नुवाकोट साहित्य प्रतिष्ठानद्वारा छजनालाई सम्मान र दुईलाई पुरस्कार प्रदान

नुवाकोट

नुवाकोट साहित्य प्रतिष्ठान नेपालले यसवर्षको महामण्डल सम्मान डा. नारायण खनाल, शशि लुलुम्बु र गोपीकृष्ण ढुंगानालाई प्रदान गरेको छ । प्रतिष्ठानले वर्षेनी प्रदान गर्ने ‘युगान्तर वर्ष पुरस्कार’ यसवर्ष कवि श्रवण मुकारुङलाई प्रदान गरेको छ । पुरस्कारको राशी एक हजार एक रुपैयाँ छ ।

महाकवि नरेन्द्रनाथ रिमालको स्मृति दिवस तथा असार पन्ध्रको अवसर पारेर नुवाकोटको विदूरमा सम्मान र पुरस्कार प्रदान गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव सनत रेग्मीले उक्त सम्मान प्रदान गरेका थिए । यसैगरी, सिर्जनामार्फत् नेपाली भाषा साहित्यमा गरेको योगदानको कदर गर्दै कवि उज्ज्वल जिसीलाई भक्तबहादुर स्मृति सम्मान प्रदान गरिएको छ । नरेन्द्र वाङ्मय निधि सम्मान ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइलो’ र हरिप्रसाद पाण्डेयलाई प्रदान गरिएको छ । त्रिभुवन विश्वविद्यालयमा मानविकी संकायतर्फ नेपाली विषयमा स्नातकोत्तर तहमा पहिलो हुने एकजना उत्कृष्ट विद्यार्थीलाई दिइने नरेन्द्र वाङ्मय निधि प्रतिभा पुरस्कार यसवर्ष गिरीराज न्यौपानेलाई प्रदान गरियो । पुरस्कारको राशी पच्चीस हजार रुपैयाँ छ ।

प्रतिष्ठानका सदस्यसचिव रेग्मीले पुरस्कार र सम्मानले स्रष्टालाई ऊर्जा थप्नुका साथै सिर्जनामा जोश र जाँगर बढाउने बताए । प्रतिष्ठानका अध्यक्ष श्रीराम श्रेष्ठले पृथ्वीनारायण शाहले नेपाल एकीकरणका समयमा नुवाकोट दरबारछेउको महामण्डल डाँडोबाट आक्रमण गरेर अन्यत्र हमला गरेकाले सोही नामबाट सम्मान गर्न थालिएको बताए । नरेन्द्र वाङ्मय प्रतिष्ठानका अध्यक्ष डा. रामरत्न उपाध्यायले महाकवि रिमालले सर्वप्रथम श्रीमद्भागवद्गीताको नेपालीमा अनुवाद गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *