराज ढकालले हाम्रो देशमा अहिले ७५३ स्थानीय निकाय, सातओटा प्रदेश र केन्द्रीय सहकारी विभागगरी ७६१ ओटा निकाय रहेका; काठमाडौँ महानगरपालिकाअन्तर्गत हाल १८५६ ओटा सहकारी आएका; सहकारी भनेको सहकार्य, मिलिजुली, नाफामुखी होइन सेवामुखी, प्रजातान्त्रिक नियन्त्रण, हरेक सदस्यको समान भूमिका, विभेदरहित सहभागिता, ऋणीहरूको संस्था, सर्वसुलभ सेवा प्राप्त हुने संस्था हो । यसमा लाभांशप्राप्तिको मात्र अपेक्षा गर्न पाइँदैन बरु ऋण लिई कारोवार वृद्धिका माध्यमबाट लाभ प्राप्त गर्नुपर्दछ ।

सहकारी भनेको आर्थिक, सामाजिक, सांस्कृतिक आवश्यकता पूरा गर्न स्वेच्छाले एकताबद्ध हुने संस्था भएको र लोकतान्त्रिक नियन्त्रण एवम् स्वामित्व रहेको संस्था हो र यसमा प्रवेश र बहिर्गमन स्वेच्छिक हुन्छ । सहकारीका मूल्यअन्तर्गत स्वावलम्बन, लोकतन्त्र, समता, इमान, सामाजिक उत्तरदायित्व, अर्काको ख्याल, स्वउत्तरदायी, समानता, ऐक्यबद्धता र खुलापन पर्दछन् । सहकारी संस्थाले नाफामा सहभागी हुनमिल्दैन अर्थात् यसको क्षेत्रभन्दा अन्यत्र लगानी गर्नपाइँदैन, उपकारमा भर पर्नुहुँदैन, गैरसदस्यसँग व्यापार गर्नपाइँदैन, सकारात्मक कार्य गर्नुपर्दछ । त्यसैगरी सहकारीका सिद्धान्तअन्तर्गत ऐच्छिक र खुला सदस्यता, लोकतान्त्रिक नियन्त्रण, आर्थिक सहभागिता स्वायत्तता र स्वतन्त्रता; शिक्षा, तालिम र सूचना, सहकारीबिच सहयोग, समुदायप्रति सरोकार पर्दछन् र सहकारीले सदस्यलाई प्रदान गर्ने तालिमले सदस्यको क्षमता अभिवृद्धि गर्ने कार्य गर्दछ ।

सहकारीको विकासक्रमलाई हेर्दा सन १८४४ डिसेम्बर २१ म बेलायतमा कपडा कारखानामा काम गर्ने मजदुरहरूले जम्मा २८ पाउन्ड जम्मा पारी सहकारीको स्थापना गरेको इतिहास भेटिन्छ । यसको सिद्धान्त भनेकै कारोवारबाट बढी लाभ लिने, सोझो मुनाफा नहेर्ने हो । सन १८५२ मा बेलायतमै सहकारी कानुन बन्यो । वि.सं.२०१० मा नेपालमा पनि सहकारी विभाग खडा भयो र २०१३ सालमा चितवनमा ‘बखान सहकारी संस्था’को स्थापना भयो । यही क्रमले आइपुग्दा २०७४ सालसम्ममा ३४,००० भन्दा बढी दर्ता भएका पाइन्छन् । अब चाहिँ सङ्ख्यामा नियन्त्रण गरी गुणात्मकतामा ध्यान दिने सरकारी योजना रहेको देखिन्छ । अहिले संसारमा एक करोड बिस लाख जनता सहकारीका सदस्य रहेका छन् भनिएको छ । अहिले पनि अमेरिका सहकारी सहभागिताका हिसाबले एक नम्बरमा रहेको छ । जापान, बेलायत, केन्या जस्ता मुलुकहरूमा सहकारी प्रभावकारी रहेको छ । नेपालमा पनि अहिले ६३ लाख व्यक्तिहरू सहकारीमा संलग्न छन्, काठमाडौँ महानगरपालिकामा मात्रै दुई लाख जनता सहकारीमा क्रियाशील रहेका पाइन्छन्, हाम्रो देशमा सहकारीले एक सय अर्बको कारोवार गरेको तथ्याङ्क पाइन्छ । छिमेकी मुलुक चीनमा पनि करोडौँ जनता सहकारीमा संलग्न रहेका छन् । सरकारको सहकारीलाई एकीकरण गर्ने योजना रहेको भए पनि भएका सङ्ख्यालाई जबरजस्ती घटाउनसक्ने अवस्था भने रहेको छैन बरु व्यवस्थितताका माध्यमबाट विस्तार गर्नु आवश्यक रहेको छ ।

अब चाहिँ सहकारी स्थापना गर्न संस्थापकहरूले तालिम नलिएको र ८० प्रतिशत स्थानीय नभएको, एउटा वडाबाट एक सय जना नभएको अवस्थामा संस्था दर्ता गर्ने व्यवस्था नै रहेको छैन । त्यसैगरी विषयगत सहकारी खोल्न ३०, श्रमिक सहकारी खोल्न १५ जनाको सहभागिता आवश्यक रहेको छ । काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सहकारीको सुसञ्चालनका लागि ‘सहकारी ऐन २०७४’ जारी गरेको छ । अहिलेको कानुनले एकै प्रकृतिको एकभन्दा बढी सहकारीमा सदस्यता लिन नपाइँने, सहकारीमा सदस्य बन्न निवेदन दिने र ३५ दिनभित्र सदस्यता दिनुपर्ने, तीनओटा साधारणसभामा उपस्थित नहुने सदस्यको सदस्यता समाप्ति हुने, सदस्य सक्रिय हुनुपर्ने र नियमित बचत गर्नुपर्ने व्यवस्था रहेको छ । सहकारीले आफ्नो बचतको पन्द्र गुणासम्म कर्जा प्रवाह गर्नमिल्ने, सदस्य बनेको तीन महिना पूरा नभई कर्जा प्रवाह गर्ननमिल्ने र गरेमा पाँच लाखसम्म जरिवाना हुने, लेखापरीक्षकको नियुक्ति साधारणसभाले गर्ने र लेखापरीक्षक नियुक्तिको निर्णयको जानकारी सम्बन्धित निकायलाई तीन दिनभित्र दिनुपर्ने व्यवस्था रहेको छ ।

हाल काठमाडौ महानगरपालिकाअन्तर्गत १८५६ सहकारी भए पनि ४८० ओटा सहकारीले मात्र साधारणसभाको विवरण बुझाएका हुँदा विवरण नबुझाउनेको अनुगमन गर्ने कार्य गरिने छ । नयाँ सहकारी ऐनले सहकारी कोष स्थापना गर्ने भनेको छ । समाजवादउन्मुख अर्थतन्त्रको निर्माणमा सहकारीको भूमिकालाई राज्यले स्वीकार गरी समृद्ध मुलुक निर्माणमा सहकारीको योगदानको अपेक्षा गरेको छ । सहकारीलाई व्यवस्थित गर्न महानगरले सबै सहकारीका फाइललाई डिजिटलाइज गर्ने कार्य गरिरहेको छ । आफ्नो संस्थालाई नमुना बनाउन व्यवस्थित सञ्चालन आवश्यक छ । अनुत्पादक क्षेत्रमा खर्च कम गरी उत्पादनक्षेत्रमा सहकारीको पैसा खर्च होस् भन्ने कानुनको पनि आशय हो । सहकारी अभियानमा महिलाहरूको सहभागिता उल्लेखनीय छ तर कार्यसमितिमा भने कम देखिएको छ । संस्थाको एकीकरण गर्दा भने उस्तै प्रकृतिका, भूगोल मिल्ने, हैसियत र अवस्था मिल्नेका बिचमा एकीकरण गरी सञ्चालन गर्नु उपयुक्त पनि छ । संस्थाको सञ्चालक समितिले ऋणनीति बनाएर, सामूहिक हिसाबले र व्यवहारिक हिसाबले लघु कर्जाको रकमलाई थोरै बढाएर पनि कार्यान्वयन गर्नसकिने अवस्था रहन्छ । आफ्ना सदस्यलाई विद्यमान ऐन, नियम र सदस्यले संस्थाको सुसञ्चालनमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा स्पष्ट पार्न यस्ता विशेष खाले तालिमको आयोजना गर्नु अत्यन्त स्वागतयोग्य कुरा हो र त्यसका लागि सहकारीका विषयमा मैले जानेबुझेका कुरा प्रस्ट पार्ने अवसरका लागि संस्थालाई हार्दिक धन्यवाद दिन्छु भन्नेसमेतको विशद, ज्ञानमूलक, उपयोगी प्रशिक्षण दिनुभयो ।

संस्थाका अध्यक्ष झपटबहादुर बोहराले संस्थाको यो विशेष समारोहमा हाम्रो निमन्बणा स्वीकार गरी आइदिनुहुने आदरणीय प्रशिक्षकज्यू, संस्थाका सल्लाहकारज्यूहरू, सञ्चालक समितिका पदाधिकारीहरू, समिति–उपसमितिका पदाधिकारीहरू, सदस्यहरू सबै सबैलाई हार्दिक धन्यवादसहित समारोह समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *